हुथी विद्रोही-साउदी द्वन्द्व : २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु

हिमाल प्रेस २ असोज २०८३ २०:१६ | Friday, September 18, 2026
हुथी विद्रोही-साउदी द्वन्द्व : २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु फाइल तस्बिर : एपी

काठमाडौँ- यमनमा सरकारी सुरक्षा बल र हुथी विद्रोहीबीच द्वन्द्व पुनः चर्किएपछि पछिल्लो २४ घण्टामा कम्तीमा ६३ जनाको मृत्यु भएको छ।

दुवै पक्षबीच भएका भीषण भिडन्तका कारण स्थिति तनावग्रस्त बनेको बीबीसीले जनाएको छ।

यसैबीच साउदी अरबले पनि बिहीबार द्वन्द्व तीव्र भएयता पहिलोपटक ड्रोन आक्रमणका कारण मानवीय क्षति भएको पुष्टि गरेको छ। साउदीको ताइफ प्रान्तमा हावामै विफल पारिएको एउटा ड्रोनको खसेको टुक्रा लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।

वर्षौँको शान्ति र युद्धविरामको प्रयासपछि यमनमा दुवै पक्षबीच गएको जुलाईदेखि भिडन्त पुनः सुरू भएको थियो। पछिल्लो साता हुथी सशस्त्र समूहले अचानक गरेको ठूलो आक्रमणपछि स्थिति झनै नियन्त्रणबाहिर गएको हो।

यी आक्रमणहरूसँग हुथी विद्रोहीहरू हिन्द महासागर र रातो सागरलाई जोड्ने रणनीतिक रुपमा अत्यन्तै महत्वपूर्ण मानिने ‘बाब अल–मान्देब स्ट्रेट’ सम्म आफ्नो नियन्त्रण विस्तार गर्न सफल भएका छन्।

यमनको भूभागमा जारी स्थलगत लडाइँका साथै हुथी लडाकुहरूले साउदी अरेबियातर्फ मिसाइल र ड्रोन प्रहार गरिरहेका छन्। विद्रोहीहरूले विशेष गरी साउदीका तेल खानी, सैन्य संरचना तथा साउदी तेल ओसारपसार गर्ने मालबाहक जहाजहरूलाई निशाना बनाउँदै आएका छन्।

साउदी समर्थित यमनी सरकारका एक सैन्य अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा ताइज र लाहज प्रान्तहरूमा हुथी मिसाइल, ड्रोन आक्रमण तथा भिडन्तमा २३ जना सरकारी सैनिकको मृत्यु भएको छ।

अर्कोतर्फ हुथी विद्रोही स्रोतहरूले ताइज प्रान्तमा साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा ४० जना सरकारी सैनिक मारिएको र प्रान्तका विभिन्न स्थानमा भीषण भिडन्त जारी रहेको दाबी गरेका छन्।

प्रकाशित: २ असोज २०८३ २०:१६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast