पोखरा- सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका सांसद रवि लामिछानेसहितलाई म्याद थपका लागि जिल्ला अदालत कास्की अदालत लगिएको छ। विभिन्न सहकारीको रकम लामिछानेसहितले गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको आरोप छ। सोही आरोपमा लामिछानेलाई गत कात्तिक २ गते काठमाडौँमा पक्राउ गरी पोखरा पुर्याइएको थियो।
आज लामिछानेलगायतलाई म्याद थपका लागि अदालत लगिएको हो। लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका सञ्चालक तथा नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई अदालतमा उपस्थित गराएको छ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको र तीमध्ये ३७ जना फरार प्रतिवादी छन्। उनीहरुविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ।
उनीहरूमाथि अझै केही दिन म्याद लिएर अनुसन्धान गर्ने तयारी प्रहरीको छ। अबको चारदिनभित्र उनीहरूविरुद्ध संगठित अपराधसहितको मुद्दा दर्ता गरिसक्नुपर्ने अवस्था पनि छ। जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीको प्रतिवेदनको अध्ययन, विश्लेषण गरेर अभियोजन पत्र तयार हुने बताएको छ।
प्रतिनिधिसभा सदस्य सूर्य थापा नेतृत्वको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनले पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्था, साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा रविको पनि संलग्नता देखिएको भन्दै कारबाही सिफारिस गरेको थियो। त्यसपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइएको थियो ।
त्यहीक्रममा छविलाल जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई कास्कीसहित काठमाडौँ, चितवन, रुपन्देही, पर्सा पुर्याएर बयान लिइएको थियो। लामिछानेसहितलाई म्याद थपका लागि अदालत लगेसँगै अदालत परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।