गोरखा– जिल्लाको शहिद लखन गाउँपालिका- ७ का योजना समयमै सम्पन्न गर्ने उपभोक्ता समितिलाई सम्मान गरिएको छ। वडाको वनकाली गरन्जागाउँ हुँदै सुसारे गाउँ सडक स्तरोन्नती योजना उपभोक्ता समिति र मास्कीछाप भूपू सैनिक ट्रस भवन निर्माण योजना उपभोक्ता समिति समयमै योजना सम्पन्न गरेर सम्मानीत भएका हुन्।
बिहीबार वडा-७ मा सञ्चालित चालु आर्तिक वर्षका योजनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रममा दुई उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गरिएको वडा अध्यक्ष शरण श्रेष्ठले जानकारी दिए।
‘संघ र प्रदेश सरकारले आर्थिक बर्षको अन्ततिर हतार हतार योजना सम्झौता गर्ने अनि काम सुरु गर्ने प्रवृति छ,’ उनले भने, ‘यस्तो प्रवृतिलाई निरुत्साहित गर्दै समयमै काम गर्न प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेका हौँ।’
सम्मानीत भएका उपभोक्ता समितिहरूले योजना सम्पन्न गरेर भुक्तानी समेत लिइसकेका छन्। उनीहरूलाई कदर पत्रले सम्मान गरिएको हो। वडाध्यक्ष श्रेष्ठका अनुसार वडामा चालु आव कुल १९ वटा योजना छन्। जसमध्ये १४ वटा योजना उपभोक्ता समिति मार्फत गर्नुपर्ने बताइएको छ।
‘हालसम्म दुई योजना सम्पन्न भएर भुक्तानी समेत भइसक्यो, चार योजना सम्पन्नको अन्तिम तयारीमा छन्, बाँकी सबै सम्झौता भएर काम अघि बढिसक्यो,’ श्रेष्ठले भने। गत वर्षबाट उपभोक्ता समितिलाई सम्मान कार्यक्रम सुरु गरिएको उनले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा पनि दुई वटा उपभोक्ता समिति सम्मानीत भएका थिए।