गोरखा- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने मध्यपहाडी लोकमार्गको गोरखा खण्डको काम वर्षौंदेखि अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
सामाजिक सञ्जालमार्फत आक्रोश र निराशा व्यक्त गर्दै डा.भट्टराईले ‘बत्तीमुनि अँध्यारो’ भएको टिप्पणी गरेका छन्। आफ्नै गृह वडासमेत पर्ने गोरखाको पालुङटार नगरपालिका अन्तर्गतको सातदोबाटो-ठाँटीपोखरी खण्ड लामो समयदेखि कछुवाको गतिमा अलपत्र परेर घिस्रिरहेको देख्दा आफूलाई दिग्दार लागेको उनको भनाइ छ।
आफू प्रधानमन्त्री रहँदा घोषणा गरिएको यस गौरवको आयोजनाका लागि सत्तामा रहँदा वा नरहँदा पनि निरन्तर दबाब दिँदै आएको उनले बताए।
डा.भट्टराईले भने,‘पूर्वको चिवाभन्ज्याङ (पाँचथर) देखि पश्चिमको झुलाघाट (बैतडी) सम्म पुग्ने यो आफैँले घोषणा गरेको राष्ट्रिय गौरवको सडकबारे आफू सत्तामा रहँदा वा नरहँदा अनगिन्ती पटक सत्ताको शिरदेखि पुछारसम्मको ढोका ढक्ढक्याएको ढक्ढक्याएकै छु, तर टसमस हुँदैहुँदैन।’
उक्त सडक खण्ड निर्माणको जिम्मा पाएका मुख्य ठेकेदारको राजनीतिक र प्रशासनिक पहुँचका कारण काम अघि बढ्न नसकेको तर्फ पनि उनले गरे। बजारमा चल्ने गरेका हल्लालाई उद्धृत गर्दै उनले भने,‘गाइँगुइँ सुन्छु, यसका मुखिया ठेकेदार सा’ब यति पहुँचवाला छन् रे कि कसैले तिनको रौँ हल्लाउन सक्दैन रे।’
डा.भट्टराईले देशमा विकास र सुशासनको नारासहित आएको वर्तमान सरकारको ध्यानाकर्षण समेत गराए। युवा र नयाँ पुस्ताको विद्रोहको जगमा बनेको सरकारले यस्ता बेथिति रोक्नुपर्ने माग गर्दै उनले भने,‘जेनजी विद्रोहको जगमा अपूर्व मतादेश सहित बनेको सरकारको ध्यान पुगोस्।’
राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण कम्पनीको ढिलासुस्ती र राज्यको फितलो अनुगमनका कारण स्थानीय बासिन्दाले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ
बत्तीमुनि अँध्यारो भने झैं मध्यपहाडी लोकमार्गको यो गोरखा पालुङगटार नगरपालिकाअन्तर्गत सातदोबाटो—ठाँटीपोखरी खण्ड वर्षौंदेखि कछुवागतिमा अलपत्र परेर घिस्रिरहेको देख्दा दिग्दार लाग्यो।
आफ्नै गृह वडा भएर पूर्वको चिवाभन्ज्यांग (पाँचथर) देखि पश्चिमको झुलाघाट (बैतडी) सम्म पुग्ने यो आफैँले घोषणा गरेको राष्ट्रिय गौरवको सडकवारे आफू सत्तामा रहँदा वा नरहँदा अनगिन्तिपटक सत्ताको शीरदेखि पुछारसम्मको ढोका ढक्ढक्याएको ढक्ढक्याएकै छु तर टसमस हुँदैहुँदैन।
गाइँगुइँ सुन्छु यसका मुखिया ठेक्दार सा’ब यति पहुँचवाला छन् रे कसैले तिनको रौं हल्लाउन सक्दैन रे।
जेनजी विद्रोहको जगमा अपूर्व मतादेश सहित बनेको सरकारको ध्यान पुगोस्।




