नेपाली कांग्रेसका सभापति गगनकुमार थापा। फाइल तस्बिर
गोरखा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को होइन देशको संविधानले चल्नुपर्ने बताएका छन्।
मंगलबार गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटका क्रममा बोल्दै उनले रास्वपाले पाँच वर्षका लागि सरकार सञ्चालनको जिम्मेवारी पाएको भन्दै अब त्यसको सञ्चालन संविधानअनुसार हुनुपर्ने बताए।
राष्ट्रिय राजनीतिमा कांग्रेस प्रतिपक्षमा रहेको बताउँदै उनले रास्वपाभित्र के हुन्छ, के हुँदैन भन्ने विषय कांग्रेसको सरोकार नभएको बताए।
उनले भने,‘पाँच वर्ष उहाँहरूले सरकार चलाउने जनादेश पाउनुभएको छ, सरकार चलाउनुहुन्छ। तर सरकार पार्टीको विधानले होइन, देशको संविधानले चल्छ।’
थापाले सरकारको कामकारबाही संविधानअनुसार भएनभएको अनुगमन गर्ने जिम्मेवारी प्रतिपक्षका रूपमा कांग्रेसको रहेको बताए। राम्रो काममा सहयोग गर्ने र गलत निर्णय भए प्रश्न उठाउने जिम्मेवारी आफूहरूको भएको उनको भनाइ थियो।
उनले २०४६ सालपछि सरकारमा रहेका तथा प्रतिपक्षमा बसेकाहरूले आआफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकेको आरोप पनि लगाए। सत्तामोहका कारण देशको राजनीतिक प्रणाली प्रभावित भएको उनको टिप्पणी थियो।
सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने विषय कांग्रेसले पहिलेदेखि उठाउँदै आएको र त्यसमा सहयोग गर्न तयार रहेको उनले बताए।




