दाङकाे बालकल्यान प्राविका प्रधानाध्यापक भन्छन् : आर्थिक अभावले विद्यालयकाे बोर्ड फेर्न पनि सकिएन

हिमाल प्रेस २१ भदौ २०८१ ७:०१
144
SHARES
दाङकाे बालकल्यान प्राविका प्रधानाध्यापक भन्छन् : आर्थिक अभावले विद्यालयकाे बोर्ड फेर्न पनि सकिएन

दाङ- तुलसीपुर उपमहानगरपालिका–७ स्थित बालकल्यान प्राविमा अधिकांश सहाराविहीन विद्यार्थीले अध्ययन गर्दै आएका छन्। बजारभित्रकै उक्त विद्यालयमा न्यून आय भएका तथा सहाराविहीन विद्यार्थी अध्ययन गर्ने गरेका हुन्।

‘यहाँ कोही आमा नभएका, कोही बुबा नभएका, कोही रोजगारीका लागि भारतलगायत देशमा गएका बालबालिका पढ्छन्’, विद्यालयका प्रधानाध्यापक हुमबहादुर केसीले भने,‘न्यून आय भएका विद्यार्थीले पढ्ने विद्यालय बनेको छ।’

शिशुदेखि ५ कक्षासम्म सञ्चालित उक्त विद्यालयमा ८८ जना विद्यार्थी भर्ना भए पनि ६५ जनामात्र नियमित विद्यालय आउने गरेका छन्। २०४५ सालमा विद्यालय स्थापना भएको हो, त्यसयता नियमित सञ्चालनमा छ।

विद्यालयको आम्दानीको स्रोत पनि त्यस्तै न्यून छ। विभिन्न दाताहरूको सहयोगमा विद्यालय सञ्चालन हुँदै आएको छ। त्यो विद्यालयले बोर्डसमेत फेर्न सक्ने अवस्था छैन। सो ठाउँ संघीयतापछि तुलसीपुर–७ नं वडा भए पनि त्यहाँको बोर्डमा अझै ‘तुलसीपुर नगरपालिका–४’ नै लेखिएको छ। जुन बोर्ड संघीयता आउनुभन्दा अघिकै बोर्ड हो।

आर्थिक अभावकै कारण बोर्ड पनि फेर्न नसकिएको प्रधानाध्यापक केसीले बताए। अहिले सोही विद्यालयमा सातजना शिक्षक–शिक्षिका कार्यरत छन्। सो विद्यालयलाई स्थानीय सरकारले पनि गम्भीर रूपमा हेर्नुपर्ने प्रअ केसीले बताए।

प्रकाशित: २१ भदौ २०८१ ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =