मनै लोभ्याउने गाईखुरे झरना

हिमाल प्रेस २३ साउन २०८१ १७:०२
10
SHARES
मनै लोभ्याउने गाईखुरे झरना

लमजुङ- झर्झराउँदो झरना। पहाडबाट झर्दै गरेको पानी। हरियालीका साथै फेदमा सुन्दर पोखरी। अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ। यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन। झरनाको फेद पुग्न मन लाग्छ। झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ। झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ।

झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन्। डुम्रे-बेँसीसहर सडक छेउमै तथा मर्स्याङ्दी नदी नजिकै यो झरना छ। बेँसीसहर नगरपालिका-१ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु। यस झरनामा दैनिक यतिबेला दुई सय भन्दा बढी पर्यटक आउने गरेका छन्।

त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा यहाँ दोब्बर पर्यटक झरनामा आउने गर्दछन। स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन्।

मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरना मनोरञ्जनको माध्यम यस झरना बनिरहेको छ। साथीहरूबीच एकापसमा पानी छ्यापा-छ्याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्दै मज्जा लिने समेत पर्यटकले गर्दछन्। बर्सेनी झै यस वर्षपनि झरनामा आएका भएका बेँसीसहर नगरपालिका- ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताए। उनले भने, ‘यहाँ आउँदा बेग्लै आनन्द मिल्छ।’

यस्तै, अर्का पर्यटक अरुण बरालले साथीहरूसँग झरनामा आएको र झरनासँग फोटो खिच्ने, पौडी खेल्ने, साथीभाइसँग रमाइलो गरेर झरनाको मज्जा लिएको बताए। झरना व्यवस्थित भने हुनसकेको छैन। स्थानीयका अनुसार विगतमा यहाँ विदेशी पर्यटकसमेत आउने गरेका थिए। सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभई साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ।

यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भीडभाड लागिरहेको बताए। पर्यटकहरूको भीड लागे पनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उनको भनाइ छ।

उनले झरनालाई थप व्यवस्थित गर्दै पूर्वाधारको संरचना थप्दै पर्यटक आकर्षित गर्नका लागि पालिकाले योजना बनाएको छ। झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ।

प्रकाशित: २३ साउन २०८१ १७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − three =