धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका व्यवसायीबीच बिटुबि समझदारी

विनोद परियार २४ असार २०८३ १६:५२ | Wednesday, July 8, 2026
6
SHARES
धार्मिक पर्यटन प्रवर्द्धन गर्न नेपाल भारतका व्यवसायीबीच बिटुबि समझदारी

बुटवल- नेपाल भारतबीच धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुई देशका व्यवसायीबीच बिटुबि समझदारी भएको छ। लुम्बिनी होटल एसोसिएसन नेपाल र वाराणसी टुरिजम गिल्डबीच पाँच बुँदे सम्झदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।

लुम्बिनीमा भएको सम्झौतामा लुम्बिनी होटल एसोसिएसन नेपालका अध्यक्ष लिलामणि शर्मा र वाराणसी टुरिजम गिल्डका अध्यक्ष सुभाष कपूरले हस्ताक्षर गर्दै पर्यटन प्रवद्र्धनको औपचारीक सहकार्य सुरु गरेका हुन्।

लुम्बिनी आउने भारतीय तीर्थयात्री तथा पर्यटकलाई कम्तीमा एक रात लुम्बिनीमै बस्न प्रोत्साहन गर्ने समझदारीमा उल्लेख गरिएको छ। पर्यटकको बसाई अवधि निकै कम भएको भन्दै आलोचना भइरहेको बेला यो सम्झौताले आशा पलाएको छ।

यसैगरी नेपाल-भारत सीमास्थित करिडाँ-ककरहवा नाकालाई लुम्बिनी प्रवेशको महत्त्वपूर्ण पर्यटकीय द्वारका रूपमा विकास गर्न दुवै पक्षले आआफ्ना संघीय, प्रादेशिक तथा स्थानीय सरकारसँग समन्वय र पहल गर्ने सहमति गरेका छन्।

करिब चार दशक अघि सञ्चालनमा रहेको लुम्बिनी-वाराणसी सिधा बस सेवा पुनः सञ्चालनका लागि संयुक्त पहल गर्ने उल्लेख छ। लुम्बिनीलाई भारतका प्रमुख बौद्ध तीर्थस्थलसँग जोड्ने यातायात सेवा विस्तारको सम्भावनासमेत अध्ययन गरिने भएको छ।

दुवै संस्थाले नेपालका बौद्ध तीर्थस्थल र भारतका हिन्दू तथा बौद्ध तीर्थस्थललाई समेटेर संयुक्त पर्यटन प्याकेज विकास तथा प्रवर्द्धन गर्ने सहमति गरेका छन्। सम्झौतामा सञ्चारमाध्यम, सामाजिक सञ्जालका प्रभावकारी व्यक्तित्व तथा पर्यटनसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिबीच नियमित भ्रमण आदानप्रदान गर्ने र भ्रमणका क्रममा आयोजक पक्षले आवश्यक आतिथ्य उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ।

दुवै संस्थाले यो सम्झौताले नेपाल भारतबीच धार्मिक, सांस्कृतिक तथा पर्यटन सहकार्यलाई थप मजबुत बनाउँदै लुम्बिनी र वाराणसीलाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटन सर्किटका रूपमा विकास गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

बुद्ध जन्मस्थल लुम्बिनीको अध्यात्मिकतालाई भारतको सांस्कृतिक राजधानी मानिने बनारससम्म जोडेर पर्यटन  प्रवर्द्धन गर्ने उद्देश्यले ट्राभल मार्ट आयोजना गरिएको थियो।

लुम्बिनी होटल संघले आफ्नै पहलमा थालेको यो कार्यक्रममा भारतको बनारसका साथै दिल्ली, लखनउ र बौद्धगयाका ४० जना सानाठूला ट्राभल एण्ड टूर अपरेटर कम्पनीका प्रतिनिधि र होटेलियर सहभागी भएको अध्यक्ष लिलामणि शर्मा पौडेलले बताए।

उनले मार्टपछि निकै महत्त्वपूर्ण बिटुबि पाँच बुँदे समझदारी भएको बताए। उनले व्यवसायीको तहबाट निकै महत्त्वपूर्ण पाँच बुँदे समझदारी गरी लुम्बिनी र बनारसबीचको धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने अभियान थालिएको बताए।

सोमबार मध्याह्नबाट सुरु भएको ट्राभल मार्ट बुधबार सकिएको आयोजकले जनाएका छन्। लुम्बिनीमा चारतारेदेखि बजेट फ्रेन्डली ८३ वटा होटल र रेस्टुरेन्ट छन्। व्यवसायीबीच भएको समझदारीले केही आशा जगाएपनि दीर्घकालिन रूपमा पर्यटन प्रवर्द्धन गर्ने गरी काम हुनुपर्ने स्थानीयको मत छ।

यसअघि लुम्बिनी साँस्कृतिक नगरपालिका तथा चीनको गोन्जओ सहरबीच पूर्व नगरपालिका प्रमुखबीच भएको थियो।

हालसम्म लुम्बिनी साँस्कृतिक नगरपालिका तथा चीनका धेरै सहरको साथै युरोपका केही सहरबीच दर्जनौं सम्झौता गरि विदेश भ्रमण बाहेक कुनै प्रकारको लाभ उठाउन नगरपालिकाले नसकेको स्थानीय समेत रहेका प्रलाहद यादवले बताए।

उनका अनुसार भारत र नेपालका संघ संस्थासग भएको पनि दुबै राष्ट्र (नेपाल तथा भारत) बीच सम्झौता हुँदा निकै राम्रो हुनेछ।

प्रकाशित: २४ असार २०८३ १६:५२ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast