काठमाडौँ– काठमाडौँ– सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ। कारमा सवार चार जनामध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ।
नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कायार्लय सिन्धुलीका प्रवक्ता डिएसपी केशव कटुवालले जानकारी दिए। ‘हलेसीबाट आउँदै गरेको कार दुर्घटना भएको छ, एक जनाको उद्धार गरेका छौँ,’ उनले भने,‘अन्य तीन जनाको खोजी कार्य भइरहेको छ।’
डिसपी कटुवालले इलाका प्रहरी कार्यालय खुर्कोटबाट खटएिको प्रहरी टोली उद्धारमा खटिइसकेको र जिल्ला प्रहरी कार्यालयबाट थप टोली पठाइएको उनले बताए। उनका अनुसार कारको नम्बर र कारमा सवार यात्रुहरूको परिचय खुलेको छैन।
खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको कार शनिबार करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो।



