इस्तियाक भन्छन् : उपेन्द्रको ‘निरंकुशता’ अगाडि संघर्ष र सामर्थ्य को गुन्जाइस छैन

हिमाल प्रेस १२ भदौ २०८१ १८:०२ | Wednesday, August 28, 2024
इस्तियाक भन्छन् : उपेन्द्रको ‘निरंकुशता’ अगाडि संघर्ष र सामर्थ्य को गुन्जाइस छैन जसपा नेपालका अध्यक्षा उपेन्द्र यादव र जसपाका महासचिव इस्तियाक राइ

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का महासचिव इस्तियाक राईले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको ‘निरंकुशता’ का अगाडि कसैको संघर्ष र सामथ्र्यको सुनुवाइ हुने गुन्जाइस नरहेको दाबी गरेका छन्।

जसपा नेपालका अध्यक्ष यादवले हालै गरेको पदाधिकारी मनोनयनप्रति नेता कार्यकर्ताहरूले पोखिरहेको असन्तुष्टितर्फ इंगित गर्दै राईले यस्तो बताएका हुन्।

आफूहरूलाई सिध्याउनै भनेर जालझेल रचिएको उल्लेख गर्दै उनले जसपा नेपालका नेता कार्यकर्ताले अहिले असन्तुष्टि व्यक्त गरिरहेको बताएका छन्। राईले सामाजिक सञ्जालमा लेखेका छन्,‘हामी फेरि पनि भन्छौं, उपेन्द्र यादवको निरंकुशताका अगाडि कसैको संघर्ष र सामथ्र्यको सुनुवाइ हुने गुन्जाइस छैन। यो कुरा बुझ्न हामीले धेरै महत्वपूर्ण समय गुमाएको थोरबहुत अफसोस र दुःख पक्कै छ, कामना गर्छौँ–त्यहाँ अन्यायमा परेका साथीहरूले थप दुःखमनाउ गर्नु नपरोस्।’

महासचिव यादवले विभाजन र नेताहरू लगातार बहिर्गमन भइरहनु उपेन्द्र यादव नेतृत्वको पार्टीमा नियमित र आकस्मिकताजस्तै भइसकेको टिप्पणी गरेका छन्।

विजयकुमार गच्छेदार, जेपी गुप्ता, महन्थ ठाकुर, बाबुराम भट्टराईलगायतका नेताहरूको उदाहरण प्रस्तुत गर्दै राईले विभाजनमा धकेल्ने उपेन्द्र यादवको निरंकुश शैलीबाट भविष्यमा पनि विभाजन र बहिर्गमनका अरू अध्याय थपिने निश्चित रहेको दाबी गरेका छन्।

अधिकार प्राप्तिको आन्दोलनमा प्राण उत्सर्ग गर्ने सहीद र तिनका परिवारहरूको सम्मान नगरी उल्टो उनीहरूलाई भजाएर निरन्तर आफ्नो स्वार्थसिद्धिमा लागेका उपेन्द्र र उनको पार्टीको पतन अवश्यम्भावी रहेको उनको ठोकुवा छ।

महासचिव राईले पदाधिकारी चयनपछि असन्तुष्ट बनेका जसपा नेपालका नेताहरूलाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन्।
‘मधेशको मुद्दालाई विगतदेखि नै भजाएर आफ्नो स्वार्थपूर्ति गर्ने उपेन्द्र यादवको निरंकुश र स्वेच्छाचारी प्रवृत्तिलाई अझै पनि कहिलेसम्म सहेर बस्ने साथीहरू?..,’ उनले भनेका छन्,‘पार्टीमा विधि र पद्धतिलाई सर्वोपरी ठानेर राजनीतिक हातेमाले गरौं, त्यसका लागि हाम्रो पार्टी सदैव तयार छ।’

जसपा नेपालमा काम गर्नेको कदर नभएर चाप्लुस र षडयन्त्रकारीको आदर हुने गरेको भन्दै उनले जसपा नेपालभित्र यो सुरूवातदेखि नै देखिँदै आएको रोग रहेको बताएका छन्।

संगठन मजबुत पार्ने योगदानकर्ताहरूको अपमान गर्ने जसपा नेपालको नियति बनिसकेको उल्लेख गर्दै उनले उपेन्द्र यादव नेता रहँदासम्म त्यहाँ संघर्ष, पद्धति र विधि–प्रक्रियाले कुनै स्थान पाउने सम्भावना नरहेको दाबी गरेका छन्।

राईले जसपा नेपालमा छँदा आफूहरूलाई उकुसमुकुसमा पारिएको र सिध्याउने जालझेल रचिएको उल्लेख गरेका छन्।

प्रकाशित: १२ भदौ २०८१ १८:०२ | Wednesday, August 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast