यसअघि प्रचण्डका पक्षमा २६८, १७२, १५७, १५७ मत, अब कति?

हिमाल प्रेस २८ असार २०८१ १०:३२
28
SHARES
यसअघि प्रचण्डका पक्षमा २६८, १७२, १५७, १५७ मत, अब कति? प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' जेठ ७ मा विश्वासको मत लिने क्रममा। त्यस दिन कांग्रेसले अवरोध गरे पनि उनले विश्वासको मत पाएका थिए। फाइल तस्बिर

काठमाडौँ- पुष्पकमल दाहाल ‘प्रचण्ड पछिल्लोपटक’प्रधानमन्त्री नियुक्त भएको डेढ वर्ष बितेको छ। उनी २०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन्। प्रधानमन्त्री नियुक्त यस अवधिमा प्रचण्डले प्रतिनिधिसभाबाट चौथोपटक विश्वासको मत लिइसकेका छन्। शुक्रबार उनी पाँचौँपटक विश्वासको मत लिँदैछन्। नयाँ संविधान जारी भएपछि सबैभन्दा धेरैपटक विश्वासको मत लिनेमा प्रचण्ड पहिलो प्रधानमन्त्री हुन्।

प्रचण्डले यसअघि जेठ ७ गते विश्वासको मत लिएका थिए। दुई महिना पनि नपुग्दै उनले फेरि विश्वासको मत लिन लागेका हुन्। सत्ताको प्रमुख घटक रहेको एमालेले माओवादीसँगको गठबन्धन तोडेर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। चार पटक विश्वासको मत लिएका प्रधानमन्त्रीलाई यसपटक भने विश्वासको मत लिन कठिन देखिएको छ। उनले यसअघि कहिले कांग्रेस-एमाले दुवै दलबाट त कहिले कांग्रेस या एमालेबाट विश्वासको मत पाएका थिए। यसपल्ट दुवै दलले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।

राप्रपा, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र जनमत पार्टीले  पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गरेका छन्।

संविधानको धारा १०० उपधारा २ मा प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ। एमालेलगायतका दलले समर्थन फिर्ता लिएकाले सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

विश्वासको मत नपाए के हुन्छ?

संविधानअनुसार प्रधानमन्त्रीले आफूमाथि पेस गरेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुनुपर्छ। पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुनेछन्। संविधानको धारा १०० उपधारा ३ मा विश्वासको मतका लागि पेस गरेको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने व्यवस्था छ।

यसअघि कहिलेकहिले लिए विश्वासको मत?

२०७९ पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासका मत लिएका थिए। त्यतिबेला सदनमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले उनलाई समर्थन गरेका थिए।
प्रचण्डको पक्षमा एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरूले उनलाई विश्वासको मत दिएका थिए। प्रतिपक्षी कांग्रेसले पनि दाहाललाई विश्वासको मत दिएको थियो। उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै विपक्षमा मत हालेका थिए।

२०७९ फागुन १५ गते एमाले सरकारबाट बाहिरिएर गठबन्धन फेरिएपछि चैत ६ गते प्रधानमन्त्री प्रचण्डले दोस्रोपल्ट विश्वासको मत लिएका थिए। त्यतिबेला सदनमा २६२ सांसद उपस्थित थिए। विश्वासको मतको प्रस्तावका पक्षमा १७२ र विपक्षमा ८९ मत परेको थियो। दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायतले साथ दिएका थिए। दाहालका विपक्षमा ८९ सांसदले हालेका भने नेमकिपाले मत दिन्नँ भनेको थियो।

प्रधानमन्त्री प्रचण्डले तेस्रो पटक गत फागुन ३० गते फेरि गठबन्धन बदले। त्यसपछि उनले फेरि विश्वासको मत लिएका थिए। २६८ सांसदले मतदान गरेकोमा प्रस्तावका पक्षमा १५७ मत परेको थियो भने विपक्षमा ११० मत परेको थियो। मत दिन्नँ भन्ने एकजना थिए। कांग्रेस, जनमत, लोसपा, राष्ट्रिय जनमोर्चा प्रधानमन्त्री दाहालका विपक्षमा उभिएका थिए।

जेठ ७ गते प्रचण्डले चौथोपटक विश्वासको मत लिएका थिए। त्यतिबेला प्रधानमन्त्री प्रचण्डका पक्षमा १५७ मत परेको थियो। मतदानमा १५८ जना सांसद सहभागी थिए। एक मत भने तटस्थमा परेको थियो। प्रधानमन्त्रीका पक्षमा माओवादी, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमतपार्टीलगायतका दलले मत हालेका थिए भने प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपालगायतका दलले विपक्षमा मतदान गरेका थिए।

प्रतिनिधिसभामा कसको सिट संख्या कति?

नेपाली कांग्रेस : ८८
नेकपा एमाले : ७९
नेकपा माओवादी केन्द्र : ३२
राष्‍ट्रिय स्वतन्त्र पार्टी : २१
राष्‍ट्रिय प्रजातन्त्र पार्टी : १४
नेकपा (एकीकृत समाजवादी) : १०
जनता समाजवादी पार्टी : ७
जनमत पार्टी : ६
जनता समाजवादी पार्टी, नेपाल : ५
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल : ४
नागरिक उन्मुक्ति पार्टी : ४
नेपाल मजदुर किसान पार्टी : १
राष्‍ट्रिय जनमोर्चा : १
आम जनता पार्टी : १
स्वतन्त्र : २

प्रकाशित: २८ असार २०८१ १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + seven =