 
                             
                                            पोखरा- प्रदेश खेलकुद परिषद् गण्डकी आयोजनामा ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत टेनिस प्रशिक्षण भएको छ। ‘सबैका लागि, सधैँका लागि टेनिस’ भन्ने मुख्य ध्येयका साथ गण्डकी प्रदेश टेनिस संघको व्यवस्थापन तथा कास्की टेनिसको प्राविधिक सहयोगमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो।
६५ दिनसम्म सञ्चालित प्रशिक्षणमा ३० जना बालबालिकाले भाग लिएका थिए। प्रशिक्षार्थीलाई सहभागिताको प्रमाणपत्र वितरण गर्दै प्रदेश खेलकुदका कार्यकारी सदस्य ऋषिराम गौतमले सबै उमेर समूहमा खेलकुद अघि बढाउन ‘खेल्छ गण्डकी’ कार्यक्रम प्रभावकारी रहेको दाबी गरे।
लामो अध्ययन र निष्कर्षका साथ अघि बढाइएको यो कार्यक्रमले गण्डकी प्रदेशको खेलकुदको जग बलियो बनाउन र युवा खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने जनाउँदै उनले टेनिसको प्रशिक्षणले गण्डकीको टेनिसको जग बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
गण्डकी प्रदेश टेनिस संघ अध्यक्ष विनोद कायस्थले परिषदले टेनिस विकासका लागि गरेको सहयोगका लागि अभार व्यक्त गर्दै प्रशिक्षणमा सहभागीमध्येबाट नै भावी राष्ट्रिय खेलाडी उत्पादन हुने बताए।
समापनमा प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य केशव पाठक, कास्की टेनिसका सचिव नवीन श्रेष्ठ, प्रदेश टेनिस संघका उपाध्यक्षद्वय लोकबहादुर गुरुङ, विष्णु केसीलगायतको सहभागिता थियो।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 