काठमाडौँ- मनास्लु क्षेत्रस्थित हिमलुङ हिमालको हिमपहिरोमा बेपत्ता आरोहीको खोज तथा उद्धारका क्रममा थप दुई जनाको शव फेला परेको छ।
नेपाल राष्ट्रिय पर्वतीय गाइड संघ (एनएनएमजीए) को खोज तथा उद्धार टोलीले साेमबार थप दुई मृत आरोहीको शव फेला पारेको हो। फेला परेका शवमा वीरेन्द्र गुरुङ र घनश्याम राई रहेका छन्।
यसअघि खोजीका क्रममा छेबी भोटे र पासाङ भोटेको शव फेला पारिएको संघले जनाएको छ।
हिमलुङ हिमपहिरो क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। मौसम तथा परिस्थितिले साथ दिए टोलीले थप तीनदेखि चार घण्टासम्म खोजी जारी राख्ने संघले जनाएको छ।
संघले उक्त दुःखद् घटनामा ज्यान गुमाएका सबै आरोहीका परिवार तथा आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
खोज तथा उद्धार अभियान पूरा नभएसम्म निरन्तर काम गर्ने प्रतिबद्धता संघले जनाएको छ।



