काठमाडौँ- नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रधानसेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता-२०८३ को चौथो संस्करण आज सम्पन्न भएको छ।
जङ्गी अड्डामा आयोजित समापन समारोहमा प्रधानसेनापति अशोकराज सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो। समारोहका अवसरमा प्रधानसेनापतिले प्रतियोगिताको उपाधि जित्न सफल त्रिभुवन आर्मी क्लबलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरे।
यसैगरी पुरुष एकलतर्फका विजेता प्रदीप खड्का र महिला एकलतर्फकी विजेता सिभाली गुरुङलाई पनि ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने अन्य खेलाडीहरूलाई समेत पुरस्कार वितरण गरिएको नेपाली सेनाले जनाएको छ।
गत जेठ ४ गतेदेखि सुरु भएको प्रतियोगिता जङ्गी अड्डा तथा दशरथ रङ्गशालास्थित टेनिस कोर्टमा सञ्चालन भएको थियो। प्रतियोगितामा १२ वटा क्लबका २१८ खेलाडीले १३ विधाका प्रतिस्पर्धामा सहभागिता जनाएका थिए।
समापन समारोहमा बलाधिकृत, तीनवटै सुरक्षा निकायका प्रमुख (नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल नेपाल), रथीवृन्द, नेपाल टेनिस संघ तथा राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारी, विभिन्न टेनिस क्लबका प्रतिनिधि, नेपाली सेनाका सकलदर्जा, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।
नेपाली सेनाले राष्ट्रिय स्तरमा खेलकुदको विकास, प्रतिभा पहिचान तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ।
तस्बिरहरू







