प्रधानमन्त्रीलाई कांग्रेसले सोध्यो : जंगलबाट ल्याइदिएको बिर्सिनुभयो?

हिमाल प्रेस ७ जेठ २०८१ १५:१०
32
SHARES
प्रधानमन्त्रीलाई कांग्रेसले सोध्यो : जंगलबाट ल्याइदिएको बिर्सिनुभयो?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली कांग्रेसबीच दुरी झनै बढ्ने संकेत देखिएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनेक्रममा नाराबाजी गर्दै अवरोध गरेपछि दाहाल कांग्रेसविरुद्ध खनिएका थिए।

उनले भनेका थिए, ‘तपाईंहरूले आज बहुत् गलत गर्नुभयो। नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले संवाद र सहमतिको बाटोमा ल्याउन मिहेनत गरेको छ, त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा एउटा नराम्रो उदाहार प्रस्तुत गर्नुभयो, म त्यसको निम्ति गहिरो दुःख व्यक्त गर्न चाहन्छु, नेपाली कांग्रेसलाई मूल्य चर्को पर्नेछ।’

प्रधानमन्त्रीको यो चेतावनीलाई कांग्रेसले पनि जवाफ फर्काएको छ। संसद् बैठकलगत्तै आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले जंगलबाट कसले बाहिर ल्याएको भन्ने बिर्सिएको गम्भीर टिप्पणी गरे।

‘मूल्य चुकाउनुपर्छ भन्नुभयो। तपाईंलाई जंगलबाट यहाँ ल्याउने कांग्रेसलाई बिर्सिनुभयो ? शान्ति प्रक्रियामार्फत माओवादीलाई राजनीतिमा ल्याउन कांग्रेसको योगदान छैन?’ उनले भने, ‘गैरजिम्मेवार ढंगले बोल्न र लान्छना लगाउन बन्द गर्दिनुस्। धम्क्याएर तर्साएर तर्सिने पार्टी कांग्रेस होइन।’

त्यस्तै कांग्रेसले लोकतन्त्रको मूल्यमान्यता सरकारले मिचेको प्रतिक्रिया पनि दिएको छ। ‘आजको बैठकमा प्रतिपक्षीले समय माग्दा पनि बोल्न दिइएन। यसको पछाडि सत्ता पक्षको बहुमतको दम्भ छ। लोकतन्त्र र संसदीय मूल्यमान्यता उलंघन नगर्न चेतावनी आजको बैठकले दिएको छ’ लेखकले भने।

उनले सोमबारको प्रतिनिधिसभा बैठकमा सरकारले बलमिच्याइँ गरेको बताए। उनले विश्वासको मत लिने समय तीन हप्ता बाँकी रहे पनि बलमिच्याइँ गरिएको बताए। उनले भने, ‘नेपालको संसदीय इतिहासमा नौलो र दु:खदायी घटना भएको छ। संसदलाई ब्यारेक जस्तो बनाएर विश्वासको मत लिने नाटक गरेको छ। पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु सभामुखलाई शोभनीय हुँदैन।’

प्रकाशित: ७ जेठ २०८१ १५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − five =