सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुख बेग्लाबेग्लै छलफलमा

हिमाल प्रेस ४ जेठ २०८१ १२:३८
10
SHARES
सदनको अवरोध अन्त्यका लागि प्रधानमन्त्री र सभामुख बेग्लाबेग्लै छलफलमा

काठमाडौँ- संसद्मा देखिएको गत्यावरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बेग्लाबेग्लै राजनीतिक दलका नेतासँग छलफल गरेका छन्।

प्रधानमन्त्री दाहालले सिंहदरबारमा सत्तामा रहेको नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई अहिले छलफलमा बोलाएका हुन्। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी सभालाई नियमित सञ्चालन गरी कार्यसूचीमा प्रवेश गराउन अभिभावकका हैसियतले सभामुख घिमिरेले सत्तापक्ष र प्रतिपक्षका नेता र सचेतकसँग पटकपटक छलफल गर्दै आएका छन्।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले अवरोधको अवस्थामा रहेको सभाको बैठक सञ्चालन गर्ने विषयमा राजनीतिक दलबीच छलफल भइरहेको र प्रतिपक्षले केही समय माग गरेकाले आजको बैठक सुरु हुन विलम्ब भएको जानकारी दिए।

आजको प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १:१५ बजे निर्धारिण गरिएको थियो। प्रमुख प्रतिपक्षी कांग्रेसले पनि विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेको छ।

संघीय संसद्को चालु अधिवेशनका हालसम्मका बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी अनियमिततामा संसदीय छानबिन समिति गठनको माग गर्दै अवरोध गर्दै आएको छ। सो दलले सभामुख घिमिरेको भूमिका तटस्थ र निष्पक्ष हुनुपर्ने माग पनि गर्दै आएको छ।

यही जेठ २ गतेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि  उनलाई धन्यवाद दिनेलगायत कार्यसूची रहेको सोही दिनको दोस्रो बैठकमा प्रतिपक्षीले अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको थियो।

यही जेठ ३ गतेको बैठक पनि विपक्षीको विरोधका कारण अवरोध भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 8 =