झलनाथको नेतृत्व क्षमतामाथि प्रश्न

किरण पौडेल २१ वैशाख २०८१ १७:२३
100
SHARES
झलनाथको नेतृत्व क्षमतामाथि प्रश्न झलनाथ खनाल

काठमाडौँ- एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल दोस्रोपटक विफल भएका छन्। २०७९ को चुनावमा आफ्नै पूर्वकार्यकर्तासँग चुनाव हारेका खनालको कमान्डिङ यसपटक इलाम-२ मा भएको उपनिर्वाचनमा निकै फितलो साबित भएको हो। इलाम एमालेका पूर्वअध्यक्ष एवम् पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालको गृहजिल्ला हो।

सोही जिल्लाबाट पटकपटक चुनाव जितेर मन्त्री र प्रधानमन्त्री बनेका खनालको दलले लज्जास्पद हार व्यहोरेको छ। उनलाई पार्टीले उक्त क्षेत्रमा चुनावी कमान्डरका रूपमा खटाएको थियो।

उपनानिर्वाचनमा तीनवटा वाम दल एक भएर मैदानमा उत्रिएका थिए। खनालको दल एकीकृत समाजवादी भने एक्लै मैदानमा थियो। नेकपा एमालेका उम्मेदवार सुवाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपाको साथ थियो।

ठूला कम्युनिस्ट पार्टी एक भएर लड्दा नतिजा सकारात्मक आएको छ भने छुट्टै चुनाव लडेको समाजवादीको ‘पत्तासाफ’ भएको छ। तीन कम्युनिस्ट पार्टीको साथ पाएका नेकपा एमालेका सुहाङ नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी बन्दा समाजवादीका जितबहादुर राईले ४०८ मत प्राप्त गरे।

उपनिर्वाचनमा सुहाङले ल्याएको मत जम्मा मतको ४० प्रतिशत र समाजवादीका राईले ल्याएको मत ०.५९ प्रतिशत हो। चुनावअघि यी चारै कम्युनिस्ट पार्टी संयुक्त उम्मेदवार उठाउने अनुमान गरिएको थियो। किनभने एमाले, माओवादी र समाजवादी अहिले संघीय सरकारमा सामेल छन्। ठूला तीन कम्युनिस्ट पार्टी एक हुँदा खनालले छुट्टै उम्मेदवार उठाएका थिए।

‘उम्मेदवार उठाउने समयमा हामीसँग सल्लाह भएन। यही कारण उम्मेदवार उठायौँ,’ एकीकृत समाजवादीका सम्मानित नेता खनालले हिमाल प्रेससँग भने, ‘जित्ने आकलन थिएन तर मत कम आयो।’ खनालले चुनावअघि इलाम पुगेर चुनाव जित्ने दाबी गरेका थिए। चुनावी नतिजापछि भने खनाल जित्नका लागि उम्मदेवारी नदिएकोे बताइरहेका छन्।

समाजवादीको मत यसअघिको चुनावमा पनि उल्लेखीय थिएन। उक्त निर्वाचन क्षेत्रमा २०७९ सालको आमनिर्वाचनमा समाजवादीको ५८६ मत आएको थियो। त्यसबेला नयाँ पार्टी भएकाले मत नआएको समाजवादीको दाबी थियो।

अहिले पार्टीले त्यो तर्कले मिल्ने अवस्था छैन। यही कारण समाजवादीका नेताहरू आफ्नो मत वैकल्पिक शक्ति र एमालेमा गएको बताउँदै आएका छन्। ‘हामीले अलि धेरै मतको आकलन गरेका थियौँ। यो मत वैकल्पिक शक्तिमा गएको बुझिएको छ,’ समाजवादीका उम्मेदवार राईले भने।

राईले आफ्नो मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमतर्फ गएको दाबी गरे। समाजवादीको यो मत समानुपातिक मतभन्दा कम हो। पार्टीभित्रैबाट पनि मत नआएको समाजवादीको बुझाइ छ।

खनालले भने यसपटक पनि चुनावमा ‘साम, दाम, दण्ड भेद’ सबैथोक प्रयोग भएको बताए। उनले भने, ‘संसदीय चुनावमा यस्तो हुन्छ। सबैथोक यसपटक प्रयोग भयो।’ खनालले आफैँले कमान्डिङ गरेको चुनावमा उनकै पनि कमजोरी देखिएको छ। त्यसलाई उनले स्वीकार गरेका छन्। ‘हो, हाम्रो पनि कमजोरी छन्। यसपटक हार्ने कम्युनिस्टलाई भन्दा जित्ने कम्युनिस्टलाई मत हालेको जस्तो देखियो,’ खनालले भने, ‘कांग्रेसलाई मत नहाल्ने तर जित्ने कम्युनिस्टलाई मत हालेको जस्तो देखियो।’

खनाल पार्टीका दोस्रो वरीयताका नेता हुन् भने पार्टी अध्यक्षका समेत दाबेदार हुन्। उपनिर्वाचनपछि पनि उनी अध्यक्षमा उम्मेदवार बन्न सक्ने बताउन छाडेका छन्। ‘हाम्रा कार्यकर्ताले के भन्नुहुन्छ। म त्यहीअनुसार अघि बढ्छु,’ खनाल भन्छन्, ‘अध्यक्षमा उठ् भनेमा म तयार छु।’

उपचुनावमा खनालको कमान्डिङ विफल भएको छ। २०७९ को चुनावमा खनालले इलाम-१ मा एमाले नेता महेश बस्नेतसँग चुनाव हारेका थिए। त्यसबेला पनि खनालले गठबन्धनमा रहेको दल नेपाली कांग्रेसले घात गरेको आरोप लगाएका थिए।

समाजवादीको दबदबा राम्रो भएको दाबी गरिरहेका छन्। उनी अन्य पार्टीले मत काटेको बताउने गरेका छन्। त्यसमा पनि सरकारले बल प्रयोग गरेको आरोप उनको छ।
उपनिर्वाचन उनको परीक्षाका रूपमा हेरिएको थियो। राजनीतिक विश्लेषक डम्बर खतिवडा उपनिर्वाचन परिणामले खनालको नेतृत्वदायी क्षमतामाथि प्रश्न उठेको बताए।

खनालले सबै कम्युनिस्ट शक्तिको साथ पाए उम्मेदवार बन्ने बताएका थिए। तर एमालेले खनाललाई सहयोग गरेन। यो कुरा खनाल आफैँले स्वीकारेका छन्।

एमाले नेताहरू भने आफ्नो पार्टी र संगठन हुँदाहुँदै अन्य उम्मेदवारतर्फ जान अनुचित भएकाले खनालबारे नसोचेको बताउँछन्।

‘यो हाम्रै क्षेत्र हो। हाम्रो नेताले लामो समयदेखि जित्दै आएको क्षेत्र हो। हामी पहिलो प्राथमिकता हाम्रै नेताहरू प्राथमिकतामा पर्नुभयो,’ एमाले उपमहासचिव प्रदीप ज्ञवाली भन्छन्, ‘त्यसबेला अरूतिर छलफल भयो। तर अरूलाई उठ्न दिने गरी भएन।’

प्रकाशित: २१ वैशाख २०८१ १७:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =