कम्युनिष्ट आन्दोलनको नेतृत्व दक्षिणपन्थी दिशातर्फ विचलित हुँदा देश जटिल राजनीतिक र आर्थिक समस्यामा : झलनाथ

हिमाल प्रेस ७ साउन २०८३ ८:२८ | Thursday, July 23, 2026
2
SHARE
कम्युनिष्ट आन्दोलनको नेतृत्व दक्षिणपन्थी दिशातर्फ विचलित हुँदा देश जटिल राजनीतिक र आर्थिक समस्यामा : झलनाथ फाइल तस्बिर

काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालकै योगदानले नेपालमा कम्युनिष्ट आन्दोलन उचाइमा पुगेको बताएका छन् ।

पुष्पलालको ४८ औं स्मृति दिवस पारेर नेता खनालले सन्देश जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालप्रति उच्च सम्मान व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘कमरेड पुष्पलाल हाम्रो देशको कम्युनिष्ट आन्दोलनको प्रणेता र संस्थापक नेता हुनुहुन्छ, उहाँले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणको स्पष्ट वैचारिक मार्गनिर्देशन गर्नुभएको थियो ।’

नेता खनालले पुष्पलालकै मार्गदर्शनबाट अघि बढ्दै नेपालमा जनवादी क्रान्ति सफलतापूर्वक सम्पन्न भएको, संविधान सभाबाट देशको संविधान निर्माण गरिएको, र नेपाली समाजलाई समाजवादी क्रान्ति तथा रूपान्तरणको दोस्रो ऐतिहासिक चरणतर्फ अघि बढाउने आधार निर्माण भएको बताएका छन् ।

उनले कमरेड पुष्पलालले मार्गदर्शन गरेको बाटोबाट स्वयम् कम्युनिष्ट आन्दोलनको नेतृत्व दक्षिणपन्थी दिशातर्फ विचलित हुँदा देश जटिल राजनीतिक, आर्थिक तथा राष्ट्रिय चुनौतीहरूको सामना गरिरहेको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता, लोकतन्त्र र संविधानद्वारा सुनिश्चित जनअधिकारमाथि विभिन्न प्रकारका चुनौतीहरू देखापरिरहेका छन् ।’

नेता खनालले यस्तो परिस्थितिमा राष्ट्रको स्वाधीनता, राष्ट्रिय अखण्डता, राष्ट्रिय हित र जनताको उपलब्धिको रक्षा गर्दै सबै भन्दा पहिले सहि क्रान्तिकारी कार्यदिशाका आधारमा नेपाली कम्युनिष्ट पार्टीलाई पुनर्गठन, रुपान्तरण र एकतावद्ध बनाउनु जरुरी भएको बताए । उनले भने, ‘सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक तथा देशभक्त शक्तिहरूबीच फराकिलो एकता, सहकार्य र साझा पहल आजको ऐतिहासिक आवश्यकता बनेको छ ।’

उनले पुष्पलालले प्रतिपादन गरेको राष्ट्रिय स्वाधीनता, जनताको सर्वोच्चता, प्रगतिशील परिवर्तन, संयुक्त आन्दोलन र वामपन्थी एकताको मार्गलाई आत्मसात् गर्दै वर्तमान चुनौतीमा सामना गर्नु नै सच्चा सम्मान हुने बताएका छन् । ‘नेपाली विशेषताको वैज्ञानिक समाजवादको लक्ष्य प्राप्तिका लागि एकतावद्ध भएर अघि बढ्न उनले सबै वामशक्तिलाई आह्वान गरेका छन् ।

प्रकाशित: ७ साउन २०८३ ८:२८ | Thursday, July 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast