नागरिक उन्मुक्ति विवाद : सुदूरपश्चिमका मुख्मन्त्रीलाई विश्वासको मत नदिन रञ्जिता श्रेष्ठको ह्वीप

हिमाल प्रेस २१ चैत २०८० १५:३२
20
SHARES
नागरिक उन्मुक्ति विवाद :  सुदूरपश्चिमका मुख्मन्त्रीलाई विश्वासको मत नदिन रञ्जिता श्रेष्ठको ह्वीप

काठमाडौँ– कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको विपक्षमा रहेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले ह्विप जारी गरेकी छन्। मुख्यमन्त्री शाहले बिहीबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरिरहेका बेलामा उनले केन्द्रीय अध्यक्षका रुपमा ह्विप जारी गरेकी हुन्।

सामान्यतयाः सम्बन्धित प्रदेशकै संसदीय दलका प्रमुख सचेतकले ह्विप जारी गर्ने गर्छन्। तर नाउपामा भने केन्द्रीय अध्यक्षको रुपमा ह्विप जारी गरेकी हुन्।

उनले पार्टीको ‘सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रमहरूका लागि माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरे पनि प्रदेश सभाको महत्त्वपूर्ण निर्णयमा ह्विप लगाउने अधिकार पार्टीको केन्द्रीय अध्यक्षलाई नै भएकोले’ आफूले ह्विप लगाएको बताएकी छिन्।

सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरूलाई पठाइएको पत्रमा भनिएको छ, ‘… मिति २०८०/१२/२२ गते माननीय कमलबहादुर शाहज्यूले लिन गइरहेको विश्वासको मतको विपक्षमा मतदान गर्नुहुन निर्देशन सहितको ह्विप जारी गरिएको व्यहोरा अनुरोध गर्दछु।’

उनले आफ्नै पार्टीबाट समानुपातिक सांसद भएकी इन्दिरा गिरीलाई कारबाही गरेकी छन्। पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नदिएकाले हटाउने निर्णय लिएको श्रेष्ठले जानकारी दिइन्।

गिरी शाह नेतृत्वको सरकारमा राज्यमन्त्री थिइन्। यस प्रदेशमा नाउपाका ७ सांसदमध्ये ५ जना सरकारमा सहभागी थिए।

प्रदेश सरकारमा सहभागिताको विषयमा अध्यक्ष श्रेष्ठले असहमति राख्दै आएकी थिइन्। उनले सरकारबाट फिर्ता हुन र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन निर्देशन दिँदै आएकी थिइन्। तर पार्टीका संरक्षक रेशम चौधरीको आड पाएका उनीहरूले अध्यक्षको निर्देशनको अवज्ञा गर्दै आएका छन्। श्रेष्ठले निर्देशन अवज्ञा गर्नेहरूलाई कारबाहीको चेतावनी दिँदै आएकी छन्।

प्रकाशित: २१ चैत २०८० १५:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eleven =