सत्ता गठबन्धनमा प्रदेश भागबन्डा : एमालेलाई कोशीसहित ३ प्रदेश, माओवादीलाई २

जसपालाई मधेश, एकीकृत समाजवादीलाई सुदूरपश्चिम

हिमाल प्रेस २० चैत २०८० ८:११
26
SHARES
सत्ता गठबन्धनमा प्रदेश भागबन्डा : एमालेलाई कोशीसहित ३ प्रदेश, माओवादीलाई २

काठमाडौँ- नयाँ गठबन्धन बनेसँगै फेरिएको समीकरणअनुसार प्रादेशिक सरकार निर्माण गर्ने कसरतमा दलहरू लागेका छन्।

सत्ता घटकका दलहरूबीच ७ वटै प्रदेशको नेतृत्वलाई लिएर भइरहेको छलफलले मोटामोटी सहमति जुटेको छ। मुख्य दलका शीर्षहरूले ७ वटै प्रदेशको नेतृत्व तय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मुख्य दलहरूबीच कोशी प्रदेशको नेतृत्व एमालेले लिने सहमति भएको छ। मधेश प्रदेश जनता समाजवादी पार्टी(जसपा)ले पाउने सहमति भएको छ। यद्यपि, अहिले पनि जसपाकै सरोजकुमार यादव मुख्यमन्त्री छन्। बागमती प्रदेश र लुम्बिनी प्रदेशको नेतृत्व माओवादीले पाउनेछ।

कर्णाली प्रदेश एमालेले लिने भएको छ। यता सुदूरपश्चिम प्रदेशको नेतृत्व एकीकृत समाजवादीले पाउने भएको छ।

बागमती र सुदूरपश्चिम सरकार भने आधाआधा कार्यकाल हुने नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

उनका अनुसार सुदूरपश्चिममा पहिले समाजवादीले नेतृत्व लिने र बागमतीमा माओवादीपछि समाजवादीले नेतृत्व पाउने सहमति भएको छ। कोशीमा अहिले कांग्रेस नेतृत्वको सरकार छ।

अब यहाँ एमाले नेतृत्वको सरकार बनाउनुपर्ने भए पनि संवैधानिक जटिलता देखिएको छ। मुख्यमन्त्री केदार कार्की राजीनामा नदिने मुडमा रहेकाले प्रदेशसभा विघटन हुने सम्भावना छ।

यता मधेशमा भने तत्काललाई समस्या छैन। जसपाकै मुख्यमन्त्री भएकाले समस्या नभएको नेताहरू बताउँछन्। मुख्यमन्त्री यादवले विश्वासको मत पनि पाएका छन् भने एमाले सरकारमा सहभागी भइसकेको छ।

यता बागमतीमा पनि अहिले तत्काललाई समस्या छैन। माओवादीकै शालिकराज जम्कट्टेल मुख्यमन्त्री रहेकाले समस्या हटेको छ।

पछिल्लो समय एकीकृत समाजवादीले बार्गेनिङ गरेकाले दोस्रो कार्यकाल समाजवादीलाई दिने सहमति भएको स्रोतको दाबी छ। यता गण्डकीमा भने सरकार बनाउन कठिनाइ देखिन्छ। कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्र पाण्डे अल्पमतमा परेका छन्। उनी राजीनामाको तयारी रहेको बताइएको छ। तर केन्द्रीय गठबन्धनअनुसार सरकार बनाउन सहज छैन।

अंकगणित नपुग्ने भएकाले स्वतन्त्र सांसद दीपक मनाङे र राप्रपालाई गुहार्नुपर्ने बाध्यता छ। कर्णालीमा भने गठबन्धनभित्रै किचलो छ।

माओवादी केन्द्र कर्णाली प्रदेश आफ्नै नेतृ्त्वमा सरकार बनाउन चाहन्छ। माओवादी उपमहासचिव जनार्दन शर्मा निकटस्थ राजकुमार शर्मा एमालेलाई सत्ता हस्तान्तरण नगर्ने पक्षमा छन्। यद्यपि, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्यमन्त्रीलाई राजीनामा दिन पत्राचार गरिसकेका छन्।

यस्तै सुदूरपश्चिममा पनि सत्ता गठबन्धनको अंक पुग्न समस्या छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)को आन्तरिक द्वन्द्वका कारण केन्द्रीय गठबन्धन अनुसार सरकार बन्ने सम्भावना कमजोर छ।

 

प्रकाशित: २० चैत २०८० ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − two =