कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

हिमाल प्रेस १६ चैत २०८० १५:४६
840
SHARES
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा टेकबहादुर गुरुङ

काठमाडौँ- नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ। आज शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले हिमालप्रेसलाई जानकारी दिए।

‘जनताबाट निर्वाचित भएको व्यक्ति हो। कुनै कसूरदार काम नगरेको र निलम्बन फुकुवा गरिपाऊँ भन्ने माग दाबी थियो,’ उनले भने, ‘मागबमोजिम रिट जारी भएको छ।’

मनाङबाट निर्वाचित सांसद गुरुङले सभामुख, संघीय संसद् सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाएर गत फागुन ११ मा रिट दायर गरेका थिए।

मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङलाई गत पुस १२ गते संसद् सचिवालयले निलम्बन गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनीविरुद्धको मुद्दा बाँकी रहेकोले सांसद पदबाट निलम्बित गरिएको थियो।

उनीविरुद्ध अख्तियारले २०७५ माघ २१ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

उनी विरुद्धको मुद्दा विचाराधीन भएकोले उक्त मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानुनी व्यवस्था कार्यान्वयन गराउन सम्बन्धित निकायमा लेखि पठाउने भनि अख्तियारले २०७९ पुस ८ गते पत्राचार गरेको संघीय संसद् सचिवालय जनाएको थियो।

यसअघि विशेष अदालतले गुरुङलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँको भृकुटीमण्डपस्थित फनपार्कको जग्गा भाडामा लगाउँदा भ्रष्टारचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: १६ चैत २०८० १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =