महराबारे अझै अनिर्णित प्रचण्ड

किरण पौडेल ९ चैत २०८० १२:३०
102
SHARES
महराबारे अझै अनिर्णित प्रचण्ड

काठमाडौँ- सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका पार्टी उपाध्यक्ष कृष्णबहादुर महराका सम्बन्धमा सत्तारूढ नेकपा माओवादी केन्द्र अनिर्णित बनेको छ। पूर्वसभामुखसमेत रहेका महरा पक्राउ परेपछि अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूसँग औपचारिक र अनौपचारिक रूपमा पटकपटक छलफल गरे पनि महराका सम्बन्धमा निष्कर्षमा पुग्न नसकेका हुन्।

माओवादी पदाधिकारी बैठकमा महरालाई निलम्बन गर्ने या नगर्ने भन्ने विषयमा छलफल भएको थियो। बैठकले कुनै निर्णय गर्न नसकेपछि सबै अधिकारी अध्यक्ष प्रचण्डलाई दिएको छ। ‘उहाँ (महरा) कसरी अघि बढ्नुहुन्छ। त्यही अनुसार कामकारबाही बढाउने निर्णय भयो,’ बैठकपछि प्रवक्ता सापकोटाले भनेका थिए,‘यसबारे व्यापक छलफल भयो तर निष्कर्षमा पुगिएन।’

महराले राजीनामा दिए आफूलाई सहज हुने पक्षमा अध्यक्ष प्रचण्ड छन्। राजीनामा नदिएमा निलम्बन गर्नुपर्ने दबाब प्रचण्डमाथि छ। पार्टीका एक पदाधिकारीका अनुसार प्रचण्डले बैठकमै महरालाई फोन गरेर राय मागेका थिए। उनले ‘राजीनामा दिने वा कारबाही गरौँ’ भनेर महरालाई सोधेको बैठकमा सहभागी एक पदाधिकारी बताउँछन्। ती पदाधिकारीका अनुसार ‘अध्यक्ष प्रचण्डले अब महराजी कसरी अघि बढ्नुहुन्छ, त्यसै गरौँ’ भनेर बैठक समापन गरेका थिए। बैठकमा महरालाई कारबाही गर्ने विषयमा पनि सचिवालयमा कुरा उठेको थियो।

महराले राजीनामा दिए हुन्थ्यो भन्ने पक्षमा रहेका प्रचण्डले न उनलाई पदबाट हट्न दबाब दिएका छन् न त निलम्बन गरेर जबाफदेही बन्न सकेका छन्। सुन तस्करी प्रकरणमा उपाध्यक्ष महरा सोमबार पक्राउ परेका थिए।

कुनै बेला प्रचण्डको नजिकका पात्र थिए महरा। जानकारहरूका अनुसार द्वन्द्वकालमा त प्रचण्डको ‘मुखपत्र’ बन्थे महरा। माओवादी द्वन्द्वबारे नजिकबाट बुझेका पत्रकार उजिर मगर भन्छन्,‘महरा मोहन वैद्य, रामबहादुर थापा ‘बादल’, बाबुराम भट्टराई सबैलाई एक बनाउन सक्थे। यही कारण उनी सरकार भएका हरेक वार्तामा पार्टीबाट संयोजक बनेका थिए।’

महरा २०५८ सालमा तत्कालीन सरकारसँगको पहिलो वार्ता टोली संयोजक थिए। २०६० सालमा तत्कालीन सरकारसँगको वार्ता टोली सदस्य तथा प्रवक्ताको जिम्मेवारी पाएका थिए। २०६१ सालमा पार्टी प्रवक्ता भएका उनी २०६३ मा तत्कालीन सरकारसँग वार्ताका लागि गठित तेस्रो वार्ता टोलीको संयोजक थिए।

माओवादीका कुनै पनि गुटका नेताले महरामाथि सामान्यतया प्रश्न उठाउन सक्दैन थिए। ‘महरा सबैलाई मिलाउन सक्ने भएकाले खुला राजनीतिमा पनि सधैँ उनी सत्तामा रहँदै आएका छन्’,मगर भन्छन्,‘महरा प्रधानमन्त्रीबाहेक सबै थोक भए। सबै मिलाउन सक्ने क्षमता महरामा छ।’ महरा विवादमा तानिँदाको अपजस भने प्रचण्डले पाएका छन्।

महरा सभामुख हुँदा यौन दुराचार विवादमा तानिए। महरा संसद् सचिवालयकै कर्मचारीमाथि यौन दुराचार गरेको अभियोगमा महराले केही महिना जेल सजाय पाए। उक्त प्रकरणमा अध्यक्ष प्रचण्डले चासो नदिएको दुःखेसो महराको थियो।

महरा पक्राउ पर्दा प्रचण्ड शक्तिमै छन्। महरामाथि ‘एक्सन’मा जाँदा भोलि महरा छुटेमा फेरि प्रचण्डसँगै असन्तुष्ट हुने सम्भावना छ। माओवादीका एक नेताका अनुसार प्रचण्ड यही कारण पनि तत्काल एक्सनमा नजाने पक्षमा छन्। महरा आफैँले मार्गप्रशस्त गरे सहज हुने उनको बुझाइ छ।

पुराना कम्युनिस्ट नेता महरा पक्राउ परेपछि केही नेताहरू प्रधानमन्त्रीसँग असन्तुष्ट भएका छन्। माओवादीका अर्का एक पदाधिकारी भन्छन्, ‘महरालाई प्रचण्डले नै पक्राउ गरेको स्पष्ट छ। उहाँले बचाउन चाहनुभएन। यसको असर उहाँलाई नै पर्नेछ।’

महरा पक्राउ परेपछि पार्टीका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएका छन्। आन्तरिक व्यवस्थापन वा तयारी नपुगेर भनिए पनि महराकै कारण कार्यक्रम स्थगित भएको पार्टी स्रोत बताउँछ।

माओवादीले पहिलो चरणमा चैत १५ देखि तराई–मधेस जागरण अभियान र दोस्रो चरणमा वैशाख १५ देखि पूर्वपश्चिम उत्तर–दक्षिण अभियान सार्वजनिक गरेको थियो। अध्यक्ष प्रचण्डले पार्टी सुदृढीकरणका लागि भन्दै घोषणा गरेको अभियान स्थगित भएको छ। मंगलबार बसेको पदाधिकारी बैठकले दुवै अभियान स्थगित गर्ने निर्णय गरेको थियो।

केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकाल भने तयारी नपुगेकाले अभियान स्थगित भएको दाबी गर्छन्। उनले भने, ‘पार्टीका प्रदेश इन्चार्जहरु फेरिएका छन्। तयारी नपुगेकाले दुवै अभियान स्थगित गरेका छौँ।’

पछिल्लो समय माओवादीले नेताकार्यकर्ता भित्र्याउने र पार्टी एकता गर्ने कार्यक्रमलाई निरन्तरता दिएको छ। यही अभियान स्वरूप नेपाल समाजवादी पार्टी (नेसपा) को एउटा समूह माओवादीमा विलय भएको छ।

माओवादीले विप्लव नेतृत्वको नेकपासँग पनि एकता गर्ने प्रयास गरेको थियो। यसमा महराले गृहकार्य गरिरहेका थिए। विप्लवसँग छलफल गर्न महरा कपिलवस्तु पुगेका थिए।

‘महराकै कारण विप्लव र प्रचण्ड नजिकिएका थिए’, माओवादीका सचिव गणेश साह भन्छन्, ‘समाजवादी मोर्चा बनाउन पनि महरा अघि बढेकै हुन्।’ विप्लव निकट नेताहरू भने महरा पक्राउ परे पनि एकतामा असर नगर्ने बताउँछन्। विप्लव निकट नेता सन्जय सीले भने, ‘माओवादीसँग एकतासम्म नपुगेकाले महरा पक्राउ पर्दा असर भएको छैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =