मधेश : एसईईमा ८१ हजार ७६८ परीक्षार्थी, कुन जिल्लाबाट कति?

हिमाल प्रेस ६ चैत २०८० १५:४९
102
SHARES
मधेश : एसईईमा ८१ हजार ७६८ परीक्षार्थी, कुन जिल्लाबाट कति?

धनुषा- मधेश प्रदेशबाट यसपटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदैछन्। यही चैत १५ गते सुरु हुने एसइईमा मधेश प्रदेशबाट कुल ८१ हजार सात सय ६८ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालय जनकपुरले जनाएको छ।

परीक्षामा मधेश प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी विद्यार्थी धनुषाबाट र सबैभन्दा कम संख्या सप्तरीबाट छन्। धनुषाबाट चार सय ८९ जना प्राविधिकतर्फका गरी १२ हजार दुई सय १४, सिराहाबाट १० हजार नौ सय २३, महोत्तरीबाट नौ हजार चार सय ३१, सर्लाहीबाट १० हजार आठ सय ९६, रौतहटबाट नौ हजार चार सय ६९, बाराबाट नौ हजार चार सय ४४, पर्साबाट १० हजार ६८ र सप्तरीबाट नौ हजार तीन सय २३ परीक्षार्थी सहभागी हुने शिक्षा विकास निर्देशनालयले जनाएको छ।

शिक्षा विकास निर्देशनालय जनकपुरका निर्देशक दिलीपकुमार ठाकुरले परीक्षाका लागि आवश्यक तयारी द्रुत गतिमा भइरहेको बताए। निर्देशक ठाकुरले आठ जिल्लामा गरी दुई सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको छ भने दुई सय ९५ केन्द्राध्यक्ष, पाँच सय ३० सहायक केन्द्राध्यक्ष, चार हजार ९२ निरीक्षक, आठ सय सात परीक्षा सहायक, एक हजार छ सय ३९ जना कार्यालय सहयोगी गरी जम्मा सात हजार छ सय ५८ जना कर्मचारी खटाइने बताए।

आवश्यक तयारी करिब पूरा भएका बताउँदै निर्देशक ठाकुरले मधेश प्रदेशका सबै जिल्लामा शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयमा उत्तरपुस्तिका र प्रश्नपत्र जिल्लास्थित जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए। उनले यस प्रदेशमा एसइई परीक्षालाई मर्यादित, अनुशासित र व्यवस्थित रूपमा सम्पन्न गराउन आठवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला परीक्षा समन्वय समितिले निरीक्षण तथा अनुगमन गरिने बताए। रासस

एसईई विगतका भन्दा यसकारण फरक

प्रकाशित: ६ चैत २०८० १५:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − four =