एसईई विगतका भन्दा यसकारण फरक

हिमाल प्रेस ५ चैत २०८० १७:४६
742
SHARES
एसईई विगतका भन्दा यसकारण फरक

काठमाडौँ- नयाँ पाठ्यक्रमअनुसार कक्षा १० को अन्त्यमा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १५ गतेदेखि हुँदैछ। यस पटकको परीक्षा विगतका भन्दा केही फरक विशेषतासहित सञ्चालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गको कक्षा १० तर्फका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए।

पौडेलले भने, ‘यस वर्ष नयाँ पाठ्यक्रमअनुसार एसईई हुँदैछ। यसमा विगतका भन्दा केही व्यवस्था परिवर्तन गरिएको छ।’ विगतमा १०० पूर्णांकका लागि तीन घण्टा र ७५ पूर्णांकका लागि २ घण्टा १५ मिनेट समय तोकिन्थ्यो। नयाँ पाठ्यक्रमअनुसार ७५ पूर्णांकका लागि पनि तीन घण्टा समय तोकिएको छ।

उनले भने, ‘सय पूर्णांकको कुनै परीक्षा हुँदैन। सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ। ५० पूर्णांकका लागि भने २ घण्टा समय तोकिएको छ।’

प्रश्नको उत्तर अलिक विस्तृतमा लेख्नुपर्ने भएकाले विद्यार्थीलाई सहज होस् भनेर ७५ पूर्णांकका लागि पनि तीन घण्टा समय गरिएको पौडेलको भनाइ छ। प्रयोगात्मक परीक्षा भने तोकिएको मापदण्डअनुसार विद्यालयले नै लिने व्यवस्था गरिएको छ। लिखित परीक्षाको प्रश्नपत्रको ढाँचा पनि विगतका भन्दा फरक रहेको पौडेलले बताए।

परीक्षामा चार लाख ८० हजार विद्यार्थी सहभागी हुँदैछन्। तिनमा २० हजार जति ग्रेडवृद्धितर्फका छन्। ग्रेडवृद्धिको परीक्षा भने पुरानो पाठ्यक्रमअनुसार हुनेछ। प्रश्नपत्र र समय निर्धारण पनि पुरानो पाठ्यक्रमअनुसार हुनेछ। परीक्षाका लागि २०५७ केन्द्र तोकिएको पौडेलले जानकारी दिए।

लिखित परीक्षामा ३५ प्रतिशत अंक नआएमा त्यसलाई ग्रेडिङमा गणना नगरिने व्यवस्था कार्यालयले गरेको छ। पौडेलले भने, ‘एसईईमा विद्यार्थीले सात विषयको परीक्षा दिनुपर्छ। हरेक विषयमा प्रयोगात्मक २५ प्रतिशत र लिखितमा ७५ प्रतिशत कायम गरिएको छ।’

उनका अनुसार प्रयोगात्मक र लिखितमा क्रमशः ३५ प्रतिशत र ४० प्रतिशत अंक ल्याउनुपर्नेछ। लिखित र प्रयोगात्मकको गरी ३५ प्रतिशत अंक आएन भने ग्रेडिङमा गणना गरिने छैन। ग्रेडमा पर्नका लागि ७५ पूर्णांकको परीक्षामा २७ प्रतिशत अंक र २५ पूर्णांकको प्रयोगात्मक परीक्षामा कम्तीमा १० प्रतिशत अंक ल्याउनैपर्छ। पौडेलले भने, ‘लिखितमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनैपर्छ।’ एसईईमा विभिन्न २० वटा विषयको परीक्षा हुनेछ।

यस्तो छ एसईईको रुटिन


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 1 =