सम्झौताविपरीत इजरायल कामदार पठाउँदै काठमाडौँ इन्टरनेसनल इन्कर्पोरेट

हिमाल प्रेस ६ चैत २०८० ५:५२
14
SHARES
सम्झौताविपरीत इजरायल कामदार पठाउँदै काठमाडौँ इन्टरनेसनल इन्कर्पोरेट

काठमाडौँ– वैदेशिक रोजगार व्यवसायी कम्पनी काठमाडौँ इन्टरनेसनल इन्कर्पोरेटले श्रम सम्झौताविपरीत इजरायल कामदार पठाउने प्रक्रिया अघि बढाएको छ। इन्कर्पोरेटले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग भएको श्रम सम्झौताविपरीत इजरायल कामदार पठाउन विज्ञापन खुलाएर अन्तर्वार्ता लिएको हो।

कम्पनीले श्रम मन्त्रालयको सेवा शुल्कका विषयमा ध्यान नै नदिई बीटुबी मोडल (व्यापारीव्यापारीबीच सम्झौता) बाट इजरायल वैदेशिक रोजगारीमा पठाउन लागेको हो।

इजरायल रोजगारीमा बीटुबी मोडलबाट कामदार पठाउन सक्ने निर्णय तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले गराएका थिए। उक्त निर्णय गोप्य राखिएको श्रम मन्त्रालय स्रोतले जनाएको छ।

निर्णय सार्वजनिक नभए पनि काठमाडौँ इन्टरनेसनल इनकर्पोरेटले बीटूबी मोडलमार्फत कामदार पठाउन इजरायलका लागि दुई सयजनाको मागसहित विज्ञापन गरेको छ। कम्पनीले ३००३९९ लट नम्बर वैदेशिक रोजगार विभागबाट स्वीकृति लिएर डिमान्डसहित सूचना प्रकाशित गरेको छ।

म्यानपावरले इजरायलसँग भएको जीटूजी (सरकारी स्तरमा भएको सम्झौता) उल्ट्याएर बीटूबी मोडलमार्फत कामदार लैजान प्रक्रिया अघि बढाए पनि यसबारेको सूचना वैदेशिक रोजगार विभागका कर्मचारीले लुकाइरहेको एक म्यानपावर व्यवसायीले जानकारी दिए।

इन्कर्पोरेटले मागका आधारमा विज्ञापन गरी अन्तर्वार्ता लिइसकेको जनाएको छ। म्यानपावरका एक कर्मचारीले पछिल्लोपटक आएको मागमा विज्ञापन गरी कामदारसँग अन्तर्वार्ता लिइसकिएको बताएका हुन्। इन्कर्पोरेटका प्रबन्ध निर्देशक सूर्यप्रसाद नेपाल भने इजरालयमा छन्।

ती कर्मचारीले भने, ‘सूर्य सर इजरायलमै हुनुहुन्छ। हामीले इजरायल जाने तयारीमा रहेका कामदारसँग अन्तर्वार्ता लिइसकेका छौँ।’ प्रबन्ध निर्देशक नेपाल केही दिनपछि फर्कने ती कर्मचारीले बताए। उनका अनुसार प्रतिकामदार ७ लाख लागत खर्च लाग्नेछ।

विभागका सूचना अधिकारी कविराज उप्रेतीले यसबारे आफूलाई केही थाहा नभएको बताए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले भने इजरायल बीटूबी मोडलबाट कामदार पठाउने निर्णय नभएको दाबी गरे। म्यानपावरले गरेको विज्ञापनका बारेमा विभागसँग जानकारी लिएर अनुसन्धान गरिने उनको भनाइ छ।

विभाग स्रोतका अनुसार २० वटाभन्दा बढी म्यानपावरले इजरायल बीटूबी मोडलमार्फत कामदार पठाउन विज्ञापनका लागि आवेदन दिएका छन्। वैदेशिक रोजगारीमा जाने कामदारका हकमा पूर्वश्रम स्वीकृति लिनुअघि ‘क’ वर्गका दैनिक पत्रिकामा विज्ञापन गर्नुपर्ने वैदेशिक रोजगार ऐनमा व्यवस्था छ। सोहीअनुसार पूर्वश्रम स्वीकृति लिएका म्यानपावरले पत्रिकामा विज्ञापन गरी मागबमोजिम कामदारसँग अन्तर्वार्ता लिने गरेका छन्।

पछिल्लो समय केही म्यानपावरले आफ्नो फेसबुक पेज र सामाजिक सञ्जालमार्फत इजरायल कामदार पठाउन विज्ञापन गरिरहेका छन्। सरकारले गत वर्ष असोजमा इजरायलसँग सरकारी स्तरमा श्रम सम्झौता गरेको थियो। त्यही सम्झौताअनुसार इजरायल सरकारले कामदार पठाउँदै आएको छ। श्रम सम्झौता भएपछि एक हजारभन्दा बढी कामदार इजरायल गएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =