गृहमन्त्री लामिछानेलाई बोल्न चैँ दिएनन्, हात मिलाएर निस्किए कांग्रेस सांसद

हिमाल प्रेस २ चैत २०८० १६:४५
216
SHARES
गृहमन्त्री लामिछानेलाई बोल्न चैँ दिएनन्, हात मिलाएर निस्किए कांग्रेस सांसद

काठमाडौँ- नेपाली कांग्रेसले शुक्रबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ। सहकारी ठगीमा प्रहरीमा उजुरी परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गरेको विषयमा विरोध जनाउँदै कांग्रेस सांसदहरूले  बैठक अवरुद्ध गरेका हुन्।

बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेलाई राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेस सांसदहरू सिटबाट उठेर बेल घेर्न पुगेका थिए।

उनीहरूले गृहमन्त्री लामिछानेले राजीनामा दिनुपर्ने भन्दै नाराबाजी गरेका थिए। सहकारीमा ठगीमा संलग्न भएका लामिछानेले राजीनामा दिनुपर्ने र पीडितले न्याय पाउनुपर्ने माग कांग्रेस सांसदहरूको थियो।

कांग्रेस सांसदहरूले विरोध जनाइरहँदा लामिछाने पनि आफ्नो सिटबाट उठेर रमिता हेरिरहेका थिए।

नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले बैठकको कार्यसूचीका सबै हटाइएको र अर्को बैठक आइतबार ११ बजे बस्ने जानकारी गराए। त्यसपछि नाराबाजी रोकियो। सबै सांसदहरू हँसिलो मुद्रामा बाहिरिन थाले। कांग्रेसका केही सांसद लामिछानेसँग हात मिलाउँदै बाहिरिएका थिए।

शुक्रबार ११ बजे बसेको बैठकमा पनि लामिछानेले उक्त प्रस्ताव पेस गर्न लाग्दा विरोध जनाएका थिए। कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले नियुक्तिका विषयमा प्रधानमन्त्रीको जबाफ नआउँदासम्म लामिछानेलाई अवरोध गरिरहने बताएका थिए।

उनले विनियोजन विधेयकको सिद्धान्तबारे हुने छलफलमा भने अवरोध नगर्ने स्पष्ट पारेका थिए। उनले भनेका थिए, ‘प्रधानमन्त्रीको जबाफ नआउँदासम्म गृहमन्त्रीको कार्यसूचीमा प्रवेश गर्न सक्दैनौँ।’

लेखकले लामिछाने अनुसन्धानको घेरामा रहेकाले उनको नियुक्तिका सम्बन्धमा जबाफ माग गरिएको बताए। उनले अनुसन्धानमा तानिएका व्यक्तिलाई पदमा बसिरहने नैतिकता नरहेको भन्ने मान्यता यसअघि नै स्थापित भइसकेको बताए।

लेखकले भने, ‘मन्त्रीजी अनुसन्धानको घेरामा हुनुपर्छ। यो कुरा के हो भनेर प्रतिपक्षीले पटकपटक सोध्दा प्रधानमन्त्री नआउने।’ सभामुखले समेत ध्यानाकृष्ट गराइसके पनि सरकारले चासो नदिएको उनको भनाइ थियो।

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + seventeen =