जलवायु परिवर्तनका कारण गरिब, आदिवासी एवं जातीय समूह मारमा परेका छन् : प्रधानमन्त्री

हिमाल प्रेस १ चैत २०८० ११:०३
14
SHARES
जलवायु परिवर्तनका कारण गरिब, आदिवासी एवं जातीय समूह मारमा परेका छन् : प्रधानमन्त्री राजधानीमा बिहीबार आयोजित ‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'। तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ-  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गाँसिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत् रणनीति आवश्यक पर्ने बताएका छन्।

‘जलवायु परिवर्तन, स्वास्थ्य र समानताका लागि दक्षिण र दक्षिण एसियाली क्षेत्रीय अनुसन्धान र नवीन केन्द्र’ विषयक कार्यक्रमलाई बिहीबार काठमाडौँमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समुदायमा बढ्दो रोग, कुपोषण, प्रदूषण र प्राकृतिक प्रकोपबाट उत्पन्न हुने जलवायु परिवर्तनका असर कम गर्नका लागि त्यस्तो रणनीतिको आवश्यकता औँल्याएका हुन्।

‘यी चुनौतीले मानव स्वास्थ्य र वातावरणलाई अन्योलतातर्फ धकेलेको छ, यसले स्थानीयस्तरमका लागि विस्तृत कार्यक्रमको आवश्यकता औँल्याएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हाम्रो स्वास्थ्य प्रणाली र सामुदायलाई सशक्त बनाउन अनुसन्धान, नवीनता खोज र स्थानीय ज्ञानको उपयोग गर्नुपर्छ।’

जलवायु परिवर्तनको असर पृथ्वीका हरेक कुनामा देखापरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनले निम्त्याएका चुनौतीहरू समाज, स्वास्थ्य र प्राकृतिक वातावरणलाई असर गरेको बताए।

‘जलवायु वैज्ञानिकले स्पष्ट रूपमा भनेका छन्, एक दशमलव ५ डिग्री सेल्सियसको सीमालाई पार गर्न हरितगृह ग्यास उत्सर्जनलाई उल्लेखनीय रूपमा घटाउनुपर्छ,’ प्रधानमन्त्रीले भने,  ‘विशेषगरी हाम्रो जस्तो अतिकम विकसित एवं पहाडी मुलुकका लागि जलवायु परिवर्तनको कठोर वास्तविकता मात्र नभई त्यसका परिणामहरू ज्यादै महत्त्वपूर्ण छन्।’

पहिरो, बाढी, वनजंगलको आगलागी, हिमतालको विस्फोट र खडेरीहरू बारम्बार र भयावह हुँदै गएको उल्लेख गर्दै प्रधामन्त्री प्रचण्डले भने, ‘यस्ता प्रकोपले सबैभन्दा कमजोरलाई असर गरेको छ, यहाँका गरिब, महिला, बालबालिका र आदिवासी एवं जतीय समूह मारमा पारेका छन्।’

पछिल्ला प्रतिवेदनअनुसार प्राकृतिक हिमशृंखला र विश्वव्यापी स्रोतहरूको एक तिहाइ गुमेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ता हानीनोक्सानीले जैविक विविधतालाई मात्र नभइ तटीय क्षेत्रमा रहेका अर्बौ मानिसहरूको जीविकोपार्जनलाई खतरामा पारेको बताए।

प्रकाशित: १ चैत २०८० ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =