रित्तिँदै हिमाल, सुके पानीका मुहान

विवेक विवश रेग्मी २४ माघ २०८० २१:१३
74
SHARES
रित्तिँदै हिमाल, सुके पानीका मुहान हिउँ नपर्दा कालो चट्टान जस्तै देखिएको कञ्चनजंघा हिमशिखर । फाइल तस्बिरः रासस

इटहरी- अघिल्ला वर्षहरूमा पुसमै हिउँ परे पनि यस वर्ष माघ बित्न लाग्दासम्म हिउँ नपरेको जानकारहरू बताउँछन्। सगरमाथा क्षेत्रमै पर्ने सोलुखुम्बुमा समेत हिउँ नपर्दा बालीनाली उत्पादनदेखि कृषि क्षेत्रमा समस्या भइरहेको स्थानीयको गुनासो छ।

सगरमाथाको आधार शिविरमा राखिएको मौसम मापन केन्द्रले यस वर्ष सगरमाथाको सीमा रेखा माथि सरेको जनाएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमासमेत यस वर्ष अघिल्लो वर्षजस्तो हिउँ नपरेको त्यहाँका स्थानीय बासिन्दा बताउँछन्।

जानकारहरूका अनुसार सामान्यतया हिमरेखा पाँच हजार पाँच सय मिटरदेखि पाँच हजार ६ सय मिटरसम्म हुन्छ। यस वर्ष खुम्बु क्षेत्रमा हिमरेखा ६ हजार मिटरमा रहेको मापन केन्द्रले जनाएको छ।

हिमताल विज्ञ मोहनबहादुर चन्द भन्छन्, ‘यस वर्ष हिमपात केही मात्रामा भयो। एकदमै थोरै भएको देखिएको छ। अघिल्ला वर्षहरूमा जुनजुन क्षेत्रमा हुन्थ्यो, ती क्षेत्रमा हिमपात भएको छैन।’

यस वर्ष माथिल्लो हिमाली भेग र उच्च पहाडमा छिटपुट हिमपात भए पनि जुन गहिराइ र उचाइमा हिमपात हुुनपर्थ्यो, त्यस किसिममा नभइरहेको चन्दले बताए। ‘थोरै मात्र हिमपात हुँदा धेरै हिमरेखा माथि गएको अनुभूति भएको छ। हिउँ कम पर्दा हिमाली क्षेत्रसहित तल्लो तटीय क्षेत्रमासमेत प्रभाव पार्छ,’ उनले भने, ‘तल्लो तटीय क्षेत्रमा बस्ने मानिसलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पानीको उपलब्धतामा फरक पार्छ।’

यस वर्ष सुख्खायाम बढेको र पानीे अभाव हुन सक्ने उनी बताउँछन्। समयमै हिउँ पर्दा पानीको मात्रा हिमाली, पहाडी, तराई हुँदै महासागरमा जान्छ। पर्याप्त हिउँ नपर्दा कृषि, सिँचाइ र जलस्रोतमा समेत समस्या हुनसक्ने विज्ञहरू बताउँछन्। हिमाली क्षेत्रमा हिउँ कम हुँदा कृषि उत्पादनदेखि हरेक क्षेत्रमा प्रभावित हुन सक्ने उनीहरूको भनाइ छ।

नेपालमा जलवायु परिवर्तनका कारण मौसममासमेत फेरबदल भएकाले अहिलेको समय अघिल्ला वर्षहरूजस्तो छैन। शिशिर ऋतु भए पनि अहिलेको मौसम शिशिर ऋतुजस्तो नरहेको विज्ञहरू बताउँछन्। बालीनालीमा असर, वनजंगलका बोटविरुवा मासिँदै जानु, तराई क्षेत्रमा भइरहेको वायुमण्डलीय प्रदूषणले प्रभाव पार्नु, पहाडी क्षेत्रमा पानीको मुहान सुक्नु, हिमाली क्षेत्रमा हिउँदको समयमासमेत हिउँ नपर्नु जस्ता कारणले वातावरणीय असर परेको छ।

जलवायु विज्ञ डा. ङमिन्द्र दाहाल भन्छन्, ‘जलवायु परिवर्तनका कारण बदलिएको मौसम परिवर्तनले सबै कुरा फेरबदल भएको छ। विश्वव्यापी तापमान र महादेशीय गडबडका कारण हिउँदे वर्षा भइरहेको छैन।’

आकाशमा बादल उत्पादन गर्ने र पानी ओसारपसार गर्ने प्रणालीले दिशा परिवर्तन गरेका कारण अहिले नेपालका हिमाली भेगमा हिउँ नपरेको, तराई क्षेत्रमा हिउँदे वर्षा नभएको र पहाडी क्षेत्रमा सुख्खायाम बढेको दाहाल बताउँछन्।

‘हावा जता बग्छ, बादल त्यतै जाने हो । नेपाल आउने प्रणालीले दिशा बदलेको छ। नेपाल आउने प्रणाली अरूतिरै सर्‍यो,’ दाहाल भन्छन्, ‘त्यसैकारण पनि जैविक विविधतामा असर परिरहेको छ।’

जलवायु परिवर्तन के कारणले भइरहेको छ भन्ने विषयमा पनि खोजी गर्न आवश्यक रहेको उनले बताए। ‘जलवायु परिवर्तन हाम्रो मुलुकको कारण भएको होइन। यसमा अन्य मुलुकको जिम्मेवारी बढी छ,’ उनी भन्छन्, ‘हामीले जलवायु परिवर्तनको कमी गर्न नसकिए पनि वृद्धि गर्न नदिन पूर्वतयारी गर्नुपर्छ ।’

महिना दिन वा वर्ष दिनको पानी एकैपटक पर्दा खराब परिस्थिति आउन सक्ने भएकाले त्यसतर्फ पूर्वतयारी गर्नुपर्ने उनको सुझाव छ। होचो ठाउँ डुब्ने भएकाले पानीबाट बाँच्नुपर्ने र पानीलाई पनि जोगाउनुपर्ने उनले बताए। ‘जलवायु परिवर्तन आजको समस्या होइन तर अहिलेको अवस्थामा वर्षा र तापक्रमको घटबढका कारण समस्या भइरहेको हो,’ उनले भने।

जलवायु परिवर्तनले मौसममा प्रभाव पार्दा कृषि, जलस्रोत, ऊर्जा, वन, वनस्पति र जैविक विविधतामा असर पारिरहेको दाहाल बताउँछन्। कोशी प्रदेशको हकमा हिउँदको समयमा तराई क्षेत्रमा, पहाडी क्षेत्रभन्दा बढी चिसो हुनु पनि ‘जलवायु परिवर्तनको कारण पनि’ रहेको उनको तर्क छ। कोशी प्रदेशमा हिमाली, पहाडी र तराई क्षेत्र रहेको र तीनै क्षेत्रमा जलवायु परिवर्तनको प्रत्यक्ष असर रहेको उनी बताउँछन्।

‘पहाडभन्दा तराई न्यानो र पहाड चिसो हुन्छ भन्ने प्रचलन थियो। हिउँदमा तराईमा झनै चिसो हुन थाल्यो। यो भनेको जलवायु परिवर्तनको कारण पनि हो,’ दाहालले भने, ‘मध्यपहाडमा बालीनाली उत्पादनमा समस्या भइरहेको छ भने पानीका मूल सुक्न थालेका छन्।’ हिउँदमै पर्नुपर्ने हिउँ नपर्दा हिमाल रित्ता भएको उनले बताए।

तराईमा वायुमण्डलीय प्रदूषणका कारण हिउँदको समयमा पहाडभन्दा चिसो भएको उनी बताउँछन्। नेपालमा औसत ०.०६ डिग्री सेल्सियसले प्रतिवर्ष तापक्रम वृद्धि हुँदै आइरहेको छ। यो तापक्रम प्रतिवर्षको वृद्धि रहेकाले ठूलो कुरा नभएको विज्ञ दाहाल बताउँछन्।

‘तापक्रम वृद्धि के हो भने शरीरमा हातको तापक्रम मापन गर्दा चिसो पानीले हात धुने र तातो पानीले हात धुने क्रममा फरक हुन्छ। औसत तापक्रम मुटुको तापक्रमजस्तै हो। शरीरको तापक्रमजस्तै हो,’ उनले भने, ‘हामीले बिहानको समयमा १० डिग्री सेल्सियसको तापक्रम शरीरले पाउँदा दिउँसो ४० डिग्री सेल्सियससम्म पाउँछ। यो प्रतिवर्ष १ डिग्री पनि वृद्धि नहुनु ठूलो कुरा होइन।’ उनले प्रतिवर्ष हुने तापक्रम वृद्धिले खासै प्रभाव नपार्ने बताए।

होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलिया भन्छन्, ‘जलवायु परिवर्तनको असर सबैभन्दा बढी किसानमा देखिइरहेको छ। कृषि पेसामा देखापरेको जोखिमलाई कसरी निराकरण गर्ने भन्ने विषयमा पनि केन्द्रित हुनुपर्छ।’

जलवायु परिवर्तनले हिमाल, पहाड र तराई क्षेत्रमै नकारात्मक असर पुर्‍याउन थालेको उनको भनाइ छ। पछिल्लो समय हिउँदे वर्षा नहुँदा हिउँदे बालीनालीमा असर परेको र किसानले खेती गर्नै समस्या भइरहेको थपलिया बताउँछन्।

थपलियाले भने, ‘किसानले खेती गर्न छाडेको दिनमा अवस्था के हुन्छ होला? किसानले आफूलाई चाहिने मात्रै उत्पादन गर्‍यो भने बाँकी मान्छेले के खाला? हामी सबैका माझमा यस्तो गम्भीर प्रश्न आएको छ।’

उनले किसानहरूको भावना, किसानहरूको अधिकार, किसानहरूको सुरक्षा, किसानहरूका लागि प्रवर्द्धनका कार्यक्रम ल्याउन आवश्यक रहेको सुनाए। उनी भन्छन्, ‘हामीले हाम्रा किसानलाई व्यावसायिक रूपमा प्रवर्द्धन गर्न सकेनौँ भने अबका दिनमा कृषि पेसा पूरै पुँजीपतिको हातमा गएर हाम्रा स्वरोजगार किसान आफ्नो कृषि पेसाका मालिक कृषि श्रमिकमा परिणत हुन बेर लाग्दैन।’

प्रकाशित: २४ माघ २०८० २१:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =