जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक

हिमाल प्रेस २७ मंसिर २०८० १५:२१
12
SHARES
जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक

काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) र प्राइस वाटर हाउस कोपर्स (पीडब्लूसी) भारतले संयुक्त रूपमा तयार पारेको जलवायु परिवर्तनको प्रभाव र नेपालमा व्यवसाय अनुकूलनसम्बन्धी प्रतिवेदन सार्वजनिक गरिएको छ।

सीएनआई र पीडब्लूसीले तयार पारेको अध्ययन प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरिएको छ। अर्थतन्त्र र व्यवसायमा जलवायु परिवर्तनको प्रभाव सम्बोधन गर्ने नेपालको प्रयास र निजी क्षेत्रको पहलका रूपमा यसलाई महत्त्वपूर्ण मानिएको छ।

अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनका कारण नेपालका ठूला तथा साना उद्योगहरूले सामना गर्ने जोखिम तथा समाधानका उपायहरू सुझाइएको छ। यसले व्यवसायलाई जलवायु परिवर्तनसँग अनुकूलन गर्न सहज वातावरण बनाउन, जोखिम न्यूनीकरण रणनीति अबलम्बन गर्न, मूल्य श्रृंखला एवं जलवायु अनुकूलनबाट उत्पन्न हुने अवसरहरू कसरी पूँजीकरण गर्न सकिन्छ भन्ने विषयहरू प्रतिवेदनमा समेटिएका छन्।

विश्वव्यापी जलवायु परिवर्तन र यसबाट नेपालले भोगेको असरका विषयमा नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा प्रभावकारी ढंगले उठाउँदै आएको सन्दर्भमा निजी क्षेत्रलेसमेत यसलाई उच्च प्राथमिकता दिएको छ। जलवायु परिवर्तनबाट सृजित चुनौतीको सामना गर्न सरकार, नागरिक समाज, व्यवसायिक क्षेत्रबीचको सहकार्य महत्त्वपूर्ण छ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले प्रतिवेदनले नेपाली व्यवसायहरूको लागि रोडम्याप तयार गर्न ठोस कदम र योजनाको रूपरेखा प्रस्तुत गरेको बताए। यसमा जोखिम न्यूनीकरण रणनीतिको रूपमा अनुकूलनलाई पछ्याउने र राष्ट्रिय जलवायु अनुकूलन प्रयासहरूलाई समर्थन गर्ने सरकार, बहुपक्षीय र द्विपक्षीय एजेन्सीहरू जस्ता विभिन्न सरोकारवालाहरूको भूमिकाका विषयसमेत समेटिएका छन्।

पीडब्ल्यूसी इन्डियाका प्रबन्ध निर्देशक जयवीर सिंहले प्रतिवेदनले एक लचिलो र दिगो व्यवसायीक वातावरण निर्माण गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे।

सीएनआईका उपाध्यक्ष निर्वाण चौधरीले विश्वव्यापी जलवायु परिवर्तनमा नगण्य भूमिका रहेको नेपाल जलवायु परिवर्तनबाट बढी प्रभावित राष्ट्रमध्ये एक रहेको बताए।जलवायु परिवर्तनको असर निकै प्रतिकूल हुने हुँदा जोखिम न्यूनीकरण रणनीति बनाउन यो प्रतिवेदन महत्वपूर्ण हुने उनको भनाइ छ। प्रतिवेदन नेपाल सरकार, सरोकारवाला सबैलाई महत्वपूर्ण दस्तावेज हुने विश्वास गरिएको छ।

प्रकाशित: २७ मंसिर २०८० १५:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =