प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : कांग्रेस र एमाले मिले भने अवस्था के होला?

हिमाल प्रेस ३० फागुन २०८० १३:०४
22
SHARES
प्रधानमन्त्रीलाई विश्वप्रकाशको प्रश्न : कांग्रेस र एमाले मिले भने अवस्था के होला?

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले आफूलाई धोका दिएको भन्ने भनाइप्रति आपत्ति जनाएका छन्। शर्माले आज बुधबारको प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको प्रस्तावमाथिको छलफलमा क्रममा धोका पाएकाहरू एक भए अवस्था के होला भन्दै प्रश्न पनि गरेका छन्।

‘पोहोर एमाले विपक्षमा रहेको, अहिले कांग्रेस विपक्षमा रहेको। पक्षको मात्रै जोड्दै गर्दा पालैपालो विपक्षमा रहेको क्लियर हुँदैन र हिसाब ? धोका खाएकाहरू एकै ठाउँमा उभिए भने नि, धोका खाएकाहरू एक हौँ भनेर नारा लाग्यो भने नि ?,’ उनले भने, ‘तब राजनेताको गद्दीको हालत के होला सम्माननीय प्रधानमन्त्रीज्यू ? अघि यहाँले कांग्रेसको कसैलाई राजनेता भन्नुभएको छ।’

शर्माले पहिले धोका पाएको नेकपा एमाल र कांग्रेस मिले के होला भन्दै सोधेका हुन्। शर्माले एमाले र कांग्रेसबीच सहमति भए दाहालको प्रधानमन्त्री पद के होला भन्ने प्रश्न पनि गरे। ‘कुरा नचल्ने भनेर भन्नुभो पूर्वपधानमन्त्रीज्यूले, तलबाट हाम्रा सभापतिज्यूले इसारा गरेर कुरा चल्ने हो भन्नुभयो,’ उनले भने, ‘कुरा नचल्नेहरूको कुरा चल्न सुरु गर्‍यो भने यहाँको यात्राचाहिँ कता चल्छ होला प्रधानमन्त्रीज्यू ?’

शर्माले पार्टीको महासचिमि बैठकको विषयमा प्रधानमन्त्रीको आपत्ति नाजायज भएको पनि बताए। उनले कोशीमा माओवादी उम्मेदवारले राष्ट्रियसभा निर्वाचन हार्दा कांग्रेसलाई चित्त दुखेर महासमितिको डकुमेन्टमा लेख्ने हिम्मत राखेको बताएको छ। तर, रोल्पामा माओवादीले आफ्नो उमेदवार जिताउन गठबन्धन भए पनि कांग्रेसको प्रदेश सभापतिलाई चुनाव हराएको बिर्सिएको भन्दै प्रश्न उठाएको छ।

‘कोशीमा चित्त दुखेको कुरा स्वीकार गर्छौँ। कोसीमा जे भयो त्यसलाई ढाकछोप गरेर जाने हैन खुला संवादबाट समाधान गरेर जान चाहन्छौँ, महासमिति डकुमेन्टमा लेख्यौँ। हामीले आफू पराजित भएको अनुभूति गर्यौँ,’ उनले भने, ‘तर, रोल्पामा संघमा माओवादी पार्टीको मित्र यहाँ मन्त्री भएर मुस्कुराएर बस्दै गर्दा नेपाली कांग्रेसका प्रदेश कार्यसमितिको सभापति अमरसिंह पुन पराजित भए। अनि माओवादीका साथीहरू लाइन लागेर धारामा भोट हालेर जितेको कथा तपाईंको डकुमेन्टमा कही उल्लेख छ ?’

उनले दाहाललाई अरु पार्टीभित्रका बहसमा प्रवेश नगर्न चेतावनी दिएका छन्। सत्ता गठबन्धन छोड्दै गर्दा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले महासमिति बैठकस्थलमा हिन्दुराष्ट्रको स्टल राखेर हस्ताक्षर अभियान चलाएको भन्दै प्रश्न गरेका थिए।

 ‘प्रधानमन्त्रीज्यू, तपाईंहरूले गठबन्धन तोड्दै गर्दा नेपाली कांग्रेसको महासमिति बैठकमा स्टल राखेर हस्ताक्षर गर्दै हिन्दुराष्ट्रको अभियान चलाएको बताउनुभयो,’ शर्माले भने, ‘प्रधानमन्त्रीज्यू, नेपाली कांग्रेसले कुन विषयमा छलफल गर्ने, कुनमा नगर्ने भनेर देशको प्रधानमन्त्री समेत रहेको कुनै कम्युनिस्ट पार्टीको नेतालाई सोध्नुपर्ने हो ?’

‘राजतन्त्र, हिन्दुराष्ट्रकोृ मुद्दा बोक्ने राजेन्द्र लिङदेनलाई सरकारमा राख्नेले अर्को पार्टीले बहस गरेको विषयमा प्रश्न उठाउनु कति नैतिक थियो ?’ भनी उनले थप प्रश्न गरे।

‘राजातन्त्र फर्काउने, देशलाई हिन्दुराष्ट्र बनाउने र संघीयता खारेजीको माग गर्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग कुम जोडेर सरकारमा बस्ने अनि नेपाली कांग्रेसले बहस गर्‍यो भने प्रश्न उठाउनु कति नैतिक हुन्छ प्रधानमन्त्रीज्यू ?,’ शर्माले प्रश्न गरे।

प्रकाशित: ३० फागुन २०८० १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =