बहिष्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

हिमाल प्रेस २७ फागुन २०८० ८:००
52
SHARES
बहिष्कारको चेतावनीपछि गायिका एलिनाले मागिन् माफी

पोखरा- आफूलाई बहिष्कारसम्मको चेतावनीपछि गायिका एलिना चौहानले माफी मागेकी छन्। पर्वतको एक कार्यक्रममा साउन्ड टेक्निसियनसँग भनाभनको विषयलाई लिएर उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत आत्मालोचना गरेकी हुन्।

उनले उक्त दिन नहुनुपर्ने आकस्मिक घटना हुन पुगेको र सो घटनामा तत्कालीन समयमा आफू आवश्यकताभन्दा बढी प्रतिकारात्मक देखिन पुगेकोप्रति आत्मालोचना गर्दछु भनेकी छन्।

उनले भनेकी छन्, ‘मञ्चीय प्रस्तुतिका क्रममा साउन्ड इन्जिनियरबाट हुने गरेका सामान्य कमीकमजोरीलाई माइकबाटै राखिदिने स्वभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यसप्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु।’

तर टेक्निसियनले गायिका चौहानको प्रतिष्ठा गिराउने गरी ‘पहिले तपाईं आफ्नो भोकल क्लीयर गर्नू’ भन्ने अभिव्यक्तिबारे नजरअन्दाज गरिएको छ। गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउन्ड सिस्टम विषयलाई लिएर गायिका चौहान र जिके साउन्ड सिस्टमका साउन्ड टेक्निसियन भगवान् थापाबीच उत्पन्न विवाद भएको थियो। उनीहरूबीच विवादको भिडियो सामाजिक सञ्जालमा भाइरल छ।

एलिना चौहानलाई साउन्ड सिस्टम नदिने व्यवसायीको चेतावनी, यस्तो छ विवादको कारण

सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउन्ड सिस्टम व्यवसायीहरूले शनिबार विज्ञप्तिमार्फत आपत्ति जनाएका थिए। यहाँका ६ वटा साउन्ड सिस्टमहरूले गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रममा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका हुन्।

संयुक्त विज्ञप्ति जारी गर्नेमा जिके साउन्ड सिस्टमका संचालक गमबहादुर क्षत्रीसहित एसके साउन्ड लाइट एन्ड म्यूजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउन्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउन्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एन्ड साउन्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउन्ड सिस्टमका एविज गुरुङ हुन्।

जिके साउन्ड सिस्टमका सन्चालक गमबहादुर क्षत्रीले भने एलिनाले माफी मागेको भन्ने फेसबुकमा आएको देखे पनि यसबारे तत्काल माफी नदिने बताउँछन्। उनले एक दुई दिन पूर्वतिरका साउन्ड सिस्टम संचालकसँग पनि कुरा गर्ने र निर्णय गर्ने बताए।

प्रकाशित: २७ फागुन २०८० ८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =