एलिना चौहानलाई साउन्ड सिस्टम नदिने व्यवसायीको चेतावनी, यस्तो छ विवादको कारण

विजय नेपाल २६ फागुन २०८० १४:४२
136
SHARES
एलिना चौहानलाई साउन्ड सिस्टम नदिने व्यवसायीको चेतावनी, यस्तो छ विवादको कारण गायिका एलिना चौहान।

पोखरा- गायिका एलिना चौहान र साउन्ड टेक्निसियनबीचको विवाद अझै सेलाएको छैन। गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा साउन्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउन्ड टेक्निसियनबीच उत्पन्न विवाद सामाजिक सञ्जालमा भाइरल छ। सो घटनामा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउन्ड सिस्टम व्यवसायीले आपत्ति जनाएका छन्।

उनीहरूले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहान उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउन्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका छन्। त्यसका लागि गायिका चौहानले आफ्नो गल्तीको महसुस गरी माफी माग्नुपर्ने उनीहरूको सर्त छ।

‘आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउन्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिँदादिँदै झर्कने, रिसाउने, घुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाईँत्व देखाउने जस्ता क्रियाकलापले व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यस प्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउन्ड सिस्टम कम्पनी सञ्चालक, साउन्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउन्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारीसमेत गराउँछौँ।’

संयुक्त विज्ञप्ति जारी गर्नेमा जिके साउन्ड सिस्टमका सञ्चालक गमबहादुर क्षत्री, एसके साउन्ड लाइट एन्ड म्युजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउन्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउन्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एन्ड साउन्ड सिस्टम सर्भिसका विनित जोजिजू र एबिज साउन्ड सिस्टमका एबिज गुरुङ हुन्।

गायिका चौहानले कुश्मामा सञ्चालित कार्यक्रममा मात्रै नभई यसअघि पनि मञ्चमा थुप्रै पटक साउन्ड सिस्टमलाई सराप्ने र टेक्निसियनलाई गाली बेइज्जती गर्ने हर्कत गरिसकेको उनीहरूको आरोप छ। ‘जुन कार्यक्रममा गए पनि उनले ‘साउन्ड मिलेन’ भन्ने बानी नै परिसकेको छ। आफू चर्चित गायिका बनिसकेको आत्मरति र घमण्डले एलिनालाई नोक्सानी नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ’, विज्ञप्तिमा छ ।

भाइरल भिडियोको वास्तविकता के हो?

पर्वतको कुश्मास्थित पुन युवा क्लबले ४२ औँ मगर दिवस अवसरमा विगतका वर्ष झैँ यसपालि पनि मगर महोत्सव आयोजना गरेको थियो। तेस्रो संस्करणको ऐतिहासिक मगर राष्ट्रिय महोत्सव १५ फागुनदेखि सुरु भएको हो। महोत्सव शनिबार सकिँदैछ।

गायिका चौहान–टेक्निसियनबीच विवाद भने गत २० फागुन आइतबार राति पौने ९ बजेको हो। उक्त दिन चौहान अतिथि कलाकारका रूपमा डाकिएकी थिइन्। दिनभरि पानी परेर स्थगितझैँ थियो। राति कन्सर्ट पनि नगर्ने कि भन्ने तयारी हुँदा यति महत्त्वपूर्ण कलाकार ल्याएको र दर्शकले पनि हुटिङ गरेपछि चौहान स्टेज चढिन्। उनले ३/४ वटा गीत गाइसकेकी थिइन्। अन्त्यमा उनको बहुचर्चित गीत ‘धोकेबाज’ लाई वान्स मोर आएपछि फेरि गाउने भइन्।

त्यत्तिकैमा उनले टेक्निसियनलाई साउन्ड मिलाउन आग्रह गर्छिन्। जबाफमा ‘पहिले भोकल क्लियर गरेर हामीसँग लेबल माग्नू’ सुन्छिन्। उनी रिसले आगो हुन्छिन्।

उनले टेक्निसियनलाई जबाफ फर्काउँछिन्, ‘पहिला तपाईँको त्यो बोल्ने ढंग सुधार गर्नू, बुझ्नु भो। आफ्नो गल्ती छ। यहाँ आएर एकचोटि उफ्रेर हेर्नू त। तपाईँले मलाई सिकाउनु पर्दैन, बुझ्नू भो नि’ नाच्न जान्दैन आँगन टेढो भनेको यही हो। मिलाउन आउँदैन अनि लाज लाग्दैन यस्तो बोल्नलाई?’

जवाफमा टेक्निसियन फेरि बोलेको सुनिन्छ, ‘तपाईँले भन्दा हामीले धेरै काम गरिसकेका छौँ।’

सामाजिक सञ्जालमा भाइरल यो भिडियोमा दुवैको भनाभन सुन्न सकिन्छ। दर्शकले चर्को हुटिङ गरिरहेका छन्। उनीहरू टेक्सिसियनमाथि जाइलाग्न खोज्छन्। कार्यक्रम यत्तिकैमा स्थगित हुन्छ।

महोत्सवमा साउन्ड सिस्टम उपलब्ध गराउने जीके साउन्ड सिस्टम थियो। त्यहाँ साउन्ड टेक्निसियन थिए, भगवान् थापा। कम्पनीका सञ्चालक गमबहादुर क्षत्री टेक्निसियनको कुनै गल्ती नभएको दाबी गर्छन्। उनी भन्छन्, ‘१२ वर्षदेखि यही क्षेत्रमा काम गरेको भाइ हो। अनुभवी छन्। त्यसबेला पानी पनि परेको हुँदा समस्या उत्पन्न भएको हुन सक्छ। कलाकारले पनि बुझिदिनुपर्छ। दुनियाँ कलाकारलाई भयो, उहाँ (एलिना) लाई मात्र भएन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =