गण्डकी : ५० हजार रकमसहित १६ महिला सम्मानित

हिमाल प्रेस २५ फागुन २०८० १९:३३
24
SHARES
गण्डकी : ५० हजार रकमसहित १६ महिला सम्मानित

पोखरा- ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा गण्डकी प्रदेश सरकारले १६ जना महिलालाई सम्मान गरेको छ।

पोखरामा शुक्रबार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको समारोहमा उनीहरूलाई नगद ५० हजारसहित सम्मान गरिएको हो। कार्यक्रममा विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ७ महिला सहकारी संस्थालाई पनि सम्मान गरियो।

५० हजारसहित सम्मानित हुनेमा सामाजिक अभियन्ताद्वय कमला पराजुली, विना सिलवाल, साहसिक पर्यटनतर्फ कमला गिरी, फुन्जो झाङम लामा, पूर्णिमा श्रेष्ठ, मनु गुरुङ, दिकी ल्हमु लामा र नानुमाया गुरुङ सम्मानित भए। यस्तै खेलकुदतर्फ रेखमाया गुरुङ, भाषा संस्कृतितर्फ तारामाया थापा र उद्यमशीलतातर्फ चन्द्रकला राना, कान्छी गुरुङ र हिरा भट्टराई सम्मानित भए।

पत्रकारिता क्षेत्रबाट कान्तिपुरकी प्रतीक्षा काफ्ले, रेडियो सफलताकी दुर्गा अधिकारी र राससकी फोटो पत्रकार राधिका कँडेल सम्मानित भएका हुन्। यस्तै विभिन्न जिल्लाको प्रतिनिधित्व गर्दै उत्कृष्ट ६ महिला सहकारी संस्थालाई ७५ हजारसहित सम्मानपत्र दिइएको थियो।

प्रदेश नीति तथा योजना आयोग सदस्य सुवास अधिकारीले सरकारले पहिलो पटक विभिन्न क्षेत्रका क्रियाशील महिलालाई सम्मान दिएकोमा खुसी प्रकट गरे। मन्त्रालयका सचिव प्रकाश पौडेलले सम्मान कार्यक्रमलाई आगामी वर्षदेखि निरन्तरता दिने बताए। महिला दिवस अवसरमा शुक्रबार बिहान पोखरामा प्रभातफेरी भएको थियो।

प्रकाशित: २५ फागुन २०८० १९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =