सुदूरपश्‍चिमका मुख्यमन्त्री र मन्त्रीहरूलाई धनगढी उपमहानगरद्वारा सम्मान

हिमाल प्रेस २८ मंसिर २०७९ १७:४४
4
SHARES
सुदूरपश्‍चिमका मुख्यमन्त्री र मन्त्रीहरूलाई धनगढी उपमहानगरद्वारा सम्मान सम्मान ग्रहण गर्दै सुदूरपश्‍चिम सरकारका मुख्यमन्त्री, मन्त्री र कर्मचारीहरू। तस्बिर- पदमराज भट्ट/हिमाल प्रेस

धनगढी– कैलालीस्थित धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट र मन्त्रीहरूलाई सम्मान गर्दै धन्यवाद दिएको छ। मुख्यमन्त्री भट्टसँगै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिलामन्त्री प्रकाश रावल र प्रदेशका प्रमुख सचिव नारायण शर्मा दुवाडीलाई सम्मान गर्दै धन्यवाद दिएको हो।

उपमहानगरको आग्रहमा प्रदेश सरकारले धनगढीको कैलाली पुलदेखी क्याम्पस चोकसम्मको मुख्य सडक निर्माणका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरेपछि उपमहानगरले प्रदेशका मुख्यमन्त्री, मन्त्री र मुख्य सचिवलाई सम्मान गर्दै धन्यवाद दिएको हो।

बुधबार धनगढी उप महानगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रमबीच मेयर गोपाल हमाल र उपमेयर कन्दकला रानाले उनीहरूलाई सम्मान गरेका हुन्। सम्मान कार्यक्रममा बोल्दै मेयर हमालले सुदूरपश्चिम सरकारका मुख्यमन्त्री, मन्त्री र सचिवहरूलाई उपमहानगरसँगको सहकार्यका लागि धन्यवाद दिए।

उपमहानगरको बजेटले हुन नसक्ने काममा प्रदेश सरकारले सहयोग गरेर विकासमा हातेमालो गरेको भन्दै उनले आभारसमेत व्यक्त गरे। आगामी दिनमा यस्तै सहकार्य गर्न उनको आग्रह छ। सो सडक निर्माणका लागि उपमहानगरले सडक क्षेत्र खाली गरिरहेको छ।

अब सडक निर्माणका लागि १५ दिनभित्र टेन्डर निकाल्ने गरी सरकारले आन्तरिक तयारी थालेको छ। दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको तयारी भएको सडक समयभित्रै सुरु र सम्पन्न हुने प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री सोडारीले दाबी गरेका छन्।

‘धनगढीको बजार क्षेत्र भत्काउन समस्या थियो,’ उनले भने,’ सो समस्या उपमहानगरले हल गरिरहेको छ, अब हामीले काम चाँडै नै सुरु गर्छौं र २ वर्षभित्र सडक निर्माण सम्पन्न गर्छौं।’

कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री भट्टले प्रदेशको राजधानी रहेको धनगढीमा ठूलो योजना लागू गर्न सक्नु गौरवको विषय रहेको बताए। ‘हामीले विशेषगरी दुर्गम पहाडी जिल्लामा विकासका धेरै काम अगाडि बढाएका छौं,’ उनले भने, ‘पहाडी जिल्लामा सडक, पुल, स्वास्थ्यचौकी, विद्यालयलगायत निकै विकास भएको छ, तराईका जिल्लामा नभएको होइन तर पहाडीभन्दा केही कम छ, र सकेसम्म प्रदेश सरकारले जनताका अपेक्षा पुरा गर्ने कोशिस गरेको छ।’

प्रकाशित: २८ मंसिर २०७९ १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =