मिटरब्याजपीडितका माग तत्काल सम्बोधन गर्न सरकारलाई बाबुरामको आग्रह

हिमाल प्रेस २४ फागुन २०८० १७:३५
30
SHARES
मिटरब्याजपीडितका माग तत्काल सम्बोधन गर्न सरकारलाई बाबुरामको आग्रह

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा.बाबुराम भट्टराईले मिटरब्याजपीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्। काठमाडौँको भृकुटीमण्डपमा बिहीबार डा.भट्टराईले मिटरब्याजपीडितका माग तत्काल सम्बाेधन गर्न सरकारलाई आग्रह गरे।

भृकुटीमण्डपबाट र्‍यालीसहित भद्रकाली पुगेका डा.भट्टराईले गरिब निमुखालाई ऋण दिएर तीनगुना ज्यादा असुल गर्ने र नभए घरजग्गा कब्जा गर्ने अपराध रोकिनुपर्ने बताए।

‘शोषित, उत्पीडित जनताको संघर्ष कहिल्यै पनि टुंगिदैन। आंशिक रूपमा हामीले थोरै अधिकार त पायौं, पूर्ण अधिकार पाएको छैन। हिजोका क्रान्तिकारी साथीहरू सत्तामा गएर आज करोडपति, अरबपति बन्नुभएको छ। हिजो चप्पल लगाएर हिँड्ने साथीहरू आज ठूलाठूला महलमा बस्नुहुन्छ। ठूलाठूला ठेकेदारले दिएको आलिसान महलमा बस्नुहुन्छ। उहाँहरूले किनिदिएका ठूला गाडी चढेर हिँड्नुहुन्छ। अहिले तपाईंहरूलाई बिर्सिनुभएको छ,’ डा.भट्टराईले भने।

उनले विभिन्न जिल्लाबाट काठमाडौँ आएका मिटरब्याजपीडितको समस्या सरकारले तत्काल समाधान गर्नुपर्ने बताए। डा.भट्टराईले माग पूरा हुन नसके मिटरब्याजपीडितलगायतले नयाँ  विद्रोह गर्नुपर्ने अवस्था आउन सक्ने बताए।

उनले भने,‘प्रधानमन्त्री प्रचण्डलाई,सत्ता सम्हालीरहेका कम्युनिस्ट र राजनीतिमा आउनुभएका नयाँ साथीहरूलाई आग्रह गर्न चाहन्छु, जनताको यो सडक संघर्ष तपाईंहरूको विरुद्धमा होइन, तपाईंहरूले सत्तामा बस्ने जुन अधिकार पाउनुभएको छ,यदि देशप्रति तपाईंहरू इमान्दार हुनुहुन्छ भने, मजदुर, किसानका लागि केही गर्न चाहनुहुन्छ भने यी मजदुर किसानको आन्दोलनले बल पुग्छ। त्यो बल पुर्‍याउन हामीहरू आएका हौँ। तपाईंहरूले हिजोका वाचा बिर्सिएर यिनै किसान, मजदुरले तपाईंहरूलाई लगाएको गुणलाई बिर्सिएर ठूलाठालु, कमिसनखोरहरूको पक्षमा लाग्नुहुन्छ भने किसान दाजुभाइ दिदीबहिनीहरूले एउटा विद्रोह गर्नुपर्ने हुनसक्छ। त्यसको निम्ति तपाईंहरू तयार हुनुपर्छ।’

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्ने लगायतका ६ बुँदे मागसहित उनीहरू काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

प्रकाशित: २४ फागुन २०८० १७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − nine =