कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : इमान नभएका बेइमान

हिमाल प्रेस २४ फागुन २०८० १३:३३
28
SHARES
कांग्रेसले प्रधानमन्त्रीलाई भन्यो : इमान नभएका बेइमान

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, गठबन्धनमा भएका सहमतिहरू तोडेर, एकतर्फी रुपले, अविश्वसनीय ढंगले गठबन्धन तोडेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्रीको कदम संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध मात्रै कुठाराघात भएको पनि बताए। उनले भने, ‘जनताका बीचमा गरेका वाचाहरू, नेपाली जनताका बीचमा बोलेका बचनबद्धताहरू, ती प्रतिज्ञाहरूलाई बेवास्ता गर्दा नेपाली कांग्रेसका प्रति मात्रै बेवास्ता होइन, नेपाली कांग्रेसका प्रति मात्रै विश्वासघात होइन। यो संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाका विरुद्ध मात्रै कुठाराघात होइन।’

‘गएको निर्वाचनमा जनताका बीचमा प्रतिबद्धता व्यक्त गरेर अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो भन्ने हाम्रो ठहर छ’, लेखकले भने।

उनले कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई भनेको राजनीतिक बेइमानी भन्ने निर्णयको पनि बचाउ गरे। भने, ‘यसरी नेपाली जनताको जनमतको अपमान गर्दै कपोलकल्पित कथाहरू, तथाकथित कारणहरू, सानातिना मुद्दाहरू उचालेर आफ्ना जिम्मेवारीहरूबाट भाग्ने, गठबन्धनलाई भत्काउने र अविश्वसनीय काम गर्ने जुन काम गरियो, त्यसलाई हामीले कठोरतापूर्वक, निर्ममतापूर्वक राजनीतिक विषय भएको हुनाले भन्नैपर्‍यो, यो राजनीतिक बेइमानी हो। भनिएको हो। इमान नभएकै कारण प्रधानमन्त्रीलाई बेइमान भनिएको हो।’

चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको उनले बताए। ‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने।

व्यक्तिगत रुपले हाम्रो सम्बन्ध यथावत रहेको भन्दै उनले भने, ‘यो सदनमा रहेका सबैप्रति मेरो व्यक्तिगत सम्मान छ। सबै साथीका प्रति सम्मान छ।’

राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको आरोप लगाए। ‘अरु कुरा पनि चाहिन्छ भनेर उहाँले भनेको स्वीकार गर्दै प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो निष्कर्ष हो,’ उनले भने।

‘नेपाली जनताको जनमतको अपमान गर्दै तथाकथित कारण निकाल्दै, अविश्वसनीय काम गरियो त्यसलाई कठोरतापूर्वक, निर्ममतापूर्व भन्नैपर्यो, यो राजनीतिक बेइमानी हो। भनिएको हो।’

उनले प्रधानमन्त्री प्रचण्डले सुनेको निष्कर्ष सहि भएको पनि बताए। आजै बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डले राजनीतिक बेइमान गरेको निष्कर्ष निकालेको थियो।

सो बारे संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जिज्ञासा राखेका थिए। उनको जिज्ञासा मेटाउँदै लेखकले भने, ‘प्रधानमन्त्रीज्यूले आज बिहान जे सुन्नुभयो त्यो सत्य हो। राजनीतिक इमान भएन, त्यही भएर बेइमानी भनिएको हो।’

प्रकाशित: २४ फागुन २०८० १३:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + six =