मुलुकको भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर काम गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ

हिमाल प्रेस २३ फागुन २०८० २२:३६
46
SHARES
मुलुकको भूराजनीतिक परिस्थितिलाई ध्यानमा राखेर काम गरौँ : परराष्ट्रमन्त्री श्रेष्ठ उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- नारायणकाजी श्रेष्ठले दोस्रोपटक परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। श्रेष्ठले बुधबार उपपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको शपथ लिएर कार्यभार सम्हालेका हुन्। उनी पहिलोपटक डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री भएका थिए। करिब १० महिना परराष्ट्रमन्त्री हुँदा श्रेष्ठले परराष्ट्रमा सकारात्मक कामको थालनी गरेका थिए।

आफ्नो छोटो कार्यकालमा पनि श्रेष्ठले विदेश सम्बन्धमा राम्रो प्रभाव जमाएका थिए। तत्कालीन प्रधानमन्त्री भट्टराईसँग मन्त्रिपरिषद्मा केही विवाद भए पनि श्रेष्ठले आफ्नो उत्तरदायित्व राम्रैसँग निर्वाह गरेका थिए। त्यसैले उनलाई सफल परराष्ट्रमन्त्रीका रूपमा लिने गरिन्छ।

श्रेष्ठले आफ्नो कार्यकालमा कूटनीतिक आचारसंहिता जारी गर्ने र परराष्ट्र मन्त्रालयमार्फत मात्र विदेशीसँग समन्वय गर्ने जस्ता कार्य लागू गराएका थिए। उनकै कार्यकालमा कर्मचारीलाई वा अन्य नेताहरूले जथाभाबी विदेशी भेट्ने प्रोटोकललाई ध्यान नदिने जस्ता कार्य रोक्ने प्रयास गरेका थिए। राजदूत नियुक्तिमा पनि परराष्ट्रभित्र काम गरेका र राम्रो नतिजा दिएका प्राथमिकतामा परेका थिए।

श्रेष्ठले नै परराष्ट्र सचिव हुने व्यक्ति राजदूत हुनैपर्छ भनेर न्युयोर्कमा नियोग उपप्रमुख रहेका शंकरदास बैरागीलाई जेनेभाको राजदूत सिफारिस गरेका थिए। त्यतिबेला बैरागी निर्विकल्प परराष्ट्र सचिवको लाइनमा थिए। राजदूत नभई सचिव हुँदा विदेशीसँग द्विपक्षीय सम्बन्ध सुधारमा कठिन हुने उनको बुझाइ थियो।

परराष्ट्रमन्त्री श्रेष्ठ कर्मचारीले जे भन्यो त्यही सदर गर्दैनन्। आफैँ अध्ययन गर्ने र त्यसको निक्र्योल निकालेर मात्र जवाफ दिने उनको स्वभाव छ। उनले अहिलेको कार्यकालमा पनि विगतमा आफूले थालनी गरेका सुधार प्रयासलाई सबल बनाउँदै जाने बताएका छन्।

कसैलाई जागिर दिनका लागि खोल्ने दूतावास बन्द गराउनेदेखि काम नभएका दूतावास बन्द गर्दै राजदूत फिर्ता बोलाउने काम परराष्ट्रमन्त्री श्रेष्ठले गर्नेछन्। उनी कूटनीति र अर्थनीति बुझेको व्यक्तिलाई मात्रै राजदूतका रूपमा पठाउने पक्षमा छन्।

सेना, सशस्त्र र प्रहरीमा विदेशीको प्रभाव रहेको बुझिसकेका श्रेष्ठले त्यसमा पनि अंकुश लगाउने बताएका छन्। भारत र चीनमात्र नभई पश्चिमालाई पनि राम्रोसँग बुझेका श्रेष्ठले मन्त्रालयमा बुधबार साँझ पदभार ग्रहण गर्दै भने, ‘मुलुकको हितको काम गर्न हामी आएका छौँ। इमानदार भएर काम गर्न आवश्यक छ।’

श्रेष्ठलाई परराष्ट्र मन्त्रालयमा सचिव सेवा लम्साल र सहसचिवहरूले स्वागत गरेका थिए। उनले मुलुकको भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर काम गर्न सबैलाई आग्रह गरेका छन्।

सरकारका प्रमुख चार प्राथमिकता रहेको उनले सुनाएका छन्। उनले भने, ‘शान्तिप्रक्रियाको बाँकी रहेका काम, विकास प्रक्रिया, राष्ट्रिय हितको प्रवद्र्धन र सम्बन्धको विकास प्रमुख प्राथमिकताका विषय हुन्।’ मन्त्रालयमा उपस्थित सबैलाई इमानदार भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न भनेका छन्।

उपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले आफू पुनः आफ्नै घर आएझैँ लागेको र सबैलाई देख्दा खुसी लागेको भन्दै भावुकसमेत भए। यसअघि श्रेष्ठ बुधबार दिउँसो गृह मन्त्रालयबाट बिदाइ भएका थिए।

श्रेष्ठले भारत, चीन र अमेरिकासँगको सन्तुलन मिलाउन प्रभावकारी भूमिका खेल्ने बताए। उनले भने, ‘सार्क र बिमस्टेकको अवस्थामा पनि ध्यान दिनुपर्ने देखिन्छ।’ मन्त्री श्रेष्ठले निष्ठावान् भएर काम गर्न कर्मचारीहरूलाई आग्रह गरे। ‘सरकारको पहिलो प्राथमिकता सार्वभौमिकता, स्वाधीनता र मुलुकको रक्षाको विषय रहेको हुन्छ। यसमा हरेक नागरिक जिम्मेवार हुनुपर्छ। त्यसमा पनि सरकार र सरकार भित्र परराष्ट्र मन्त्रालयको ध्यान बढी नै हुन आवश्यक छ।’

मन्त्री श्रेष्ठले राष्ट्रिय हितलाई ध्यानमा राखेर स्वतन्त्र परराष्ट्र नीति अवलम्बनमा ध्यान दिने बताए। ‘असंलग्नताको मूल्यमान्यता राखेर राष्ट्रिय हितमा नै जोड दिने सरकारको मुख्य लक्ष्य छ’, उनले भने। साथै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गरिरहँदा कूटनीतिक दक्षता र लगनशीलताले मात्र सम्भव रहेको उनको भनाइ छ। उनले भने, ‘आजको विश्वमा कूटनीतिको महत्त्व असाधारण छ। कूटनीतिक श्रेष्ठताका माध्यमबाट मात्र गर्न सक्छौँ। त्यसमा पनि हाम्रो जस्तो भूराजनीतिक अवस्थामा रहेको मुलुकमा अवसर र चुनौती दुवै छन्। चुनौती चिर्दै अगाडि जानु छ।’

परराष्ट्रमन्त्री श्रेष्ठले दुई छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई अझ माथिल्लो तहमा लैजान आवश्यक रहेकोमा जोड दिए। साथै उनले नेपालले विश्वका सबै शक्तिशाली मुलुक र सबै मित्रसँग राम्रो सम्बन्ध बनाउन ध्यान दिनुुपर्ने उनले बताए।

नेपालीहरू वैदेशिक रोजगारीमा भएका सबै नेपालीको हितको रक्षा गर्ने कुरालाई आफ्नो कार्यभारको अभिन्न अंगका रूपमा लिइने श्रेष्ठले बताए। ‘हामी मुलुकको देशको प्रमुख राष्ट्रिय कार्यभारलाई लिएर काम गरिरहेका छौँ। विकास र समृद्धिलाई फड्को मार्ने हो। त्यही आयामको सामाजिक र आर्थिक रूपान्तरणमा फड्को मार्न मन्त्रालयले इकोनोमी डिप्लोमेसीलाई ध्यान दिनेछौँ’, उनले भने।

गैरआवासीय नेपालीको भौतिक र बौद्धिक सम्पत्तिलाई मुलुक विकासको निम्ति परिचालन गर्न प्रोत्साहित गर्ने पनि उनले बताए। ‘कूटनीतिक आचारसंहिता सामान्य रूपमा लिने मात्र होइन यसको कार्यान्वयनको प्रश्न मुलुकको राष्ट्रिय सुरक्षासँग पनि जोडिएको हुन्छ’, मन्त्री श्रेष्ठले भने। राष्ट्रिय महत्त्वका विषयमा प्रभावकारी समन्वयका साथ अघि बढ्ने पनि उनले बताए।

साथै परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई क्षेत्रगत विकास गरिने उनको भनाइ छ। मन्त्री श्रेष्ठले वैदेशिक सहयोगका सन्दर्भमा मुलुकको राष्ट्रिय हित अनुकूल हुने गरी स्वीकार गरिने बताए। ‘सहयोग लिँदा राष्ट्रिय हितमा कुनै कम्प्रोमाइज नगरी नेपालको बजेटरी प्रणालीभित्र ल्याउनेछाैँ, उनले भने।

परराष्ट्रमन्त्री श्रेष्ठले योग र ध्यानमा पनि जोड दिए। उनले भने, ‘सबैलाई योग गरेर सोच्न आवश्यक हुन्छ। १५ मिनेट योग गर्नुभयो भने काम राम्रो हुन्छ’, उनले भने। असल र सिर्जना बढाउने जस्ता काम गर्ने हुनाले योगमा ध्यान दिन पनि आग्रह गरे। मन्त्री श्रेष्ठले आफू ध्यानको प्रचार गर्ने राम्रो थलोमा आएको पनि बताए।

प्रकाशित: २३ फागुन २०८० २२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =