रोजगारीका लागि इजरायल जान पाउने भए नेपाली

हिमाल प्रेस २३ फागुन २०८० २१:३५
20
SHARES
रोजगारीका लागि इजरायल जान पाउने भए नेपाली

काठमाडौँ- इजरायल-हमास युद्धका कारण लामो समय रोकिएको इजरायलमा नेपालीहरू रोजगारीका लागि जान पाउने भएका छन्। युद्ध सुरु भएपछि इजरायलमा कामदार पठाउन बन्द गरिएको थियो।

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रुपमा काम गर्न जाने तयारीमा रहेका ४ सय २५ युवामध्ये १६ जनाको करार सम्झौता आएको वैदेशिक रोजगार विभाग, इजरायल शाखाले जनाएको छ।

दुई वर्षअघि इजरायलको केयरगिभरमा सहायक कामदारका लागि ९ हजार ६ सय ९९ जनाले निवेदन दिएका थिए। तीमध्ये १ हजार ६ सय जना कामदार छनोट भएका थिए। विभागका अनुसार छनोटमा परेका १ हजार १७५ मध्ये बाँकी रहेका ४२५ जाने क्रम सुरु भएको हो।

इजरायल शाखाका निर्देशक गोपालराज तिमिल्सिनाले आइतबारसम्म १६ जना नेपाली युवाको करार सम्झौता आएको जानकारी दिए। उनका अनुसार इजरायल जान छनोट भएका तर लट्रीमा नपरेका ४२५ युवाको करार सम्झौतासमेत भएको छ। विगतमा छनोटमा परेर लट्रीमा फालिएका नेपालीलाई पठाउन अनुरोध गरेपछि यसको प्रक्रियाअघि बढाइएको उनले बताए।

इजरायल युद्ध हुनुअघि नेपालबाट २ चरणमा १ हजार नेपाली केयर गिभरमा लैजाने भएको थियो। इजरायलले थप ५ सय नेपालीलाई रोजगारीको अवसर दिने प्रतिबद्धता जनाएपछि थप नेपाली पठाउन गृहकार्य थालेको विभागले जनाएको छ। इजरायलले केयरगिभरका रूपमा नेपालबाट ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष माग गर्दै आएको छ।

नेपाल सरकार र इजरायल सरकारका बीचमा सम्पन्न द्विपक्षीय समझदारीअनुरूप इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा काम गर्न जाने क्रममा इजरायलका रोजगारदाताले धमाधम सम्झौता गर्न थालेका छन्। विभागका अनुसार अब नियमित रूपमा करार सम्झौता आउनेछ।

इजरायल रोजगारीमा कार्यरत नेपाली कामदारको मासिक १ हजार ६ सय अमेरिकी डलर अर्थात् १ लाख ९० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने गरेका छन्। चालु आर्थिक वर्षमा नेपालबाट रोजगारीका लागि इजरायल जाने श्रमिकको संख्या उल्लेख वृद्धि भएपछ रेमिटेन्स पनि बढेको छ।

प्रकाशित: २३ फागुन २०८० २१:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =