यूएसएआईडीले सबै प्रदेशका विद्यार्थीलाई सहयोग गर्ने

हिमाल प्रेस २० फागुन २०८० १९:५८
यूएसएआईडीले सबै प्रदेशका विद्यार्थीलाई सहयोग गर्ने

काठमाडौँ- अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विशेषतः सीमान्तकृत युवा तथा प्रारम्भिक कक्षाका विद्यार्थीप्रति केन्द्रित हुने गरी गुणस्तरीय शिक्षामा नेपालका बालबालिकाको पहुँच विस्तार गर्न पाँच वर्षको अवधिमा करिब ११ अर्ब रुपैयाँसम्मको सहायता प्रदान गर्ने उद्‍घोष गरेको छ।

उक्त सहायता रकम कोषको उपलब्धतामाथि निर्भर रहनेछ। यस सहायता विस्तारले नेपालका विकास लक्ष्यहरूप्रति नेपाल र अमेरिकाको साझा समर्पणलाई पुनः पुष्टि गर्दै दुई देशबिच विद्यमान साझेदारीलाई थप मजबुत बनाएको छ।

काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै यूएसएआईडीको एसिया ब्युरो हेर्ने वरिष्ठ उपसहायक प्रमुख जेना सलाहीले भने, ‘नेपालको विकास यात्रामा यूएसएआईडी ७० वर्षभन्दा लामो समयदेखि अडिग साझेदारको रूपमा रहेको छ।’

उक्त कोषले यी तीन कार्यक्रममा सहयोग गर्ने बताइएको छ।

प्रारम्भिक कक्षा सिकाइ

कक्षा १-३ सम्मका बालबालिकाको सिकाइ प्रतिफलमा सुधार ल्याउन यूएसएआईडीले आगामी पाँच वर्ष नेपालका सातवटै प्रदेशका स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ।

विविध पृष्ठभूमि र क्षमताका विद्यार्थीसँग काम गर्न शिक्षकशिक्षिका अझ सुसज्जित होउन् भन्ने हेतु शिक्षक तालिमलाई परिमार्जन गर्न यूएसएआईडीले स्थानीय सरकारहरूसँग सहकार्य गर्नेछ । त्यसका साथै यूएसएआईडीले सीमान्तकृत समुदायहरूमा रहेका न्यून उपलब्धिमूलक विद्यालयमा पाठ्यपुस्तक, शौचालय, पुस्तक कुना र कक्षाकोठा सुधारलगायतका विविध आवश्यकताहरूमा सहयोग पुर्‍याउने प्रत्यक्ष अनुदान पनि उपलब्ध गराउनेछ ।

शिक्षा क्षेत्रीय प्रत्यक्ष वित्तपोषण

यूएसएआईडीले सबै प्रदेशमा कक्षा १-१० सम्मका विद्यार्थीलाई सहयोग गर्ने संघीय, प्रादेशिक तथा पालिका सरकारहरूको क्षमतालाई मजबुत बनाउने छ।

नेपालको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई योजना तर्जुमा र बजेट निर्माणका साथै पहुँच अभिवृद्धि, समता तथा समावेशीकरणको प्रवर्द्धन र शिक्षा प्रणालीको उत्थानशीलता सुदृढ गर्नेसँग सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयनमा पनि यूएसएआईडीले सहयोग गर्ने जनाएको छ।

समतामूलक तथा समावेशी शिक्षा
आफ्नो शिक्षा अपूरै छोड्ने सर्वाधिक जोखिममा रहेका युवामा ध्यान केन्द्रित गर्दै यूएसएआईडीले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठामा फिर्ता ल्याउनेछ, विद्यालय बीचमै छाड्नेको सङ्ख्या घटाउनेछ र सबै विद्यार्थीका लागि गुणस्तरीय सिकाइ अनुभवको प्रत्याभूति गर्नेछ। यस पञ्चवर्षीय कार्यक्रमको कार्यान्वयन प्लान इन्टर्नेसनल र सोसम्बद्ध समूहले गर्नेछ।

प्रकाशित: २० फागुन २०८० १९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =