प्रधानमन्त्रीले विश्वासको मत लिँदै, कति मत पाउलान्?

हिमाल प्रेस ३० फागुन २०८० ५:४४ | Wednesday, March 13, 2024
प्रधानमन्त्रीले विश्वासको मत लिँदै, कति मत पाउलान्?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार विश्वासको मत लिँदैछन्। उनले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्।

२०७९ पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायत समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए। उनले पुस २६ गते संसद्‍मा विश्वासको मत लिएका थिए।

संसद्‍ बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रचण्डलाई प्रधानमन्त्रीका रुपमा विश्वासको मत दिएका थिए।

प्रचण्डले फेरि विश्वासको मत लिनुपर्‍यो। उनले दोस्रो पटक चैत ६ गते फेरि संसदमा विश्वासको मत मागे । त्यसदिन भएको मतदानमा उनलाई विश्वास छ भन्ने पक्षमा १७२ मत खसेको थियो। विपक्षमा ८९ मत परेको थियो। मत दिन्न भन्नेमा एक मत खसेको थियो।

अहिले फेरि कांग्रेससँगको गठबन्धन टुटेको छ। एमाले–माओवादी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा) र नेकपा एकीकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन बनेको छ। यही गठबन्धनको समर्थन प्रचण्डलाई छ।

प्रचण्डले आज विश्वासको मत लिँदैछन्।

मंगलबार नै सत्तारुढ रास्वपा, एमाले, एकीकृत समाजवादीले सांसदहरुलाई प्रचण्डलाई विश्वासको मत दिन ह्वीप लगाइसकेका छन्।

एमाले ७८, माओवादी ३२, रास्वपा २१, जसपा १२ र एकीकृत समाजवादीका १० सांसदले प्रचण्डलाई मत दिने निश्चित छ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। संसदीय दलका नेता रञ्जिता श्रेष्ठले मंगलबार चारैजना सांसदलाई अनिवार्य उपस्थित भएर विश्वाको मतको पक्षमा उभिन ह्वीप लगाएकी छन्।

तर उनका पतिसमेत रहेका रेशम चौधरीले कैलालीको टीकापुरमा बहुमत केन्द्रीय सदस्य जुटाएको भन्दै बैठक राखेका थिए।

संस्थापक केन्द्रीय सदस्य दामोदर पण्डितको अध्यक्षतामा भएको बैठकबाट रेशमले नयाँ बनेको केन्द्रीय गठबन्धनमा नमिसिने र सरकारमा पनि नजाने निर्णय गराएका छन्।

तर निर्वाचन आयोगले रञ्जितालाई नै नागरिक उन्मुक्तिको अध्यक्षको मान्यता दिएकाले संसदीय दलको नेताका रुपमा उनको ह्विप आधिकारिक हुन्छ। यस्तोमा उनको ह्विपअनुसार सांसदहरू कता उभिन्छन् भन्ने प्रष्ट भएको छैन।

यी ६ दलको कूल मत १५७ हुन्छ। प्रतिनिधि सभामा सभामुख र उपभामुखसहित २७४ सांसद छन्। त्यमिध्ये दुईजना निलम्बित छन्।

प्रधानमन्त्रीमा विश्वास छ भन्नका लागि १ सय ३८ मत आवश्यक पर्छ।

६ दल एकैठाउँमा रहेकाले प्रचण्डले तेस्रो पटक पनि विश्वासको मत पाउने प्रष्ट छ।

यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा) ४ ले निर्णय गरिसकेको छैन। यद्यपि मंगलबार भएको राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा लोसपाले कांग्रेस उम्मेदवार युवराज शर्माको पक्षमा मत दियो।

नेपाली कांग्रेसले विपक्षमा मत दिन सांसदलाई ह्वीप लगाएको छ। प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसद छन्। राष्ट्रिय जनमोर्चाले पनि प्रचण्डलाई विश्वासको मत नदिने संकेत गरेको छ। यस्तै, स्वतन्त्र दुईजना सांसदहरु प्रभु साह र अमरेशकुमार सिंहले के गर्छन् प्रष्ट छैन।

प्रकाशित: ३० फागुन २०८० ५:४४ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast