अब सबै राजनीतिक दल हिन्दु राष्ट्रकै पक्षमा आउँछन् : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता]

हिमाल प्रेस १० फागुन २०८० ८:३८
24
SHARES
अब सबै राजनीतिक दल हिन्दु राष्ट्रकै पक्षमा आउँछन् : राजेन्द्र लिङ्देन [अन्तर्वार्ता] राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले देशभर प्रदर्शन र सभा गरेर चैत पहिलो साता काठमाडौँ केन्द्रित आन्दोलनमा जुटेको छ। काठमाडौँमा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, र्‍यालीसहित दबाबमूलक कार्यक्रम गर्ने तथा सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने गरी राप्रपाले आन्दोलन तय गरेको हो। यस क्रममा राप्रपाले बुधबारदेखि काठमाडौँसहित देशभरका विभिन्न जिल्ला सदरमुकाममा दबाबमूलक प्रदर्शन सुरु गरेको छ। राप्रपाको आन्दोलन र समसामयिक विषयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग रमेश भारतीले गरेको कुराकानी :

राप्रपा अहिले आन्दोलनमा लाग्नुको उद्देश्य के होला?

राप्रपाले प्रधानमन्त्रीलाई ४० बुँदे ज्ञापनपत्र बुझाएर देशैभर प्रदर्शन गर्ने घोषणा गरेको छ। हामीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुझाएका छौँ। हिन्दु राष्ट्रको पुनःस्थापना र राजसंस्था फकाएर कानुनी राज्यसँगै विदेशी हस्तक्षेप अन्त्य गर्नुपर्छ।

लोकतन्त्र रहिरहे देशको राष्ट्र अखण्डता अझ खतरामा पर्छ। अहिले विदेशी हस्तक्षेपबिना केही हुन छाडेको छ। राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, बलियो केन्द्र र अधिकारप्राप्त स्थानीय तह रहेको दुई तहको सरकार, भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूतिका साथै राष्ट्रियता, विकास, सुशासन, सेवाप्रवाह एवं जनजीविकासँग प्रत्यक्ष सम्बन्धित तथा मुलुकको दीर्घकालीन हितका विभिन्न ४० बुँदे माग राखेको छ।

प्रचण्ड नेतृत्वको सरकारमा तपाईँ उपप्रधानमन्त्री हुनुभयो। उता कोशीमा सभामुख राप्रपाकै छ। भाषणमा एउटा व्यवहारमा अर्कै देखियो त?

देशमा राजनीतिक अस्थिरता नहोस् भनेर राप्रपाले लोकतन्त्रवादी पार्टीसँग सहकार्य गरेको हो। लोकतन्त्र नै स्वीकारेको होइन। राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा छाडेको होइन। राप्रपा राजनीतिकै कारण देशमा सरकार फेर्ने वातावरण नहोस् भन्ने पक्षमा छ। त्यही भएर लोकतन्त्रवादी पार्टीसँग सरकारमा सहभागी भएको हो। अब राप्रपाले यस्तो विषयमा पनि सोच्नुपर्ने भएको छ। आगामी दिनमा सत्ताभन्दा एजेन्डा प्राथमिकतामा  रहनेछन्।

सत्तामा जाँदा हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा हराउँछ भन्ने राप्रपालाई आरोप लाग्छ नि? अनि एमालेसँगको सहकार्यचाहिँ?

राप्रपाले सरकारमा हुँदा होस्, सडकमा पुग्दा होस् हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा छाडेको छैन। भन्नलाई जे भने पनि हुन्छ। अहिले राप्रपा निर्णायक आन्दोलनका लागि सडकमा आउने भएपछि हल्ला चल्न थालेको होला। राप्रपा एमालेको पछि लागेको होइन। केही आवश्यक विषयमा सहकार्य मात्र गरेको हो। गठबन्धन गर्नु पछि लाग्नु हुँदैन।

नेपाली कांग्रेसको जारी महासमिति बैठकमा हिन्दु राष्ट्रका लागि महाअभियान सुरु भएको छ। अब राप्रपाभन्दा अन्य राजनीतिक दल हिन्दु राष्ट्रका पक्षमा उभिन थाले। यसमा तपाईँको धारणा के छ?

कांग्रेसले हिन्दु राष्ट्रका पक्षमा पार्टीको महासमिति बैठकमा हस्ताक्षर कार्यक्रम चलाएको छ। यस विषयमा राप्रपालाई केही भन्नु छैन। लोकतन्त्र आएको १७ वर्षपछि कांग्रेस किन हिन्दु राष्ट्रका पक्षमा उभियो भन्ने मुख्य प्रश्न हो। कांग्रेसमा पनि हिन्दुत्वको माहोल बन्दै गएको देखियो। यहाँ पनि केही स्वार्थ जोडिएको प्रस्ट देखिन्छ।

कांग्रेसका कार्यकर्ताले हिन्दु राष्ट्र नै ठिक हो भन्न थालेपछि कांग्रेसले भोटका लागि पनि यो एजेन्डा उठाएको हुन सक्छ। बिस्तारै सबै राजनीतिक पार्टीहरु हिन्दु राष्ट्रकै पक्षमा आउँछन्। मलाई विश्वास छ।

तपाईँले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग भेटेर सहकार्यका लागि छलफल गर्नुभयो। प्रसाईसँग सहकार्य गर्न राप्रपा तयार भएको हो?

दुर्गा प्रसाईसँग व्यक्तिगतसँगै पछिल्लो समय उहाँले चलाउनुभएको महाअभियानका बोरमा छलफल भएको हो। राप्रपाले प्रसाईका केही एजेन्डामा छलफल गर्न सकिन्छ भनेर भेटवार्ता गरेको हो। अहिले त्योभन्दा अगाडि केही कुरा बढेको छैन।

प्रसाईले हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा बनाएको माहोल देखाएर राप्रपा आत्तिएको आरोप पनि छ नि?

राप्रपाको आफ्नै एजेन्डा र हिन्दु राज्यका पक्षमा प्रस्ट नीति छ। राप्रपा अरूको माहोल देखेर आन्दोलन गर्नेवाला छैन। राप्रपाले २०६३ सालदेखि हिन्दु राष्ट्र र राजसंस्थाको नारा छाडेको छैन। यो विशुद्ध राप्रपाको नारा हो। हामीले हिन्दु राष्ट्र र राजसंस्थाका लागि निर्णायक आन्दोलन गरेर यी दुवै फर्काउनेछौँ। प्रसाईले गत वर्षदेखि हिन्दु राष्ट्र र राजसंस्थाका पक्षमा बोल्न थाल्नुभएको हो। उहाँको महाअभियानसँग राप्रपा किन आत्तिनु र?

पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपालाई सामूहिक र प्रसाईलाई एक्लै बोलाएर छलफल गर्दै आएका छन्। राप्रपालाई भन्दा प्रसाईप्रति राजाको विश्वास बढ्न थालेको हो?

यस विषयमा मेरो केही भन्नु छैन। प्रसाईजीसँग भएको भेटमा राजाको के कुराकानी गर्नुभयो, त्यो हाम्रो सरोकारभित्र परेन तर राप्रपासँग भएको हरेक भेटमा पूर्वराजा देशको राजनीतिक र जनतामा छाएको निराशाप्रति चिन्तित देखिनुहुन्छ। राजाले प्रजासँग जसरी भेट्न सक्नुहुन्छ। राजालाई देशको चिन्ता हुन्छ। जनताप्रति माया पनि हुन्छ। त्यहीँ भएर उहाँ अहिले जनतामाझ पुग्न थाल्नुभएको हो।

राप्रपाले हिन्दु राष्ट्र र राजसंस्थाको नारा कहिलेसम्म लगाउने?

अहिले नेपालमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा सबै जनता उभिन थालेका छन्। यी मुद्दमा कसैले माहोल बनाउनु पर्दैन। हिन्दु राज्य र राजसंस्थाका पक्षमा कसले नेतृत्व गरेको छ भन्ने ठूलो बहसको विषय हो।

माहोल बनाउनु ठूलो कुरा होइन। कसैले हल्ला गर्दैमा हिन्दु राष्ट्र र राजसंस्था फर्किने होइन। यसमा जनतको साथ चाहिन्छ। २०४७ सालपछि राजनीतिक पार्टीका पक्षमा माहोल कति बन्यो? ती पार्टीहरुले किन अहिलेसम्म दुई तिहाईको सरकार बनाउन सफल भएनन्? २०६३/६३ को जनआन्दोलनपछि भएको पहिलो संविधानसभाको निर्वाचनमा माओवादी ठूलो पार्टी भएको थियो। अहिले माओवादी कहाँ पुगेको छ? यी उदाहरण पर्याप्त छन्। हिन्दु राष्ट्र र राजसंस्थाको नाम मात्र बेच्दैमा त्यति माहोल बन्छ भन्नुनै गलत हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =