पोखरा वडा २१ का अध्यक्ष सुवेदी रिहा भएलगत्तै पक्राउ

हिमाल प्रेस ८ फागुन २०८० १९:२२
110
SHARES
पोखरा वडा २१ का अध्यक्ष सुवेदी रिहा भएलगत्तै पक्राउ

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी मंगलबार धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्। उनलाई पोखराको बैदामबाट कास्की प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको जनाएको छ।

मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी वडाध्यक्ष सुवेदी लामो समयसम्म फरार रहेकोमा मंगलबारमात्र कास्की जिल्ला अदालत हाजिर भएका थिए। उनलाई न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। उनीमाथि मिटरब्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ।

तर त्यसलगत्तै वडाध्यक्ष सुवेदीलाई शान्ति केसीको जाहेरीका आधारमा ठगी मुद्दामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले बताए।

पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। ६ जना पुर्पक्षका लागि कारागारमा रहेकोमा बाँकी फरार छन्।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीविरुद्ध कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो।

सहकारी ठगी प्रकरण : पोखरा वडा २१ का अध्यक्ष सुवेदी धरौटीमा रिहा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 18 =