सहकारी ठगी प्रकरण : पोखरा वडा २१ का अध्यक्ष सुवेदी धरौटीमा रिहा

हिमाल प्रेस ८ फागुन २०८० १८:५४
24
SHARES
सहकारी ठगी प्रकरण : पोखरा वडा २१ का अध्यक्ष सुवेदी धरौटीमा रिहा

पोखरा- मित्र मिलन सहकारी ठगी प्रकरणका प्रतिवादी पोखरा वडा नम्बर २१ का अध्यक्ष दीपकप्रसाद सुवेदी धरौटीमा रिहा भएका छन्।

कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार वडाध्यक्ष सुवेदीलाई ८ लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो। लामो समयदेखि फरार उनी मंगलबार अदालत हाजिर भएका थिए। उनले मिटरब्याजी कारोबारी र राजस्व छली गरेको अभियोग छ।

मित्रमिलन सहकारी ठगी मुद्दा जिल्ला अदालतमा विचाराधीन छ। सहकारी ठगी अभियोगमा ३३ जना प्रतिवादीविरुद्ध पक्राउ पुर्जी काटिएकोमा हालसम्म अदालतले वडाध्यक्ष सुवेदीसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको छ।

आइतबारमात्रै कानुनी सल्लाहकार जनकल्याण पराजुली ३ लाख धरौटीमा रिहा भएका थिए। यसअघि सुरेशकुमार श्रेष्ठ, हरेराम भण्डारी, लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी, विष्णुप्रसाद भण्डारीलाई जनही ७ लाख र पूर्वअध्यक्ष कृष्णबहादुर राउतलाई १२ लाख रुपैयाँमा धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। पक्राउ परेकोमध्ये ६ जना पुर्पक्षका लागि कारागारमा छन्।

थुनामा रहेकामा सहकारी अध्यक्ष रमण पौडेल, प्रमुख कार्यकारी अधिकृत किरण अधिकारी, पूर्व रजिस्ट्रार उदयबहादुर पराजुली, सहकारी सञ्चालक सदस्य गोपाल खनाल, सल्लाहकार सेयर सदस्य राजु बराल र सेयर सदस्य बुद्धिसागर पौडेल हुन्। अझै १९ जना फरार छन्।

जिल्ला सरकारी वकिल कार्यालयले प्रतिवादीविरुद्ध कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो।

प्रकाशित: ८ फागुन २०८० १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − two =