हिमालप्रेसकर्मी रेग्मीसहित पत्रकार र प्रेस स्वतन्त्रता सेनानीहरू सम्मानित

हिमाल प्रेस ७ फागुन २०८० १९:०८
224
SHARES
हिमालप्रेसकर्मी रेग्मीसहित पत्रकार र प्रेस स्वतन्त्रता सेनानीहरू सम्मानित

इटहरी- हिमाल प्रेसका कोशी संवाददाताविवेक विवश रेग्मीलाई सृजनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ। इटहरीस्थित नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित प्रदेश खबरको पहिलो वार्षिकोत्सव कार्यक्रममा करिब एक दशकदेखि पत्रकारिता पेसामा आबद्ध रेग्मीसहित अन्य सक्रिय पत्रकारहरूलाई पुरस्कृत गरिएको हो।

कार्यक्रममा कोशी प्रदेशमा रहेका प्रेस स्वतन्त्रता सेनानी, क्रियाशील पत्रकार र शुभचिन्तकहरूलाई पनि सम्मान गरिएको थियो।

प्रेस स्वतन्त्रता सेनानी हर्ष सुब्बा (सुनसरी), कृष्णविनोद लम्साल (सुनसरी), भवानी बराल (सुनसरी), शिबबहादुर कार्की (मोरङ), चन्द्र भण्डारी (झापा), कृष्ण आचार्य (खोटाङ), कौशल चेम्जोङ (उदयपुर) र सञ्जय सन्तोषी राई (धनकुटा)लाई सम्मानसमेत गरियो। उनीहरूलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थियो।

सम्मानित व्यक्तिमध्ये सुब्बा २०२९ सालदेखि पत्रकारिता पेसामा आवद्ध छन्। लम्साल ३० को दशकदेखि नै पत्रकारिता पेसामा आबद्ध रहेका छन्। उनको नेतृत्वमा तत्कालीन पत्रकार संघलाई २०५३ सालमा सुनसरीबाट पत्रकार महासंघ बनाइएको थियो। यसैगरी बराल चार दशकयता पत्रकारितामा आवद्ध छन्। कार्की २०२० को दशकदेखि पत्रकारितामा आवद्ध छन् भने आचार्य २०३२ सालदेखि पत्रकारिता पेसामा आबद्ध छन्। यसैगरी चेम्जोङ पञ्चायती व्यवस्थाको विरुद्धमा कलम चलाउँदै आएका छन्। राई ०४३ सालदेखि पत्रकारितामा सक्रिय छन्।

उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार २०८० बाट प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कारबाट किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सुरेन्द्र भण्डारी र टीका खतिवडा पुरस्कृत भएका छन्। उनीहरूलाई जनही नगद ११ हजार एक सय ५१ रुपैयाँसहित दोसल्ला र सम्मान पत्रले पुरस्कृत गरियो।

यस्तै, पर्यटनको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै नारायण पौडेल र दीपक थापालाई सम्मान गरिएको थियो। यसैगरी चार दशकयता पत्रपत्रिका वितरण गरी समाजलाई सुसूचित गराउँदै आएका लेखराज श्रेष्ठ र सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्‍याएको भन्दै आरबी कटवाललाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक रहेको बताएकी छन्। उनले हरेक ठाउँमा पत्रकारको अहम् भूमिका रहने बताएकी हुन्।

‘पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एकअर्काको परिपूरक हुन्,’ उपसभामुख रानाले भनिन्, ‘मैले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारण पनि पत्रकारहरूसँग नजिक छु।’

उनले पत्रकारिताको माध्यमबाट देशमा भइरहेका भ्रष्टाचार, बेथिति चिर्न सकिने बताउँदै अबको पत्रकारिता जनमुखी हुनुपर्ने बताइन्।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानीबाट उपाधि प्राप्त गरेका वरिष्ठ पत्रकारलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्न पाउनु खुसीको कुरा रहेको बताए। ‘हामीले जिम्मेवार पत्रकारिता गर्नुपर्छ भन्ने उद्द्देले निरन्तर जनताका आवाजलाई मुखरित गरिरहेका छौँ,’ अधिकारीले भने, ‘पत्रकारिता क्षेत्र जिम्मेवारसँगै जनतालाई सुसूचित गराउनमा हामी प्रतिबद्ध छौँ।’

प्रकाशित: ७ फागुन २०८० १९:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =