गण्डकीका शम्भुराज रेग्मी सर्वोत्कृष्ट निजामती कर्मचारी [पुरस्कृत हुनेको नामावलीसहित] 

हिमाल प्रेस ४ फागुन २०८० १६:२८
8
SHARES
गण्डकीका शम्भुराज रेग्मी सर्वोत्कृष्ट निजामती कर्मचारी [पुरस्कृत हुनेको नामावलीसहित] 

पोखरा- गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कानुन सचिव शम्भुराज रेग्मीलाई सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ।

प्रदेश सरकारको छैटौँ स्थापना दिवस अवसरमा शुक्रबार प्रदेश राजधानी पोखरामा आयोजित समारोहमा निजामतीसहित कार्यसम्पादनमा जिल्लाका उत्कृष्ट कार्यालयको घोषणा गरिएको हो।

एक लाख रुपैयाँ राशि र सम्मानपत्रसहितको सर्वोत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार प्राप्त गर्ने रेग्मी बागलुङका हुन्। खरिदारबाट निजामती सेवामा प्रवेश गरेका उनी २४ वर्षदेखि निरन्तर कार्यरत छन्। यसअघि मधेश प्रदेशमा पनि कानुन सचिव भई काम गरेका उनी दुई वर्षदेखि गण्डकी प्रदेशमा छन्।

पुरस्कार दिइने घोषणाले आफूलाई निकै खुसी लागेको भन्दै उनले उत्कृष्ट कार्यसम्पादन गरे मूल्यांकन हुँदो रहेछ भन्ने लागेको प्रतिक्रिया दिए।

७५ हजार राशिको उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार तीनजना कर्मचारीलाई दिइएको छ। उनीहरूमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतमा कार्यरत विष्णुहरि अधिकारी (इन्जिनियर आठौँ), मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत प्रदीपचन्द्र सुवेदी र यातायात व्यवस्था कार्यालय सवारी कास्कीमा कार्यरत समीना पुन (मेकानिकल इन्जिनियर सातौँ) हुन्।

५० हजार राशिको प्रदेश निजाती सेवा पुरस्कार ६ जनालाई दिइने घोषणा गरिएको छ। यो पुरस्कार प्राप्त गर्नेमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत सातौँ शिव लम्साल, आर्थिक मामिला मन्त्रालयका कानुन अधिकृत तेजेन्द्रप्रसाद ढकाल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मनाङका आयुर्वेद चिकित्सक डा. शंकर गौतम, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय पोखराका अधिकृत छैटौँ (प्राविधिक) सुरेशकुमार श्रेष्ठ, गोरखा अस्पतालकी सिनियर अनमी प्रतिमा श्रेष्ठ, पर्यटन तथा उद्योग कार्यालयका सहायकस्तर पाँचौंका अर्जुनप्रसाद काफ्ले हुन्। उक्त पुरस्कार आगामी गणतन्त्र दिवस अवसरमा हस्तान्तरण गरिने प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेतले बताइन्।

पोखराको कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र प्रदेशस्तरमै उत्कृष्ट भएको छ। जिल्लास्तरका उत्कृष्ट कार्यालयहरुमा डिभिजन वन कार्यालय (म्याग्दी), कृषि ज्ञान केन्द्र (मनाङ), कृषि ज्ञान केन्द्र (तनहुँ), भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र (लमजुङ), मध्यबिन्दु जिल्ला अस्पताल (नवलपुर), वागवानी विकास स्रोत केन्द्र (कास्की), जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय (पर्वत), कृषि ज्ञान केन्द्र (मुस्ताङ), सामाजिक विकास कार्यालय (गोरखा), जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र (स्याङ्जा) र स्वास्थ्य कार्यालय (बागलुङ) छन्।

शान्तिसुरक्षा तथा विपद् उद्धार प्रोत्साहन पुरस्कारबाट नेपाली सेनातर्फ सुवेदार सञ्जीवबाबु श्रेष्ठ, प्यूठ जीवन मल्ल, सिपाही उमेश बानियाँ, नेपाल प्रहरीतर्फ प्रहरी वरिष्ठ उपरीक्षक अरुण पौडेल, प्रहरी उपरीक्षक मोहनकुमार थापा, प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेय, सशस्त्र प्रहरी बल नेपालतर्फबाट प्रहरी नायब उपरीक्षक रवीन अधिकारी, प्रहरी हवल्दार रवीन्द्र थापा र जवान माधव भुसाल छन्।

प्रकाशित: ४ फागुन २०८० १६:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =