‘जनयुद्ध दिवस’कै दिन दुर्गा प्रसाईको पनि कार्यक्रम

हिमाल प्रेस १ फागुन २०८० ७:५३
74
SHARES
‘जनयुद्ध दिवस’कै दिन दुर्गा प्रसाईको पनि कार्यक्रम

काठमाडौँ- राजासहितको हिन्दु राष्ट्र कायम गर्न दबाब दिँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईले आज (मंगलबार) कार्यक्रम गर्दैछन्।

गत वर्ष पूर्वराजा ज्ञानेन्द्र शाह र उनका केही पारिवारिक सदस्यलाई साक्षी राखेर व्यवसायी दुर्गा प्रसाईंले मेची नदीछेउको काकडभिट्टाबाट सुरु गरेको नागरिक बचाउ अभियानको एक वर्ष पुगेको अवसरमा आज कार्यक्रम गर्दैछन्।

यता माओवादी केन्द्रले जनयुद्ध दिवस मनाइरहँदा पूर्वमाओवादी नेता समेत रहेका प्रसाईले पनि कार्यक्रम गर्न लागेका हुन्।

प्रसाईले आज भृकुटीमण्डममा कार्यक्रम गर्दैछन्। कार्यक्रमका लागि उनले यसपालि पनि देशका विभिन्न भागबाट सहभागी बोलाएका छन्। यसअघिको कार्यक्रम प्रदर्शनमा केन्द्रित थियो। अहिलेको कार्यक्रम सभामा केन्द्रित छ।

सभामा आमन्त्रित अतिथिहरूले शुभकामना मन्तव्य पनि दिनेछन्। मुख्य वक्ताका रूपमा भने अभियानका संयोजक दुर्गा प्रसाईं नै रहनेछन्।

प्रसाईंले वार्षिकोत्सव कार्यक्रमका लागि विभिन्न राजनीतिक दलका नेताहरूलाई पनि आमन्त्रण गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतलाई पनि निम्तो बाँडिएको छ।

प्रसाईंको कार्यक्रमप्रति पूर्वपञ्चहरूका दल राप्रपा र राप्रपा नेपालले भने सकारात्मक प्रतिक्रिया दिएका छन्। कार्यक्रमका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणाले कार्यक्रममा उपस्थित हुने बताएका छन्।

यता राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पनि कार्यक्रमको निम्तो दिएका छन्।

प्रकाशित: १ फागुन २०८० ७:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =