काठमाडौँ- फागुन पहिलो साता विश्वभरका ५० हजारभन्दा बढी अभियन्ताहरू काठमाडौँमा भेला हुने भएका छन्। उनीहरू विश्व सामाजिक मञ्चको १६ औँ संस्करणमा भाग लिन काठमाडौँमा आउन लागेका हुन्।
सम्मेलन फागुन ३ गतेदेखि ७ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको छ। सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकहरूले जनाएका छन्। मञ्च सन् २००३ मा ब्राजिलको पोर्टो अलेग्राबाट ‘अर्को विश्व सम्भव छ’ भन्ने परिकल्पनाका साथ सुरु भएको हो।
सम्मेलनमा नेपालका सामाजिक अभियन्ताहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका नेताकार्यकर्ता, स्थानीय तहका जनप्रतिनिधिलगायतले सहभागिता जनाउने आयोजकहरूले जनाएका छन्। सम्मेलनमा विभिन्न १३ वटा मुद्दामा छलफल हुने आयोजक समितिका सदस्य डा. नेत्र तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार मञ्चमा आर्थिक असमानता र आर्थिक न्याय, श्रम, प्रवास, जबरजस्ती श्रम, दासत्व र बेचबिखन, जातीय, काम र वंशमा आधारित भेदभाव, जाति, जातीय, आदिवासी जनजाति, छुवाछुत, विभेद र सबै प्रकारका भेदभाव, लिंग, लैंगिकता र पहिचान र लिंग आधारित हिंसा मुद्दामा विभिन्न देशका प्रतिनिधिले छलफल गर्नेछन्।
यसैगरी भूमि, कृषि, कृषि पारिस्थितिकी, खाद्य सम्प्रभुता, ऊर्जा र प्राकृतिक स्रोतहरू, शान्ति, द्वन्द्व, युद्ध, पेसा, विस्थापन, र सुरक्षा, शिक्षा, कला र संस्कृति, सञ्चार, सामाजिक सञ्जाल र मिडिया जस्ता मुद्दामा छलफल हुनेछ। आयोजकका अनुसार लोकतन्त्र, मानवअधिकार, अधिनायकवाद, कानुन र न्याय, स्वास्थ्य, सामाजिक सुरक्षा र समानता, जलवायु न्याय, पारिस्थितिकी, आवास र दिगो विकास, महिला, बालबालिका, युवा, किशोरकिशोरी, वृद्धवृद्धा र अपांगता भएका व्यक्तिहरू सामाजिक आन्दोलन, नागरिक स्थान र विश्व सामाजिक फोरमको भविष्य, सामाजिक आन्दोलनहरू, नागरिक ठाउँ र विश्व सामाजिक फोरमको भविष्यलगायतका विषयमा छलफल हुनेछ।
दैनिक ३०० भन्दा बढी सत्र सञ्चालन हुने आयोजकको भनाइ छ। मञ्चमा विश्वका वरिष्ठ समाजवादी नेताहरूले विश्वको पछिल्लो अवस्था दर्शाउनेछन्। रुसले युक्रेनमा गरेको आक्रमणदेखि, इजरायल र प्यालेस्टाइनको विषयमा छलफल हुने आयोजक कमिटीका सदस्य डा. तिमिल्सिनाले बताए। उनका अनुसार तयारी बैठकहरू बसिरहेको बताए।
अर्को विश्वको परिकल्पना किन गरियो त? होमनेट नेपालका कार्यकारी निर्देशक एवम् विश्व सामाजिक मञ्च नेपाल आयोजक समितिका सदस्य ओम थपलिया भन्छन्, ‘जहाँ मानिसबीच अब भेदभाव हुने छैन। जातीय भेदभाव हुने छैन। लैंगिक हिंसा हुने छैन, धनी र गरिबबीचको खाडल निमिट्यान्न भई उसले मान्छे भएर बाँच्न पाउनेछ। उसले आफ्ना आवाज राख्न पाउनेछ। मञ्चमा यिनै विषयमा भन्ने विषयमा केन्द्रित हुनेछ।’
उनका अनुसार अर्को विश्वमा विश्व धनीलाई धनी बनाउने, गरिबलाई अझ गरिब बनाउने, शोषण गर्ने र केही व्यक्ति र संस्थाहरूले विश्व चलाउने कल्पना गरिएको हुँदैन। यो विशुद्ध समाजवादलाई अघि बढाउने तयारी हो। पुँजीवादी विश्व व्यवस्थामा समान विकास हुन सकेन। धनी दिनहुँ धनी नै भएका छन्। गरिब गरिब नै छन्। यही भएर विश्व सम्मेलनमा मध्यम वर्गको सहभागिता बढी हुने आयोजकहरू बताउँछन्।
मञ्चअन्तर्गत विश्व महिला मञ्च पनि आयोजना हुँदैछ। विश्व महिला मञ्च नेपालमै भएका महिला अधिकारवादी र महिला आन्दोलनका पक्षधरहरू मिलेर आयोजना हुन लागेको आयोजक समितिकी सदस्य डा. रेणु अधिकारी राजभण्डारीले बताइन्। उनले भनिन्, ‘यसमा ३५ वटाभन्दा बढी संघसंस्था आबद्ध छन्। विश्व महिला मञ्च राष्ट्रिय आयोजकका रूपमा छ। विश्व सामाजिक मञ्चभित्रै विश्व महिला मञ्च हुन लागेको हो। यी छुट्टाछुट्टै कार्यक्रम होइनन्। एकअर्काका पूरक हुन्।’
पुँजीवादी सोचबाट पर रहने, परिवर्तनमा विश्वास गर्ने, समावेशी प्रजातन्त्र र आर्थिक प्रणालीमा विश्वास गर्ने तथा विश्वमा शान्तिको कामना गर्दै सबै नागरिकको अस्तित्व समान राख्नेहरूको मञ्च हो विश्व सामाजिक मञ्च। पछिल्लो समय नवउदारवादी संस्थाहरूको स्रोत वा प्रोजेक्टहरूले अर्को विश्वको नारालाई कमजोर बनाइरहेको टिप्पणी हुने गरेको छ। न्यायसहितको समावेशी विश्व समाजवादको यात्रा तय गर्ने मञ्चको लक्ष्य छ।
मञ्चअन्तर्गत युथ फोरम आयोजना हुनेछ। फोरममा ४० भन्दा बढी देशका युवा सहभागी हुने आयोजक कमिटीका सदस्य नरेन खतिवडाले जानकारी दिए। उनले भने, ‘फोरममा विभिन्न विषयमा सामूहिक छलफल गर्छौँ। त्यसमा शिक्षा, निजी क्षेत्र, शान्ति, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, लैंगिकता, बसाइँ सराइलगायत छन्।’
राष्ट्रिय अपांग महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष राम कार्की विश्व सामाजिक मञ्च आवाजविहीनहरूको आवाज विश्वसामु पुर्याउने एउटा अवसर भएको बताउँछन्। उनी भन्छन्, ‘यसमा संसारभरका सामाजिक क्षेत्रमा क्रियाशील संघसंस्थाको प्रतिनिधित्व हुनेछ। उत्पीडित वर्ग, क्षेत्र र समुदायको आवाज मुखरित हुने भएकाले यसलाई हामीले अवसरका रूपमा लिएका छौँ।’ उनले अपांगता भएका व्यक्तिको विषयमा भइरहेका प्रगतिबारे अन्तर्राष्ट्रिय जगत्समक्ष राख्न पाइने भएकाले आफूहरूका लागि उपलब्धिमूलक हुने बताए।
नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले मञ्चअन्तर्गत आयोजना हुने नेपाल फोरममा ट्रेड युनियन अधिकार र सामाजिक न्यायका विषयमा छलफल हुने बताए। उनले भने, ‘फोरममा राष्ट्रिय र अन्तर्राष्ट्रिय वक्ताहरूले सम्बोधन गर्नेछन्। कुन देशमा ट्रेड युनियन अधिकारका पक्षमा केके प्रगति भइरहेका छन्, चुनौती केके छन् भन्ने विषयमा छलफल हुनेछ।’
मञ्चमा ब्लु डाइमन्ड सोसाइटीले रेन्वो प्लानेट आयोजना गर्ने भएको छ। यसमा सीमान्तकृत महिलाका समस्यालाई कसरी अगाडि सार्न सकिन्छ भन्ने विषयमा छलफल गरिने सोसाइटीका कार्यक्रम संयोजक प्रीति पिटरले बताए। उनका अनुसार गोष्ठीमा नेपाल, बंगलादेश, भारतलगायतका वक्ताहरूले फरक लैंगिक क्षमता भएका समुदायका बारेमा विद्यमान समस्या र तिनको निराकरणका विषयमा छलफल गर्नेछन्। उक्त गोष्ठीमा यौनकर्मी, एचआईभी पोजेटिभ भएका व्यक्तिहरूसमेतको सहभागिता रहने सोसाइटीले जनाएको छ। सोसाइटीले एक दिन र्याली निकाल्नेछ।
नेपालमै किन आयोजना?
जानकारहरूका अनुसार सामाजिक मञ्च नेपालमा आयोजना हुनुमा केही कारण छन्। पहिलो, दसबर्से सशस्त्र द्वन्द्वलाई नेपालले शान्तिपूर्ण रूपमा व्यवस्थापन गरेको सन्देश विश्व जगत्मा गएको छ। यसैगरी अर्को पक्ष हो, बिना हिंसा, सहजताका साथ राजतन्त्रात्मक व्यवस्थाबाट गणतन्त्र स्थापना भयो। यिनै कारणले मञ्च आयोजनाका लागि नेपाल प्राथमिकतामा परेको ट्रेड युनियन कांग्रेसका अध्यक्ष कुँवर बताउँछन्।
साथै समावेशिताका हिसाबमा पनि नेपालमा उदाहरणीय काम भएकोले सकारात्मक सन्देश गएको उनले बताए। उनले भने, ‘जुनसुकै अप्ठ्यारो अवस्थामा पनि नेपालले सहज रूपमा काम गरेर उदाहरण प्रस्तुत गरेको छ। त्यसैले कार्यक्रम राख्नका लागि नेपालले प्राथमिकता पाएको हो।’
जलवायु परिवर्तनका कारण मान्छेले कष्टपूर्ण जीवन जिउनुपरेको छ। नेपाल पनि त्यसबाट प्रभावित छ। डा. तिमिल्सिना भन्छन्, ‘ हिमालमा हिउँ पग्लिन थालेका छन्। हाम्रो जीवन संकटमा छ भन्ने विषयमा फोरममा आवाज उठ्नेछ।’
विश्व सामाजिक मञ्च आफ्ना मुद्दा अघि सार्ने साझा मञ्च हो यो। घोषणापत्र जारी गरेर मञ्च समापन हुनेछ। साथै अर्को विश्व सम्भव छ भन्ने परिकल्पना साकार पार्नका लागि नेपालले के गरिरहेको छ भन्नेबारे सन्देश पर्वाह हुने अपेक्षा आयोजकको छ। यसैगरी नागरिकका जल्दाबल्दा विषयमा विभिन्न देशहरू कसरी अघि बढिरहेका छन् भन्नेबारे पनि सम्मेलनमा छलफल हुनेछ। यसले अन्तर्राष्ट्रिय जगत्मा नेपालका बारेमा थप प्रचार हुने विश्वास आयोजकको छ।
नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]
सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]
वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]