विभेदको खाडल पुरियो भने अर्को संसार सम्भव छ : डा. रेणु अधिकारी राजभण्डारी [भिडिओसहित]

हिमाल प्रेस २० माघ २०८० १५:४८
1.6k
SHARES
विभेदको खाडल पुरियो भने अर्को संसार सम्भव छ : डा. रेणु अधिकारी राजभण्डारी [भिडिओसहित]

विश्व सामाजिक मञ्चको नारा अर्को संसार सम्भव छ भन्ने छ। अहिले संसारको अर्थतन्त्र गरिबमुखी छैन, नागरिकमुखी छैन, महिलामुखी छैन र पिँधमा रहेका जनतामुखी छैन। यसप्रति ध्यानाकर्षण गर्ने हिसाबले अर्को संसार सम्भव छ भन्ने आवाज लिएर विश्व सामाजिक मञ्च अगाडि आएको हो। यो  ब्राजिलबाट सुरु भएको एउटा अभियान हो।

विश्व सामाजिक मञ्च अभियन्ताहरूको थलो हो। यो महिला, किसान, दलित, श्रमिक, अपांगता भएका व्यक्तिहरूको आन्दोलन हो या रूपान्तरणकारी राजनीतिका लागि गरिने आन्दोलन हो। मञ्च हरेक वर्ष विभिन्न देश हुँदै यसको १६ औँ संस्करण  नेपालमा हुन लागेको छ। अहिले संसारको सबैभन्दा सुरक्षित स्थान नेपाल हो। राजनीतिक रूपमा हामी रूपान्तरणकारी ठाउँमा छौँ त्यसैले धेरैको रोजाइ नेपाल बनेको छ।

विश्व सामाजिक मञ्चको कार्यक्रममा सहभागी हुन ८२ भन्दा बढी देशका प्रतिनिधिहरू आउने निश्चित भइसकेको छ। यसका लागि विभिन्न खालका कार्यक्रम भइरहेका छन्। विश्व सामाजिक मञ्च आफैँले पनि १३ वटा मुद्दा अघि सारेको छ। त्यसभित्र लैंगिकतालगायतका विषय समेटिएका छन्।

मञ्चअन्तर्गत विश्व महिला मञ्च पनि आयोजना हुँदैछ। विश्व महिला मञ्च नेपालमै भएका महिला अधिकारवादी र महिला आन्दोलनका पक्षधरहरू मिलेर आयोजना हुन लागेको हो।  यसमा ३५ वटाभन्दा बढी संघसंस्था आबद्ध छन्। विश्व महिला मञ्च राष्ट्रिय आयोजकका रूपमा छ। ल्याटिन अमेरिकी, एसिया फेमेनिस्ट कोलिसन, युगान्डाको इन्टरनेसनल विमेन पिस सेन्टर, क्यातालिजो जस्ता संस्थाहरू पनि यसमा आबद्ध छन्। विश्व सामाजिक मञ्चभित्रै विश्व महिला मञ्च हुन लागेको हो। यी छुट्टाछुट्टै कार्यक्रम होइनन्। एकअर्काका पूरक हुन्।

विश्व सामाजिक मञ्च कुनै परियोजना टुंग्याउने, परियोजनाका लागि गरिने, कुनै दाताले दिएको पैसाका आधारमा गरिने कार्यक्रम होइन। समुदायदेखि आएका अभियानकर्मीहरू भेला भएर आफ्ना मुद्दामा बहस गर्नका लागि आयोजित कार्यक्रम हो। त्यसैले विश्व सामाजिक मञ्चमा आउने सहभागीले आफैँ पैसा तिर्छन्। खानेबस्ने ठाउँको आफैँ व्यवस्था गर्छन्। चाहे त्यो राष्ट्रिय होस् या अन्तर्राष्ट्रिय।

विश्व महिला मञ्चको कार्यक्रममा तीन हजारभन्दा बढी महिलाले  आउने इच्छा देखाइसक्नुभएको छ। नेपालका धेरैवटा पालिकाले यौनिक तथा अल्पसंख्यक, सीमान्तकृत महिलालाई पठाएर सहयोग गर्दै हुनुहुन्छ। यसमा ट्रेड युनियन र महिला आन्दोलनका अगुवाहरू सहभागी हुनेछन्। महिलावादी दृष्टिकोणबाट शान्ति के हो भनेर बहस गर्ने काम यसमा हुनेछ। मञ्चमा प्यालेस्टाइन र मणिपुरका साथीहरू पनि छन्, जहाँ धेरै महिला द्वन्द्वको मारमा परेका छन्।  श्रीलंकाको विमेन एफेक्टेड बाई वार भन्ने महिला समूह,  मोरक्को, ट्युनिसियालगायत थुप्रै देशका महिलाको प्रतिनिधित्व यसमा हुनेछ। हाम्रो देशमा भएको सशस्त्र द्वन्द्व प्रभावितहरू पनि सहभागी हुनेछन्।

विश्व महिला मञ्चको महत्त्वपूर्ण मुद्दा शान्ति, लोकतन्त्र र समानता हो। प्रश्न उठ्छ– अर्को संसार कसरी सम्भव हुन्छ? अहिले जुन विभेदको खाडल छ त्यो पुरियो भने अर्को संसार सम्भव छ।

युद्ध हुनु र नहुनु एउटा कुरा होला तर युद्ध नहुनु मात्रै पनि शान्ति होइन। हामीकहाँ अहिले युद्ध छैन तर हरेक वर्ष महिला बिदेसिनुपरेको स्थिति छ। महिलामाथि हिंसा बढिरहेको छ। महिलाको कामको मूल्यांकन छैन। शान्तिको दायरालाई फराकिलो बनाएर  हामीले यी कुराहरूलाई विश्लेषण गरेर हेर्नुपर्छ। पेटभरि खान पाएर सुरक्षित भएर बाँच्न पाउने, छोराछोरीलाई पढाउन पाउने, औषधि उपचार पाउने, हाम्रो कामको मूल्यांकन हुने  स्थिति  शान्ति हो। त्यो कुरा याद गर्नुपर्छ।

हामी रूपान्तरणकारी राजनीतिबारे पनि कुरा गर्दैछौँ। गणतन्त्र त आयो होला तर साँच्चिकै समाज रूपान्तरण भएको छ त? राजाको सट्टामा थुप्रै राजनीतिक पार्टीहरू स्थापित भए होलान्। अहिले महिला, दलितलगायतका मानिसलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको छ? छैन। प्रेम गर्‍यो भनेर छोराछोरीलाई मार्ने बाबुहरू अझै छन्। त्यही कुरालाई स्थापित गर्ने नेतृत्व भयो भने त काम छैन नि? त्यसैले महिलामैत्री दृष्टिकोण कस्तो हुनुपर्छ भनिरहेका छौँ।

युवा महिला फोरम हुँदैछ। मानवअधिकारलाई कसरी हेर्ने भनेर विश्व महिलावादी मञ्चभित्र नै १० वटा थिममा हाम्रो छलफल हुँदैछ। आआफ्नो समुदायको कलासंस्कृति प्रस्तुत हुन्छ। फिल्मको पनि प्रदर्शन हुन्छ। अभियन्ताका लागि यो एउटा उत्सव हो। संयुक्त राष्ट्रसंघले कोभिड १९ पछि ‘विल ब्याक बेटर’ भनेको छ। हामी ‘विल ब्याक राइट’ भन्छौँ। हामी ‘विल ब्याक बेटर मिथ भर्सेज रियालिटी’मा कुरा गरिरहेका छौँ। यसलाई एसियन फेमिनिस्ट कोलिसनले पनि लिड गरिरहेको छ। जससमा २८ वटा बढी देशका युवा महिला छन्।

विश्व सामाजिक मञ्चबाट रूपान्तरणकारी सोचको विकास गर्न सकिन्छ। कार्यक्रममा करिब ५० हजार मानिसको सहभागिता हुन्छ भन्ने हाम्रो अपेक्षा छ। यसमा सबैको सहयोग जरुरी छ। नवउदारवादी, आर्थिक नीतिले पाखा लगाएको, पिंधमा पारिएको व्यक्तिहरूको बारेमा कुरा गर्ने, शान्ति, वाक् स्वतन्त्रता, गाँस, बास, कपासको स्वतन्त्रताको विषयमा कुरा गर्ने थलो हो विश्व सामाजिक मञ्च। संसारभरका अभियानकर्ताहरूलाई नेपालको राजनीतिक रूपान्तरणमा सामाजिक अभियानको योगदान छ भन्ने स्थापित गर्दै, सिकाउँदै, सिक्दै हामीले मञ्च  सम्पन्न गर्नेछौँ। सबैको संयुक्त प्रयासबाट विश्व सामाजिक मञ्च र विश्व महिला मञ्चलाई साँच्चिकै प्रभावकारी बनाउन सकिन्छ। मञ्चमा यहाँहरू सबैको सहभागिताको अपेक्षा गर्दछु।

[ओरेककी संस्थापक अध्यक्ष राजभण्डारी विश्व सामाजिक मञ्चको आयोजक कमिटीमा आबद्ध छिन्।] 

नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]

मौलिक उद्यमबाट पलायन नरोकेसम्म सम्भव होला र अर्को विश्व?

सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]

वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + 16 =