मौलिक उद्यमबाट पलायन नरोकेसम्म सम्भव होला र अर्को विश्व?

विनोद परियार १८ माघ २०८० ११:४८
226
SHARES
मौलिक उद्यमबाट पलायन नरोकेसम्म सम्भव होला र अर्को विश्व?

फागुन ३ देखि ७ गतेसम्म विश्व सामाजिक मञ्चको १६औँ संस्करण काठमाडौँमा हुँदैछ। मञ्चको संकल्प ‘अर्को विश्व सम्भव छ’ रहेको छ। जातीय विभेद र छुवाछुत अन्त्य नभएसम्म विश्व सामाजिक मञ्चको यो संकल्प पूरा हुन सक्दैन। मञ्चले प्रमुख १३ वटा मुद्दामा छलफल गर्ने भएको छ। तीमध्ये जातीय, काम र वंशमा आधारित भेदभाव एउटा विषय रहेको आयोजकले जनाएको छ।

नेपाली समाजमा पेसागत रूपमा जीवनभर पसिना बगाई जनजीवनलाई सहज बनाउन केही जातीय समुदायको ठूलो योगदान रहँदै आएको छ। मौलिक पेसा, कला र सिपका धनी केही जातीय समुदाय अझै पनि बहिष्करणमा परेका छन्। मञ्चले पक्कै पनि यस्ता विषयमा आवाज उठाउने निश्चित छ। नेपाली भूमिमा यति ठूलो फोरम आयोजना हुने भएकाले यहाँ जातीय रूपमा पछाडि पारिएका समुदायको चासो हुनु स्वाभाविकै हो। पछिल्लो समयमा विभेदकै कारण कतिपय जातिले आफ्नो पुर्ख्यौली पेसबाट हात धुनुपरेको अवस्था छ। नेपाली समाजमा विभेदकारी भएकै कारण मौलिक पेसा, कला र सिपका धनी दलित समुदाय कसरी विस्थापित भए भन्ने विषयमा चर्चा गरिएको छ। विषयवस्तु स्पष्ट पार्न चलनचल्तीका शब्द प्रयोग गरिएको हो।

कामी : समाजले कामीलाई फलामको काम गर्ने अछुत जातका रूपमा चिनायो। ‘आरन’ मा खलाती (हावा दिनका लागि बनाइएको घरेलु उपाय) ले सकिनसकी कोइलामा राखेर फलाम पगालेर घरका लागि आवश्यक भाँडाकुँडादेखि हँसिया, बन्चरो, कोदालो आदि बनाउने काम गर्थे। यस कामका लागि सिप त आवश्यक पर्ने थियो नै। घरेलु स्रोतसाधन जुटाएर फलामको औजार बनाउने कुरा आजभन्दा ६० वर्षअघिका लागि ठूलो आविष्कार थियो। दुई सय वर्षअघिका लागि यो प्रविधि अपनाउने काम गर्ने ती कामी महान् वैज्ञानिक हुन्।

मेहनतले हप्तौँ-महिनौँ दिन लगाएर बनाएका औजार शुद्ध भए पनि त्यो कामी भने कहिल्यै शुद्ध भएन। उसले बनाएका औजार र भाँडाकुँडामा खाना पाक्थ्यो तर ऊ त्यो ठूलो भनिने जातको घरभित्र पस्नु त परको कुरा वर्षमा पाउने भनेको एक पाथी, धान मकै वा केही अन्न मात्रै हुन्थ्यो।

सुनार : जसले अति महत्त्वपूर्ण धातु जसलाई पगालेर आकर्षक गहना बनाउन थाले ती जाति थिए सुनार। जसलाई दलितका रूपमा विभेद गरियो। नेपालमा अझै पनि यो पेसामा अन्य समुदायको सहभागिता त्यतिसारो हुन सकेको छैन। यसका पछाडि यसमा अत्यन्त कलात्मक क्षमता र सिप चाहिन्छ। त्यसैले एकाध मात्रै अन्य जातिका मानिस यो व्यवसायमा संलग्न देखिएका हुन्। यसको बजार भने अन्य जातिहरूले नै कब्जा गरेका छन्। गहनाका नयाँनयाँ डिजाइन (स्वरूप) निकाल्ने काम तिनै सुनारले गरेका थिए।

दमाईँ : अश्लीलता ढाकेर सभ्य र ठूलो जातको गरिमा बढाउने काम तिनै दमाईँहरूले गरे। जो समाजमा अछुत र तल्लो जातको दर्जामा थियो। कुनै प्रविधि नभएका बेला सियोधागोका व्यक्तिको जिउ ढाक्ने काम उनीहरूले नै गरे। एक प्रकारले भन्दा त्यतिखेर मान्छेको स्वरुप जस्तै पहिरन बनाउनु नयाँ उत्पादन थियो। जिउ ढाक्नका लागि कपडा उत्पादन त भयो तर त्यसलाई थरी-थरीका डिजाइनमा सिलाउनु आविष्कार नै होइन?

बाइसी-चौबिसी राज्यका बेला आकर्षक देखिएका राजाका पहिरन पनि तिनै दमाईँले सिलाए तर त्यो नै तल्लो जात भयो। यतिसम्म कि पृथ्वीनारायण शाह जसलाई नेपाल एकीकरणकर्ता भनेर चिनिन्छ, तिनलाई सल्लाह दिएर उतिबेला नै ‘एकले थुकी सुकी सयले थुकी नदी’ भन्ने उखानलाई चरितार्थ गरी एकतामा शक्ति र सामथ्र्य हुने कुरा बिसे नगर्चीले पुष्टि गरिदिए।

दमाईँहरूसँग भएको अर्को महत्त्वपूर्ण पक्ष बजाउने कला हो। पञ्चेबाजालाई विश्वमै अत्यन्त पृथक् कलाका रूपमा लिइन्छ। हरेक शुभ मुहूर्तमा दमाईँलाई अघि सारेर पञ्चेबाजाको धुन सुनाइन्थ्यो। पीडामा रहेका मान्छेहरू पञ्चेबाजाको धुनसँगै आफूलाई अर्के संसारमा पुर्‍याउँथे। दमाईँ नै नेपालको संगीतकार थिए। बाध्य बाधक थिए भन्दा अत्युक्ति नहोला।

सार्की : संसारमा यस्तो देश नेपाल रहेछ, जसको उपस्थिति विना कसैको जीवन चल्दैन, ऊ त महान् हुनुपर्ने हो, तर सबैभन्दा तल्लो र अपहेलित भयो। आज पनि मिठा संगीतका धुन निस्कने बाजाहरू कसले बनायो? त्यो त त्यही सार्कीले बनाउँथ्यो। जनावरका छाला कुहाएर त्यो पनि गन्ध नआउने गरी बाजाका लागि तयार पार्न कसरी सम्भव हुन्थ्यो होला? गन्ध नआउने बनाउन छालालाई अमला र तोरीको धुलोले माडिन्थ्यो। छालामा रौँं फालेर नरम बनाइन्थ्यो। त्यसरी छाला कुहाएर घन्कने मादल र अन्य बाजाहरू बनाउने व्यक्ति जीवितै छन्।

अहिलेका वाद्यवादन तिनै सार्की समुदायले बनाएका उत्पादनको परिस्कृत रूप मात्रै हुन्। अझ महत्त्वपूर्ण काम जुत्ता र चप्पल तिनै सार्कीले बनाए। आज विभिन्न कम्पनीका जुत्ता उद्योगका मालिक करोडपति बनेका छन्। यसको उत्पादनका आविष्कार त्यही दलित हो जसलाई अछुत भनेर सधैँ हेपिएको छ। अर्कोतर्फ यो समुदायलाई मरेका जनावर उठाउनैपर्ने नियम बाँधेर त्यतिखेर सरकारले कुचीकारको काममा लगायो। यो सबैभन्दा ठूलो मानवअधिकार उल्लंघन थियो।

गाइने/गन्धर्व : समाजमा सूचनाको कुनै माध्यम नहुँदा गाउँगाउँ पुगेर खबर पुर्‍याउने एक मात्र जाति हो गाइने (गन्धर्व)। सारंगीको धुनमा प्रस्टसँग बुझिने गरी खबर सुनाउँदा आँखा रसाउँथे। एउटा गाउँमा भएको घटनालाई टप्पक्क टिपेर अर्को गाउँमा पुर्‍याउने सञ्चारकर्मी थिए उनीहरू। उनै गन्धर्व हेलाका पात्र बनेका छन्। नेपालको पहिलो पत्रकार गाइने हुन् भनेर ठोकुवा गर्न सकिन्छ। अहिले जताततै सञ्चारमाध्यम खुलेका छन्। सूचनामा शक्ति हुन्छ भनेर आजभन्दा दुई सय वर्ष पहिला गाउँगाउँ खबर पुर्‍याउने गाइनेहरूले पुष्टि गरेका थिए। अहिले विश्वकै सर्वाधिक रुचाइने सारंगीको धुनका संगीतकार गाइनेको पेसा नै संकटमा छ।

यीबाहेक कैयौँ सिप र कलाका धनी छन् दलित समुदाय। तराईदेखि पहाडसम्मका दलितहरू त्यस्तो जाति हो जसले आफ्नो पौरखमा विश्वास गर्‍यो। उसले कसैलाई ढाँट्न, छल्न जानेन। दलितहरू मात्रै स्वाभिमानी र कर्मशील थिए भनेर भन्न सकिन्छ। आज २१ को शताब्दी जसलाई प्रविधिको युग भनिन्छ, यो सबै प्रविधिको आविष्कार, उद्योगका पहिलो योजनाकार सबै दलित नै थिए।

यीबाहेक तराईका दलित समुदाय, नेवारी दलित समुदायका पनि आफ्नै मौलिक सिप र उद्यमहरू छन्। संस्कृति, कला र सिपमा धनी यी समुदायका केही प्रतिनिधि विषयमा चर्चा गरिएकाले अन्यको छुटेको छ। बहसका लागि यी विषय नै पर्याप्त छन्।

अर्थसँग जोडिँदासम्म पलायन

पुस्तौँदेखि गर्दै आएको आरन, सिलाइ, बाजा बजाउने वा गीत गाउने यी सबै काम सेवामुखी मात्रै थिए। वर्षदिनभरि मरीमरी काम गरेर पनि बालीघरे प्रथामा काम गर्दा सधैँ दुःखको जिन्दगी मात्रै बिताए। पछिल्लो दुई दशकयता पुर्ख्यौली पेसामा आकर्षण घटेको छ। पेसाकै आधारमा जातीय अपमान र अछुतको दर्जा पाएपछि पेसाबाट पलायन हुनु स्वाभाविक थियो। जब दलित समुदाय आफ्नो पेसाबाट पलायन भए, तब यो पेसा नै सबैभन्दा राम्रो आम्दानीको स्रोत बनेको छ। विडम्बना नै भन्नुपर्छ, त्यही पेसा दलितले गर्दा ऊ अछुत हुने अन्य कथित ठूला जातिकाले गर्दा उद्यम बनेको छ।

ठाउँठाउँमा ग्रिल उद्योग सञ्चालन भइरहेका छन्। यो आरनको विकसित रुप हो। कामकै आधारमा जात छुट्ट्याउने हो भने ग्रिल उद्योग सञ्चालकलाई कामी किन नभन्ने? ठूला गार्मेन्ट उद्योगहरू खुलेका छन्। चोकैपिच्छे टेलरिङ छ। उता कैयौँ गाउँमा बालीघरे प्रथामा दमाईँहरूले काम गरिरहेका छन्। लाभ भने कथित माथिल्लो जातकाले नै लिइरहेका छन्। पञ्चेबाजा पनि अर्कै समुदायले बनाउँछ। हिजोसम्म बाजा छुन हुन्न भन्ने जातले परम्परा जोगाएको भनेर चर्चा हुन्छ।

र्जनौँ ठाउँमा जुत्ता उद्योग र छाला उद्योग खुलेका छन्। यसको जस त सार्कीलाई जानु पर्ने होइन? अनि सारंगीको धुन सिक्दै ठूला संगीतकारको पगरी भिर्नेलाई गाइनेको परिश्रमको के मतलब? पैसा लिने बेला त्यही समुदाय अगाडि आउँछ। जसले हिजो त्यही पेसा गरेकै कारण कथित तल्लो जात भएर अभावको जिन्दगी जिउनुपरेको थियो। आज ठूला उद्योगमा परिणत हुँदा ती दलित फेरि पनि अन्यायमा छन्।

हिजो पेसाका नाममा शोषण भयो। आज फेरि आधुनिकताका नाममा पुर्ख्यौली सिप नामेट पारिएको छ। सदीयौँदेखि चरम पीडा भोगेर जोगाएको पेसा र कला आज उच्च भनिएका जातले खोसेका छन् उद्योग, कम्पनी, गार्मेन्ट, ग्यारेज वा संगीत सेन्टरका रूपमा। केही यस्ता सिपको रोयल्टी मात्रै दिए पनि दलितको जीवनस्तर उकासिनेछ।

अहिले पेसाको कुनै बन्देज छैन। जुन समुदायले पुर्ख्यौली रूपमा गर्‍यो। अपमानका बेलामा समाज गतिशील बनाउन काम गर्‍यो, त्यस समुदायलाई राज्यले लगानी गरेर रोयल्टी दिनुपर्छ। कम्तीमा पनि दलित समुदायको पुर्ख्यौली सिपलाई आधुनिकीकरण गर्न लगानी गर्नुपर्छ। यसमा केही प्रयास नभएका होइनन्। तर त्यो सीमितका लागि मात्रै देखिएको छ। देश समृद्ध हुने सिप र कला भएका दलितलाई दमन र उत्पीडन गरेबापत राज्यले क्षतिपूर्ति दिनैपर्छ। सयौँ वर्षपहिला उत्पादनमा लागेका दलितहरू खासमा समृद्धिका संवाहक थिए र हुन्।

‘अर्को विश्व सम्भव छ’ संकल्प पूरा गर्न विश्व सामाजिक मञ्चमा जातीय, जातीय, छुवाछुत, जातीयता, भेदभाव र सबै प्रकारका भेदभावको पूर्ण उन्मूलनका विषयमा हुने छलफलले पक्कै पनि यस्ता विषयलाई बहुआयामिक रूपमा स्पष्ट पार्न मद्दत गर्नेछ। नेपाली समाजमा हिजोका दिनमा जातीय विभेदले गाडेको जरा उखेल्नका लागि संवैधानिक एवम् कानुनी प्रावधानहरू सशक्त बनिरहेका छन्। यद्यपि मुलुक गणतन्त्र र संविधानको मौलिक हकमा छुवाछुत गर्न नपाउने व्यवस्था लिपिबद्ध हुँदा पनि छुवाछुत व्यवहारमा हट्न सकेको छैन। व्यक्तिको सोचाइ परिवर्तन नभएसम्म जातीय विभेद र छुवाछुतको कुप्रथाबाट समाज मुक्त हुन कठिन छ। अभियानहरूको पनि अभियान र आन्दोलनहरूको आन्दोलन मञ्चले पारित गर्ने कार्यदिशा नेपालका विभेदमा पारिएका जातिका पक्षमा बन्न सकोस्। मञ्च सफलताको शुभकामना!

प्रकाशित: १८ माघ २०८० ११:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =