नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]

हिमाल प्रेस १६ माघ २०८० १४:४५
102
SHARES
नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो : नरेन खतिवडा [भिडिओसहित]

नेपालमा फेब्रुअरी १५ देखि १९सम्म विश्व सामाजिक मञ्च हुँदैछ। म त्यसको नेसनल अर्गनाइजिङ कमिटीमा सदस्य छु। विश्व सामाजिक मञ्चअन्तर्गत नै फेब्रुअरी १७ देखि १९ सम्म युथ फोरम हुनेछ। मैले त्यसको संयोजकका रूपमा काम गरिरहेको छु। विश्व सामाजिक मञ्च सन् २००१ मा ब्राजिलबाट सुरु भएको हो। यो ठूलो आन्दोलन हो।

ब्राजिलमा तीन चारपटक यो फोरम भइसकेको छ। भारतमा सन् २००४ मा भएको थियो। जहाँ एक लाखभन्दा बढी प्रतिनिधि सहभागी थिए। ट्युनिसिया, सेनेगललगायतका देशमा पनि विश्व सामाजिक मञ्च आयोजना भइसकेको छ।

संसारमा द्वन्द्व र हिंसा भइरहेका छन्। मान्छेले मान्छेका रूपमा जीवन जिउन पाइरहेको छैन। यही परिस्थितिमा विश्व सामाजिक मञ्चको सुरुआत भएको हो। यसको केही सैद्धान्तिक पक्ष पनि छन्।

विश्व सामाजिक मञ्चले संसारभर भइरहेका महिला हिंसाविरुद्ध, युवा अधिकारका पक्षमा, फरक लैंगिक क्षमता भएकाहरूका पक्षमा, गरिबी र भोकमरीविरुद्धमा भइरहेका आन्दोलनलाई एकै ठाउँमा छलफल चलाउँछ।

त्यसमा विश्वका विभिन्न देशबाट आएका प्रतिनिधिहरूले त्यस्ता आन्दोलन हुनुकाे कारणका बारेमा खोजी गर्दछ। त्यो छलफलले वैकल्पिक अवधारणा निर्माण गर्छ। त्यसैले विश्व सामाजिक मञ्चले पनि वैकल्पिक विश्व सम्भव छ भन्ने मान्यता राखेको छ।

नेपालमा विश्व सामाजिक मञ्च हुनु गौरवको विषय हो। नेपालको भूराजनीतिक अवस्था विशेष छ। लामो समय चलेको द्वन्द्व अन्त्य भई शान्ति कायम हुन थालेकाले संसारका मानिसहरूलाई यहाँ आउन सहज हुन थालेको छ। यस्तो अवस्थामा संसारलाई पनि सकारात्मक सन्देश दिनसक्ने भएकाले विश्व सामाजिक मञ्चको कार्यक्रम हुनु आफैँमा महत्त्वपूर्ण हो।

विश्व सामाजिक मञ्चलाई भव्यताका साथ सम्पन्न गराउन विभिन्न बैठकहरू बसिसकेका छन्। यी बैठकले केही खाका तयार गरेको छ। फेब्रुअरी १५ मा भृकुटीमण्डपमा ५० हजारभन्दा बढी मानिस उपस्थित भएर मञ्च उद्घाटन समारोह हुनेछ। विभिन्न सांस्कृतिक प्रदर्शन पनि हुनेछ। त्यसपछि चार सयभन्दा बढी विभिन्न मुद्दामा विज्ञहरूबीच छलफल हुनेछ। जस्तै- महिला, युवा, गरिबी, भोकमरी, असमानता, अत्याचार, शोषण, दमनजस्ता विषयमा सहभागीहरूले आवाज उठानेछन्।

युथ फोरममा ४० भन्दा बढी देशका युवा सहभागी हुनेछन्। १७ तारिखमा राष्ट्रियसभा गृहमा फोरम उद्घाटन हुनेछ। यसमा केही वक्ताहरूलाई पनि हामीले निमन्त्रणा गरेका छौं। फ्रान्स, दक्षिण अफ्रिका, भारत, प्यालेन्टाइनमा वक्ता आउँदैछन्। फोरममा विभिन्न विषयमा सामूहिक छलफल गर्छौँ। त्यसमा शिक्षा, निजी क्षेत्र, शान्ति, जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, लैंगिकता, बसाइँ सराइलगायत छन्। १८ तारिखमा अल्टरनेटिभ आर्ट स्पेस, वैकल्पिक समाज, विश्व कसरी देखाउन सकिन्छ भनेर कलाकारहरूले पेन्टिङ गर्ने कार्यक्रम छ।

सोही दिन हामी केही युवा चित्लाङ जाने योजना पनि छ। त्यहाँ विभिन्न प्रकृतिका कार्यक्रम आयोजना हुनेछन्। कार्यशाला, नेटवर्किङ, युवाबीचमा अन्तर्क्रिया, युवाका मुद्दा, सांस्कृतिक सम्पदा, क्याम्प फायरलगायका कार्यक्रम हुन्छ। १९ तारिखको दिउँसो २ देखि ४ बजेसम्म युथ फोरमले काठमाडौँ घोषणापत्र जारी गर्नेछ। कार्यक्रममा संसारभरका युवाका समस्याका विषयमा छलफल हुन्छ। ती समस्या समाधानका लागि संसारका सरकारलाई आग्रह गर्ने निचोड निकाल्दै यो कार्यक्रम सफल बनाउने हाम्रो योजना छ।

युथ फोरममा पाँच हजारभन्दा बढी युवा सहभागी हुने सुनिश्चित भइसकेको छ। ४० भन्दा बढी देशका युवाले सहभागिताका लागि फाराम भरिसकेका छन्। युवाको क्षेत्रमा काम गर्ने ६० वटाभन्दा बढी संघसंस्थाका प्रतिनिधि एउटै मञ्चमा आएर कार्यक्रम हुँदैछ। युथ फोरममा युवासँग सम्बन्धित विषयमा छलफल हुने भएकाले विश्वका युवाहरूलाई छलफलमा सहभागी हुनका लागि विनम्र निवेदन गर्न चाहन्छु।

युक्रेन, गाजा, सुडान, सिरियामा लगायतका देशमा हिंसा भइरहेको छ। सामाजिक असमानता बढेको छ। संसार निश्चित देश र व्यक्तिमा शक्ति केन्द्रीकृत भइरहेको छ।
विश्व व्यापार संगठन, विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले लिएको नीतिका कारण संसारमा असमानता सिर्जना भइरहेको छ।
असमानताविरुद्ध आन्दोलन छेड्न सक्दा संसारलाई नै ठूलो सन्देश जानेछ। वैकल्पिक विश्व सम्भव छ भन्ने प्रमाणित हुनेछ। मान्छेले मान्छे भएर जिउने किसिमको वातावरण सिर्जना हुनेछ। साथै पृथ्वीमा पनि बस्नयोग्य वातावरण बनाउन सकिनेछ। वैकल्पिक छलफल सिर्जना गर्ने पनि भएको हुनाले विश्व सामाजिक मञ्चको कार्यक्रम भव्यतापूर्ण सम्पन्न गर्नगराउन सबैलाई आग्रह गर्दछु।

[मानवअधिकार, लोकतन्त्र, शान्ति, युवाका क्षेत्रमा विगत २० वर्षदेखि सक्रिय खतिवडा विश्व सामाजिक मञ्चअन्तर्गतको युथ फोरमका संयोजक हुन्।]

सामाजिक संरक्षण र किसान अधिकारका लागि विश्व सामाजिक मञ्च : ओम थपलिया [भिडिओसहित]

वैकल्पिक विश्व खोजीको एउटा प्रयास, विश्व सामाजिक मञ्च : डा. नेत्र तिमिल्सिना [भिडिओसहित]

प्रकाशित: १६ माघ २०८० १४:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + seven =